मध्य वैशाखको दिन पनि कस्तो नरमाइलो, न आकाश खुल्छ, न पानी पर्छ, धुम्म बादल लागेको छ, अँध्यारो छ तर स्वच्छ, निर्मल कुपर्शी नदी धमिलो पानीसहित बगिरहेको छ, दुई अग्ला पहाडहरूलाई साक्षी राखेर।
हातमा जाली छ, माछा मार्ने। दाहिने हातले उठाएर जालि फिजाउँछु, अनि कुपर्शी नदीमाथि जाल फ्याँक्छु, माछा मार्नलाई।
जालमा एउटा पनि माछा पर्दैन, माछा बाठो भयो किजस्तो लाग्छ तर होइन, नदीमा माछा पाउनै छोडे।
संसार परिवर्तनशील छ। व्यक्ति, समाज, राष्ट्र, सबै परिवर्तन हुँदा कुपर्शी नदी पनि परिवर्तन भयो। कुरूप पारियो कुपर्शी नदीलाई, क्रसर खुलमखुल्ला चल्न थाले, कहिले विकासका नाममा, कहिले निकासका नाममा।
ढुंगा, गिट्टी, बालुवा केही पनि बाँकी भएन, दोहन भयो नदीको।
ट्याक्टर, ट्रक खोलामै चल्न थाले, ढुङ्गा, गिट्टी, बालुवा ओसार्न थाले, अनि धमिलियो कुपर्शीको कञ्चन पानी, लोप हुँदै गए थरिथरिका माछाहरू।
‘गाउँमा त्यत्रा मान्छे आछन्, चुनावको लागि, के माछा मारिराखेको हऊ’ छेउमै आएर सागरले भन्दा म झस्किएँ।
‘चुनाव आएर के गर्नु, हामीलाई खान लाउन कसैले दिँदैनन्। काम नगरी हात मुख जोड्न पाइने होइन। माछा मार्छु हउ एकछिन’ मैले भनें।
‘दोभानचौरमा हेर त, त्यत्रो राँगो काटेका छन्, तीन दिन पुग्छ तिमीलाई केको दुःख गर्छाै? हिँड मासु भात खान’ नदीमा फालेको जाल उठाइदिँदै सागरले भन्यो।
जालमा दुइटा माछा परेका थिए, ‘भाग्यमानी रैछौ, काल आको रैन रैछ’ भन्दै पानी मै छोडिदियो, मैले हेरिरहेँ।
सागरको पछिपछि लागेर दोभानचौर पुगेँ। गाउँ त मेरै हो। गाउँलेहरू पनि मेरै छिमेकी हुन् तर मेरो गाउँ, मेरो गाउँजस्तो थिएन।
गाउँमा कहिल्यै नदेखिएका अनुहारहरू छ्याप्छ्याप्ती थिए, रङ्गीविरङ्गी पहिरनमा थिए।
बद्री पंगेनीको गीत ‘भोट के मा? सूर्यमा’ भन्दै कोही नाच्दै थिए, कोही गाउँदै थिए। वातावरण रमाइलो थियो।
गाउँको बीचमा ढलेको राँगो थियो। कोही मासु बनाउँदै थिए, कोही पकाउँदै थिए, कोही खाँदै थिए। मासु खाँदै गरेको भिडमा हेरें मैले।
मेरो सानो छोरा त्यही राँगोको मासु खाँदै थियो। उफ्रँदै थियो, आफ्ना दौंतरीहरूसँग। एउटा कुनामा बसेर मासु लुछ्दै थिई मेरी श्रीमती पनि।
मलाई मासु खान मन लागेन, मेहनत बिनाको मासुमा के मन जान्थ्यो? आफूले मारेर ल्याएका माछाको जस्तो स्वाद केहीमा पनि पाउँदिनथें म।
मासु भात खाने कार्यक्रम विस्तारै सकिँदै थियो, टन्न खाएका डकार्दै थिए, नखाएका लाइनमै थिए खाएका जाँदै थिए, आ- आफ्ना घर।
‘मासु भात खायौ त दाइ ?’ सागरले छेउमा आएर सोध्यो।
‘छैन’ भन्दै दायाँबायाँ टाउको घुमाएँ।
सागरले दुइटा प्लाष्टिकको थालभरि मासु भात ल्याएर आयो, मेरो छेउमा बस्यो, मैले खान थालें, सँगसँग उसले पनि खान थाल्यो
दुई गाँसमात्र के मुखमा हालेको थिएँ, सागरले विस्तारै भन्यो ‘दाइ सूर्यमा मतदान गर है।’
साँझ पर्नै लाग्दा पश्चिमतिरको पहाडमाथि लाली छाएको थियो, सूर्य अस्त हुँदै थियो।
