एक शैक्षिक वर्ष नै बित्छ
विद्यालयमा पुस्तक पुर्याउँदैन
एउटा बिमार दुर्गममा यसै छ्ट्पटाउँछ
सिटामोल पुर्याउँदैन
गर्भमा एउटा सिङ्गो जिन्दगी लिएर
छ्ट्पटाएकी सुत्केरीलाई अस्पताल पुर्याउँदैन
यहाँ नै केही गर्छु भन्नेलाई
रोजगारी पुर्याउँदैन, उद्योग गर्ने वातावरण पुर्याउँदैन
कृषक फसल उघाउँछु भन्छ
असारमा चाहिने मल पुसमा नि पुर्याउँदैन
विदेश जान्छु दुःख गर्छु भन्दा
समयमा हातमा पासपोर्ट तक पुर्याउँदैन
विदेशमा मर्छ युवा पसिना चुहाउँदा चुहाउँदै
दुई महिनामा लास परिवार पुर्याउँदैन
सपना बाँडेर अनगिन्ती सारा
जिन्दगीभर आधारभूत आवश्यकता पुर्याउँदैन
तुइनमा हिँड्ने स्कुले बच्चालाई
एउटा पुल पुर्याउँदैन
सडक पुर्याउँदैन
शिक्षा पुर्याउँदैन
स्वास्थ्य पुर्याउँदैन
दुई गाँस रोटी पुर्याउँदैन
बाँच्ने आधार पुर्याउँदैन
सपना देख्नलाई निदाउन पर्छ
निदाउने लायक माहोल पुर्याउँदैन
अनि
अनि जब बजेट भाषण सुनाउँछ
प्रतिवद्धतामा भनिदिन्छ
एक घन्टामै काठमाडौँबाट चितवन पुर्याउँछु
म कसरी पत्याउँ
म कसरी पत्याउँ?