‘आर यु भर्जिन?’
हाम्रो बिहे नहुँदै एक दिन आकाशले मलाई त्यो प्रश्न सोधेको थियो।
जिस्किएजस्तो गरेर प्रश्न सोधे पनि उसको त्यो प्रश्नको लवजमा प्रष्टसँग गम्भिरता झल्किएको थियो।
हुन त हामी साथीको रूपमा एक अर्काप्रति नजिकिएका थियौं तर उसले त्यसरी सोध्ला भन्ने मैले आशा गरेकी थिइनँ। उसको त्यो अप्रत्याशित प्रश्नले म एकछिन अकमक्क र अवाक् भएँ।
वातावरण अलि असामञ्जस्य जस्तो भयो। तर मैले आफूलाई सम्हाल्दै सामान्य देखाउन कोसिस गरें।
मलाई त्यो प्रश्न सोध्नेमा आकाश पहिलो केटा थिएन। मलाई सत्य बोलूँ कि जस्तो लागेको थियो। तर सत्य बोल्दा पहिले पाएको दु:खले गर्दा मैले झूट बोल्ने निश्चय गरें।
‘एस, आई एम’ अलि बोल्ड सुनिने गरी मैले उत्तर दिएँ।
तर जति बोल्ड देखिन खोजे पनि मेरा नजर झुकेका थिए। मलाई उसको अगाडि झूट बोल्दा गाह्रो भएको थियो। आकाशले त्यो झूट नदेखोस् भनेर मेरा नजर झुकेका थिए।
‘कूल! आई एम अल्सो भर्जिन’ उसले पनि आफ्नो गोप्यता खुलायो। तर उसले पनि मैले जस्तै झूट बोलेको थियो या ऊ साँच्चिकै कुमार थियो मैले थाहा पाइनँ।
उसले त्यति भनेपछि म केही बोलिनँ। म आफ्नो उत्तरकै बारेमा सोच्दै थिएँ।
म नबोलेको देखेर आकाशले थप्यो, ‘हुन त आज भोलि गर्लफ्रेन्ड, ब्वाई फ्रेन्ड अनि बिहे अगाडिको सेक्स त सामान्य नै भैसक्यो। तिम्रो पहिले सम्बन्ध नै भएको भए पनि मलाई खासै फरक पर्दैन। तर दुवै भर्जिन हुँदा झन् राम्रो।’
तर पहिलेको सम्बन्धले आफूलाई फरक नपर्ने भने पनि उसको तेस्रो वाक्यले उसलाई फरक पर्ने कुरा स्पष्ट बताइसकेको थियो।
उसको कुराले मेरो पहिलो गाँसमै ढुंगा लगाइदियो। ऊसँग अब मेरो कुरा अगाडि बढ्दैन भन्नेमा म ढुक्कजस्तै भएँ। म भर्जिनमात्र नभएकी हैन, मेरो त त्यो भन्दा अगाडि दुई जनासँग सम्पर्क भैसकेको थियो।
पहिलो सम्पर्क दश कक्षामा पढ्दा लहैलहैमा भएको थियो। खासै याद पनि थिएन। त्यो बेलाको सोचाइ, अबोधपन, कौतुहलता अनि जोशले गल्ती गर्न प्रेरित गरेको थियो। त्यो एउटा अज्ञानतापूर्वक गरेको भूल थियो। तर दोस्रो केटासँगको सम्पर्कलाई भने भूल भन्न मिल्दैनथ्यो, त्यसमा मेरो मूर्खताले मलाई धोका दिएको थियो।
विचरो आकाशलाई किन फसाउने, पछि बिहे भएर थाहा भयो भने झन् जिन्दगी नै बर्बाद हुनसक्छ, त्यसैले आफ्नो कुरा खोल्दिहालूँ कि जस्तो पनि लागेको थियो। तर बिहेको कुरा त कता हो कता पहिलो भेटपछि हाम्रो दोश्रो भेट पनि होला नहोला पक्का थिएन।
कुनै सरोकार नभएको व्यक्तिसँग आफ्नो सबै गोप्य कुरा किन खोल्नू भनेर मैले त्यो बेला आफ्नो झूटलाई सच्चाउने प्रयत्न गरिनँ।
पहिलो भेटमा हामीबीच कुनै गम्भीर कुराकानी भएन। मैले आकाशसँगको सम्बन्ध अगाडि बढ्ला भन्ने सोचेकी पनि थिइनँ र अगाडि बढाउने पक्षमा पनि थिइनँ तर उसले मलाई मन पराएछ।
