एकपटक एउटा चराले
पानीको बुँदलाई भन्यो-
तिमी महासागर हौ।
त्यो चरा भुर्र उडेर गयो
आगोको झिल्कोलाई भन्यो-
तिमी घाम हौ।
उता त्यो पानीको बुँद
पागल भएर खुसीले नाच्न थाल्यो
नाच्दानाच्दै लड्यो
आन्द्राभुँडी निस्किएर छताछुल्ल भो
अस्तित्व मेटियो।
यता यो आगोको झिल्को
पागल भएर दौडिन थाल्यो
उसको दौडाइ यति तीव्र बन्यो कि
हावाले उसलाई निल्यो।
यदि त्यो चराले उनीहरुको आलोचना गर्थ्यो भने
त्यो पानीको थोपा जरुर महासागर भएको हुन्थ्यो
त्यो आगोको झिल्को पक्कै घाम भएको हुन्थ्यो।