चिर निद्राको सपनामा
कसैले मलाई झस्काइरहेको अनुभूति भयो
र, मलाई भन्दैछन्-
बाबु, तिमी किन यसरी कुम्भकर्णजस्तै सुतिरहेका छौ?
देश त अब 'परदेश' हुन लागिसक्यो त!
तिमीलाई थाहा छैन?
देश कहीँ कतै कसैलाई
बेचिने त होइन?
भित्रभित्रै चलखेल पो देख्छु,
कतै तिमी पराई पो हुने होइनौ?
ती सपनामा आएका मान्छे,
मैले चिने चिनेजस्तो
कता-कता झझल्को आयो
अनि प्रतिप्रश्न गरेँ-
कविवर, हजुर पनि! देश कहाँ बेचिन्छ?
मेरो दोहोरो संवाद सुरु भयो
म सपनामा नै ती वृद्धलाई
पहिचान गर्न पुगेँ
तिनी त कविवर राष्ट्रकवि पो रहेछन्!
फेरि कविवरले भन्न थाले-
अलिक चलाख बन है बेलैमा
अनि अरुलाई पनि सचेत गराऊ
मैले धेरैअघि लेखिदिएकै छु-
'नेपाली हामी रहौँला कहाँ
नेपालै नरहे, नेपालै नरहे।'
मेरो मन खड्कियो
हो त नि, नेपालै नरहे
म आफूलाई के भन्ने?
राष्ट्रिय गीत कुन गाउने?
मैले सोधेँ-
कविवर,
कसले किन्छ यो गरिब देश?
के छ र यहाँ?
मात्र पहाडै-पहाड
मात्र हिमालै/हिमाल!
कविवरले फेरि सम्झाए-
बाबु, नेपाल त हिरा हो हिरा
प्रकृतिमय छ, संस्कृतिमय छ
के छैन यहाँ?
अम्बा, आँप, लिची अरु जे-जे खाएर फाल्छौ
ती सबै आफै उम्रन्छन्, बढ्छन्, फल्छन्
माटोमा अमृत नै छ यहाँ
कहाँ पाउँछौ यस्तो उर्वरभूमि देश?
जल, जमिन, जंगल, जनावर,
डाँफे, मुनाल र
रङ्गीबिरंगी चराचुरुङ्गी नाच्ने
विशाल 'हरित-भण्डार' हो यो देश
अलग्गैको 'छुट्टै संसार' हो यो देश
कविवर फेरि थररर आवाजमा
गीतका थप पंक्ति भन्न थाल्छन्-
'हिमाली हामी रहौँला कहाँ
हिमालै नरहे, हिमालै नरहे'
र, अर्तिको भाकामा कविवर फेरि जोड्छन्-
बाबु आत्मनिर्भर र अनुपम बनाऊ
यो सुन्दर अनि संस्कृतिमय देश
छाना, नाना र मानाको
जनतामा कहिले कमी नहोस्
बाबु, एकपल्ट घरको छतमा गएर हेर त!
कसैको घरबाट धुवाँ आ'को छ छैन?
तिमीले त मजाले खायौ होला
ती भाइबहिनीले खान पाए त?
सम्झन्छु
हो त नि
म त टन्न खाएर भुस निद्रामा छु
कतिको घरमा त चुलै बलेन होला
अनि कहाँबाट आँउछ, धुरीबाट धुँवा?
मैले वाचा गरेँ-
अहँ!
म मेरो देश
लिलाम हुन दिन्न
यो उर्वरभूमिमा
अब इतिहास रच्नुपर्छ।
बाबु!
कविवरको निरन्तर वाणी बर्सियो-
पहिला-पहिला देशैभरि र
प्रत्येक घरका आँगन-आँगनमा
कपासै-कपासका बोट हुन्थे
यसैलाई राष्ट्रिय फूल बनाऊँ भनेथेँ
के गर्नु, लालीगुराँस पो
राष्ट्रिय फूल भयो उन्नाइस सालमा
हेर्न मात्र राम्रो
जनताको आङ ढाक्दैन त्यो फूलले!
म झल्याँस्स ब्युँझिन्छु
मेरा मानसपटलमा
कविवरका ती थर्थराउँदै बोलेका
प्रत्येक शब्दहरू ताजा रहन्छन्
कविवरका ती विचार र भनाइ
कति सुन्दर र प्रष्ट छन्
कति मार्मिक र सत्य छन्
कति उपदेशी र आत्मसात गर्नुपर्ने छन्!
लाग्यो,
अझै पनि कविवरलाई
यो देशको चिन्ता छ
अनि हामी?
अठोट गरेँ
यो देश पाखण्डीहरूको हातबाट बचाउनु छ
यो देश 'लेन्डुप'हरूको हातबाट जोगाउनु छ
यो देशलाई हराभरा, प्रकृतिमय र सुन्दर बनाउनु छ
यो देशलाई शान्त, विशाल र आत्मनिर्भर पनि बनाउनु छ।