हरेक बिहान त्यही सूर्य उदाउँथ्यो, पूर्वी दिशाबाट, त्यो सँगसँग सुरू हुन्थ्यो मेरो माछा मार्ने काम।
सूर्यसँग केही गुनासो थिएन मेरो, सूर्यबिनाको अँध्यारो संसार कल्पना गर्न सकिँदैनथ्यो।
यसै त प्रकृतिलाई पुज्ने हामी सूर्यमा मत दान गर्नु सूर्यको गुण तिर्न हो जस्तो लाग्यो।
सागरलाई विस्तारै ‘हुन्छ सूर्यमा मतदान गर्छुु’ भनें।
२०७९ वैशाख २२ गते गर्मी असाध्यै बढेको थियो, कहीँकतै हावा समेत चलेको थिएन। कुपर्शी नदी सुस्तरी बगेको थियो, त्यसैमा माछा मार्दै थिए। शरीरबाट तपतप पसिना चुहिएको थियो, अमिलो गन्ध आउँथ्यो। दश वाह्र वटा माछा मारिसकेको थिए। एक दुई पटक जाल हानेर घर फर्कने सोच्दै थिएँ, बसन्ते छेउमा आएर भन्यो, ‘दाइ, गाउँमा त्यत्रो राँगो ढालेको देखेनौ? के माछा मार्छाै? हिँड जाऊँ।’
बसन्तेको पछि लागें, ऊ अघिअघि हिँड्यो। गाउँको माहोल केही दिन अघिको जस्तै थियो। राँगो ढलेको थियो, मासु बन्दै थियो, पाक्दै थियो।
खानेले खाँदै थिए, नाच्ने नाँच्दै थिए, गाउने गाउँदै थिए, सबै माहोल उस्तै थियो तर गीत फरक थिए, भाका फरक थिए, राँगो ढाल्ने फरक थिए, मासु काट्ने फरक थिए, पकाउने फरक थिए अनि मासु भात खुवाउने पनि फरक थिए, खाने चाहिँ सबै पुरानै थिए, मेरा परिवार थिए, मेरा छिमेकी थिए।
भिडमा म छोरो खोज्दै थिएँ। बसन्तेले प्लाष्टिकको थालभरि मासु भात ल्याएर दियो।
‘लौ दाइ मासु भात खाऊ’ उसले भन्यो।
मैले केही नबोली समातें। खै कताबाट छोरो छेउमै आइपुग्यो, ‘बा मैले मासु खाएँ’ उसले भन्यो।
छोरोलाई हेर्दै थिएँ, बसन्ते आइपुग्यो मासु भात ल्याएर।
‘बस दाइ सँगै खाम, मासु भात’ उसले भन्यो।
सित्तैमा दिएको खान मन पर्दैनथ्र्यो तर म जसोतसो खाँदै थिएँ, छेउमै आएको छोरो खेल्नको लागि दौडिसकेको थियो। खाई सक्न दुई गाँसमात्र बाँकी थियो। बसन्ते कानमै आएर फुस्फुसायो।
‘दाइ रूखमा मतदान गर है।’
मासु खाने पनि, खुवाउने पनि, नाँच्ने पनि, गाउने पनि रूखकै छहारीमा थिए। म पनि रूखमुनि नै थिएँ। रूखले वैशाखको गर्मीको धूपमा आतभरि शीतलता थपिदिएको थियो। त्यही रूखमा चराचुरुङ्गी आउँथे, भारी बोक्ने बटुवाहरू भारी बिसाउथे। रूखप्रति माया थियो, रूखको गुण तिर्नु थियो, गुनासो केही पनि थिएन। खाना सकिँदै गर्दा बसन्तेको कानमै फुस्फुसाएँ, ‘हुन्छ रूखमा मतदान गर्छु।’
चुनावको माहोल दिन दुगाना, रात चौगुना बढ्दै थियो। गाउँ गाउँमा राँगाहरू ढालिएका थिए, खसी, कुखुरा बाँकी थिएनन्। नाचगान बढेको थियो। वर्षाैं अघि गाउँ छोडेका मानिस भित्रिएका थिए।
२४ गतेको बिहान, म उठेको थिइनँ, कृष्णे घरमै आइपुग्यो।
‘दाइ माछा मार्न नजाऊ है। आज यतै राँगो ढाल्ने हो, मासु भात खाने हो’ उसले भन्यो।
म केही बोलिनँ।
माथि डाडाँबाट, तल बेसीबाट मानिसहरू जम्मा हुन थाले, भिड बढ्न थाल्यो।
राँगो काट्ने तयारी हुन थाल्यो। मानिसहरूले क्रान्तिका गीत बजाउन थाले। नाच्न थाले। परिवर्तनका स्वर घन्काए, रन्काए। गाँउलेहरूलाई सम्मान गरे। सधैंभरि साथ दिने कसम खाए।
