म हारेको मान्छे
तर हारेर पनि जितेको मान्छे
हारबाट सिकेको मान्छे।
अरु पनि छ मेरो परिचय
मित्रबाट कुठाराघात
जागिरमा पक्षपात
दलभित्र अन्तर्घात
तर यी सबैलाई आत्मसात
गर्दै अगाडि बढेको मान्छे
तर पनि सधैँ हारेको मान्छे।
यस्तो के परिचय हो मित्र
उकुसमुकुस छ भित्र-भित्र
कहिले पीडा, कहिले सुख
कहिले खुसी कहिले दुःख
कहिले जित कहिले हार
यस्तै त हो हाम्रो संसार।
तर पनि तिमीलाई अनौठो लाग्ला
कति सजिलै भनेको
तिमीमा जिज्ञासा जाग्ला
यो मान्छे कति नकचरो बनेको
यस्तो पनि परिचय हुन्छ र
यस्ता बकवास कसैले सुन्छ र!
हो, मलाई छैन लाज
लुकाउनु के छ र न हिजो न आज
जे सत्य हो, त्यही भन्छु
कहिले विद्वान कहिले मूर्ख बन्छु।
त्यसैले त हारेको होला
हार जित त चलिरहन्छ मानिसको चोला
तर हारे पनि
जिन्दगीमा जितेको छु
नयाँ पाठ सिकेको छु
सम्पत्ति त छैन मेरो
तर आफ्नै हो सबै पाखा पखेरो
सुनसान चौतारी उजाड गाउँ
तर पनि माया लाग्छ आफ्नो ठाउँ।
म हारे पनि मेरा गाउँहरू जितून्
पाखा पखेरा कन्दरा जितून्
हे गाउँका तन्नेरीहरू तिमी पनि अब उठनु पर्छ
तिम्रै समय हो अब तिमीले नै जित्नुपर्छ
अनि तिम्रा वाचाहरू सबै पुरा होऊन्
सबैको भलो गर आमाहरू कहिल्यै नरोऊन
यो धर्ती हाम्री आमा कहिल्यै अनादर नगर्नू
जति भोको भए पनि लोभ प्रलोभनमा नपर्नु।
तिम्रो जितमा धेरै बधाई
रोजगार स्वास्थ्य पढाइ
तिम्रो आगमनले पलायो केही आश
अब त केही हुन्छ कि जाग्यो विश्वास।
तर अरु केही गर या नगर
सुन्दर बनाऊ हाम्रा गाउँ-सहर
यो देश पूण्य धर्ती हो
तिमीले पुज्नै पर्छ
नेपाल आमाको पुकार
तिमीले सुन्नै पर्छ
जनता भगवान हुन्
जनताकै पूजा गर
सुखी राख जनतालाई
तिमी पनि सुखी हुनेछौ जीवनभर।
हो, म हारेको मान्छे
तर मैले जितेको छु
तिम्रो जितबाट मैले सिकेको छु
हारबाट छैन म भयभित
तिम्रो विजय पनि देशकै जित
देशको जित पनि मेरो जित
देशको जितमा म सधैँ हर्षित।