जीर्ण खाट, पुरानो फुलबुट्टे तन्ना अनि
तन्नाभरि छरपस्ट फिँजारिएका सपना
उदाङ्गो झ्याल, दुई हुल हावा अनि
दुई नानी उज्यालो
गर्भमै गिरेका सपनाका दुर्गन्ध चारैतिर फैलिँदै छ
विस्तारै नाक हुँदै मुटु छुँदै मस्तिष्कसम्म।
घडीको सुई अलि हतारमा देखिन्छ
टिक-टिक गर्दै बाह्र बजाउँछ
अनि घोसेमुन्टो लगाउँदै एकतिर झर्छ
पात्रोका पानालाई पनि हतार छ सायद
हावाको सुस्केरामै पल्टिएर
वैँशाख, जेठ गर्दै फागुन, चैतमा बिट मारिदिन्छ।
तर मलाई कुनै हतार छैन
म त ओछ्यानभरि छरपस्ट सपनाहरू गन्दैमा मग्न छु
केही मरेका सपना ओल्टाइपल्टाइ गर्छु
केही रुग्ण सपनाहरूसँग अन्तिम कुराकानी गर्छु
केही तन्नेरी सपाहरूसँग सवालजवाफ गर्छु
अनि थाकेपछि वृद्ध सपनाहरूसँगै म पनि निदाउँछु।
कहिलेकाहीँ मरेका सपनाहरू
साह्रै दुर्गन्ध छर्छन्
नाक थुनेरै टार्छु
कहिलेकाहीँ रुग्ण सपनाहरू
पीडाले चिच्याउँछन्
तिनीहरूसँगै म पनि चिच्याइदिन्छु
तन्नेरी सपनाहरू भने साह्रै असल छन्
मैले आँखा खोले तिनीहरू निदाउँछन्
अनि मैले आँखा बन्द गरे तिनीहरू बिउँझन्छन्।
केही सपनाहरूलाई म आफैले
कोठाको सिलिङमा टङ्ग्याएर मृत्युदण्ड दिएको छु
कहिलेकाहीँ तिनै सपनाहरूले रातमा तर्साउँछन्
हिजो एक हुल सपना ढोका खोलेर बाहिर निस्कँदै थिए
सायद मसँग बस्दा-बस्दा उबासी लागेर होला
मैले सोधेँ- 'कहाँ जान लागेका तिमाहरू?'
एउटा सपनाले मतिर पुलुक्क हेर्दै भन्यो-
'मलाई जागिर गर्नुछ, म त अफिस जान लागेको।'
अर्को सपनाले नुहुँरिएर भन्यो-
'मलाई व्यापार गर्न छ, म त बजार जान लागेको।'
एउटा सपना अलि अन्योलमा थियो
लरबराउँदै भन्यो-
'म एक्लो भएको छु, म त मेरो प्रेम खोज्न हिँडेको।'
त्यतिकैमा सिलिङमा टङ्गिएको मृत्त सपना जीवित हुँदै भन्यो
'मलाई पनि असल छोरा बन्नु छ, तिमीहरूसँगै लैजाऊ न है।'
केहीबेर म पनि बाहिर निस्किएँ
न्यानो घाममा वर्षौंपछि नुहाएँ
नयाँ कपडा लगाएँ
कपालमा तेल मसार्दै ऐनासँग आँखा जुधाएँ
ऐनाभित्रको मान्छे मुसुक्क मुस्कुरायो।
मुस्कुराहटमा पीडा लुकेका थिए
सपनाहरू झुकेका थिए तर पनि
मुस्कुराहटको आफ्नै अस्तित्व थियौ
कहिल्यै नमेटिने अस्तित्व।
हिजोआज भेटिने जति सबैले
असाध्यै मुस्कुराउने भको रछस् भन्छन्
म फेरि मुस्कुराइदिन्छु।
त्यो जीर्ण खाटमा सुत्न छाडिसकेँ
त्यो फुलबुट्टे तन्ना पनि फ्याकिसकेँ
ती मृत्त सपना, ती रुग्ण सपना अनि ती तन्नेरी सपना
सबै-सबैसँग टाढा एउटा बिरान सहरमा छु
जहाँ म, मेरो मुस्कान अनि एउटा भर्खर मेरो मनको गर्भबाट
सातै महिनामा जन्मिएको सपना छ।
हामी दुवै खुसी छौँ
म उसलाई असाध्यै माया गर्छु
हर बखत उसकै कुरा सुन्छु
उसकै प्रशंसा गर्छु अनि उसकै गीत गाउँछु।
मबाट कहीँ टाढा गयो भने साने भनेर बोलाउँछु
मेरो आवाज सुन्नासाथ टुपलुक्कै मैकहाँ आइपुग्छ
हरेक शनिबार उसलाई नुहाइदिन्छु
तालुमा मेथी फुराएको तेल थपथपाइ दिन्छु
र हरेक दिन भन्छु,
'साने, म त तिम्री आँमा हुँ नि, तिमी त मेरो मनको गर्भबाट जन्मिएको।'