चुपचाप चुपचाप सबैका गतिविधि नियाल्दै थिएँ, काखमा बसेको छोरा मासुभात खाँदै थियो।
कृष्णे छेउमै आएर ठूलो स्वरमा भन्यो, ‘हँसिया हतौडामा मतदान गर्नुस् है।’ मेरो गुनासो कोहीसँग थिएन, हँसिया हतौडासँग पनि किन होस्? दैनिक जीवन अत्यावश्यक थिए हँसिया पनि, हतौडा पनि। कृष्णेलाई पनि सुस्तरी भनें ‘हँसिया हतौडामा मतदान गर्छु।’
अर्काे दिन बिहानै चन्द्रे आयो।
‘दाइ कलममा मतदान गर्नुस् है’ उसले भन्यो।
छोरोलाई हेरें, हातमा कलम समातेको थियो, सोचें एकदिन त्यही कलमले देशको भविष्य कोर्नेछ। भविष्यसँग जोडिएको कलममा मतदान गर्दिनँ भन्न सकिनँ।
‘हुन्छ मतदान गर्छु’ भनें।
त्यसैगरी, हलो, छाता, पुस्तक, पुतली, भुइँकटहर, लौरोमा भोट हाल्नु भन्दै मानिसहरू आए तर मेरो माछा मार्ने जालमा भोट हाल्नु भन्ने मानिस कोही पनि आएन, मेरो जालको कुरा कसैले गरेन। कसैले सम्झेन मेरो माछा मार्ने जाललाई।
वैशाख ३० गते भोट हाल्ने दिन, टाकुरी गाउँमा पुग्नु पथ्र्याे भोट हाल्न, ठाडै उकालो बाटो थियो, तीन घण्टा लाग्थ्यो हिँडेर। बुढाबूढी जान सक्ने अवस्था थिएन, त्यही भएर होला अघिपछि अवहेलनाका पात्र भएता पनि उनीहरूलाई ओसार्न गाउँमै गाडीको व्यवस्था गरिएको थियो, गाडी अनि बाइकका ताँती थिए।
‘गाडीमा बस्नुस्, भोट हाल्न जाने हो’ कसैले मलाई च्याप्प समातेर गाडीभित्र हुल्यो, ऊ को थियो? मैले ठम्म्याउनै पाएको थिएन, अर्काे मान्छे खोज्न ऊ दौडिसकेको थियो। गाडीमा मतदान गर्न जाने मानिसहरू बसेका मात्र के थिए, गाडी हुइँकियो टाकुरी गाउँतिर।
टाकुरी गाउँ पहाडको टुप्पोमा थियो। त्यही अवस्थित जनज्योति विद्यालयलाई मतदान केन्द्र तोकिएको थियो।
धेरैचोटि मतदान गराएको, धेरै जनप्रतिनिधि फेरिसकेको विद्यालयले आफ्नो मुहार भने कहिल्यै फेर्न सकेन। चर्किएका पर्खालहरूलाई बोकेर उभिरह्यो, ममर्त गर्नै सकेन।
मतदान केन्द्र पुग्दा लामो अनि अव्यवस्थित लाइन थियो, मानिसहरू ठेलमठेल गर्दै थिए, कराइरहेका थिए, सुरक्षाकर्मीहरू कतै देखिँदैनथे, सायद मतदानस्थलमै थिए।
लाइनको सबभन्दा पछाडि गएर उभिएँ म, अगाडि कति मानिस उभिएका छन्? कतिले पालो कुरेका छन्? यकिन गर्न सक्ने अवस्था थिएन।
पाँच, दश, पन्ध्र मिनेट बित्यो तर लाइन सरेन, सर्दै सरेन, मान्छे अगाडि बढ्दै बढेनन्। भित्र के भइरहेको थियो, पत्तै भएन।
बाहिर मानिसहरूको भिड थियो, कोलाहाल थियो, ठेलमठेल थियो। मतदान गर्नलाई तँछाडमछाड गरिरहेका थिए। कोभन्दा को पहिला छिर्न सक्छ? प्रतिस्पर्धा थियो। मभन्दा पछाडि पनि धेरै मानिस थपिसकेका थिए, पछाडिको लाइन झनै लामो भइसकेको थियो।
‘लाइन किन नसरेको ?’ भन्दै कसैले बेस्सरी ठेल्यो, पछाडिबाट, म अगाडि हुत्तिएँ।
मभन्दा अगाडिको मान्छे अझै अगाडि हुत्तियो।
अगाडिबाट त्यसैगरी पछाडि ठेले, म पछि सरें। दिनभरी ठेलमठेलको प्रतिस्पर्धा चल्यो, कहिले अगाडि, कहिले पछाडि।
अगाडि पछाडि गर्दा गर्दै तीन घण्टा बित्यो, दिन ढल्कदै थियो। मतदान गर्ने पालो आएकै थिएन, अगाडि अझै बाह्र, पन्ध्र जना मान्छे थिए।
कछुवाका तालमा लाइन अगाडि सर्यो, सुस्त, सुस्त। मतदान अधिकृतले मतपत्र दिए, मतदान गर्नको लागि। गोप्य ठाउँमा मतपत्रमा स्वस्तिक छाप लगाउँदै गर्दा आफ्नो बाचा सम्झें, सूर्यमा, रूखमा, हँसिया हतौडामा, कलममा सबैमा आफ्नो मत दिएँ, मतदान गरें।
मतदान केन्द्रबाट बाहिर निस्कें। बाहिरको वातावरण बिल्कुल फरक थियो। कोही सूर्यले जित्छ भन्थे, कोही रूखले, कोही हँसिया हतौडाले जित्छ भन्थे, कोही कलमले।
सबैका आ–आफ्ना अनुमान थिए। मैले सबैमा मतदान गरेको थिएँ, सबैले जित्छन् जस्तो लाग्यो। ‘कोही नहारून्, सबैले जितून्, गाउँले जितोस्, समाजले जितोस् अनि देशले जितोस् मेरो आशा थियो। हार्ने कोही हुने छैनन्, सबैले जित्नेछन्, देशले जित्नेछ मेरो विश्वास थियो।’
घर फर्कन अबेर भैसकेको थियो। मतदान केन्द्रसम्म ल्याएको गाडी खोज्न थालें तर कतै देखिनँ। सागरलाई देखें, बोलाएँ, उसले सुन्यो, देख्यो, हेर्यो तर बोलेन। सँगै बसेर मासु भात खाने, खुवाउने मान्छे एकाएक परिवर्तन भयो।
मैले बसन्तेलाई खोज्न थालें, तल दोभानचौरसम्म पुग्ने साधन खोजिदिन्छ कि भनेर, तर भेटिनँ। कृष्णेलाई मानिसको भिडमा देखें। उसलाई बोलाएँ, ‘तल दोभानचौरसम्म लगिदिऊ न’ भनें।
‘हाम्रो काम त ल्याउने मात्र हो, लग्ने होइन’ उसले भन्यो।
म शव्दविहीन बनें, केही बोल्न सकिनँ। स्वार्थी संसार, मुखबाट फुत्त निस्कियो।
आफ्नै खुट्टाले त कतिपटक धोका दिएका थिए, अरूका खुट्टाको के भर? अरूको बोलीको के भर? मैले विस्तारै आफ्ना पाइलाहरू दोभानचौरतिर सोझ्याएँ, बाटो ओरालो थियो, दुई घण्टामा पुग्न सक्थें।
टाकुरीगाउँबाट केही तल पुगेको थिएँ, एउटा ट्याक्सी मेरै अगाडिबाट धुलो उडाउँदै अगाडि बढ्यो, जहाँ चन्द्रे हाँस्दै हुइँकिएको थियो, उसले मलाई देख्यो तर पनि देखेन। म बिस्तारै तल झर्दै गएँ। आफ्नो दुनो सोझिएपछि अरूको बारेमा कसैले सोच्दैन, त्यसमा पनि माछा मार्ने माझीको बारेमा कसलाई केको चिन्ता ? केको सरोकार ?
घर पुग्दा झमक्क साँझ परिसकेको थियो। हरेक साँझ माछासहित घर पुग्थें तर आज मसँग केही पनि थिएन, हात खाली थियो।
बूढी औंलामा मत हालेको प्रमाण थियो, मसीको दाग थियो। सानो घरको ढोका छेउमा श्रीमती र छोराले मलाई कुरिरहेका थिए।
ढोकाबाट भित्र चिहाएँ, चुल्हो चिसो थियो। चुनावको अघिल्लो दिनसम्म हरेक बिहान, हरेक साँझ मासु आइपुग्थ्यो तर चुनावको दिन, मैले मतदान गरेको दिन, मैले जनप्रतिनिधि छानेको दिनमा मेरो चुल्होमा आगो बल्न सकेन। मतदान गरेर के गर्नु, छोराको मुखमा माड हालिदिन नसकेपछि!
‘बा, आज मासु भात छैन?’ मेरो अङ्गालोमा झ्याम्म हाम फालेर छोराले सोध्यो।
म उत्तरविहीन भएँ, मन भारी भयो, बोल्न सक्ने अवस्था रहेन।
छोरालाई बेस्सरी अङ्गालोमा च्यापें, विस्तारै भनें ‘छैन छोरा, मासु भात खाने दिन सकिए, चुनाव सकियो।’ म थप बोल्न खोज्दै थिएँ, छोराले कानमा साउती मार्यो ‘बा अब चुनाव कहिले आउँछ?’