ऊ आफैंले दोश्रो पटक भेट्न प्रस्ताव राख्यो। उसको मन राख्न भए पनि म गएँ। दोश्रो भेटपछि पनि मेरो मनमा ऊसँग बिहेको भावना नै थिएन।
मैले उसलाई हाम्रो सम्बन्ध अगाडि बढ्न नसक्ने स्पष्ट बताएँ। तर उसले हार मानेन। मलाई बारम्बार भेट्न बोलाइरह्यो। बिहे हुन नसके पनि साथी त बन्न सक्छौं भनेर ऊ मसँग नजिकिन कोसिस गरिरह्यो। साथीमात्र बन्ने प्रस्ताव राखे पनि उसको ध्येय मलाई थाहा नहुने कुरा थिएन तर मैले पनि साथीकै नाटक गरिरहें।
अलि समय बितेपछि उसको व्यवहार देखेर मलाई पनि ऊप्रति प्रेम पलाउन थाल्यो। उसको व्यवहारमात्र हैन ऊ देख्नमा पनि राम्रै थियो। छोटो समयमै राम्रो साथी बनेपछि हामीले खुलेर एकअर्कासँग मनका कुरा गर्न थाल्यौं।
एकदिन हाम्रो कुरा बिहेसम्म पनि पुग्यो। मैले हाम्रो सम्बन्ध त्यति छिटो र त्यति सजिलै अगाडि बढ्ला भन्ने सोचेकी थिइनँ। बिहे गर्नेसम्म कुरा पुगेपछि म बिहे गर्नुभन्दा पहिले उसलाई आफ्नो विगत बताउन चाहन्थें। तर मैले हिम्मत गरिनँ। सत्य बोल्दा मलाई दिलिपले दिएको धोका र वेदनाको कारण मैले आफ्नो मुख खोल्न सकिनँ।
दिलिप पनि दुई वर्ष अगाडि आकाश जस्तै गरेर मेरो जीवनमा आएको थियो। नेपाली केटीसँग ऊ बिहे गर्ने भनेर क्यानडाबाट नेपाल आएको थियो। हाम्रो परिचय परिवारमार्फत् भएको थियो।
क्यानडामा काम गर्ने, महिनामा लाखौं कमाउने, उतैको पिआर भएको केटो पाएपछि म पनि के के न पाएँ जसरी ऊसँग नजिकिएकी थिएँ। परिवारमार्फत् कुरा अगाडि बढेकोले पनि ऊसँग नजिकिन मलाई कुनै संकोच लागेन। पहिलो भेटमै म ऊप्रति आकर्षित भएँ। ऊप्रति भन्दा पनि उसको कमाइ र उसको क्यानडाको पिआरप्रति आकर्षित भएँ भन्दा न्याय होला।
हरेक भेटमा उसले आफूलाई निकै आधुनिक र जाने बुझेको युवकको रूपमा प्रस्तुत गर्थ्यो। मैले पनि क्यानडा जाने भनेर उसको सिको गर्दै अलि आधुनिक रूपमै प्रस्तुत हुन सुरू गर्न थालें।
दोश्रो भेटमै हामीले हाम्रो बिहेको कुरो गर्न कुनै अप्ठ्यारो मानेनौं। उसले कुनै संकोच नमानी ‘आर यु भर्जिन?’ भनेर सोध्दा मेरो मुहार रातो भएको थियो। तर आफ्नो मुहारको संकोच लुकाउन प्रयास गर्दै मैले उसको आँखामा हेरेर सत्य बोलेकी थिएँ, ‘छैन।’
‘म पनि छैन। मलाई त्यसको बारेमा खासै मतलब पनि छैन। तर बिहे अगाडि सबै कुरा आफ्नो हुनेवाला पार्टनरलाई बताएकै राम्रो भनेर मैले सोधेको हुँ। मलाई तिम्रो फ्र्याङ्कनेस र कन्फिडेन्स मन पर्यो।’
उसको कुराले म उत्साहित भएँ। सत्य बोलेर आफूले निकै सही काम गरेको मलाई महसुस भयो। त्यसपछि हाम्रो नियमित भेटघाट हुन थाल्यो। हामी दुवैले एक अर्कालाई स्वीकारेपछि परिवारले पनि हामीलाई स्वतन्त्र छोडिदिएका थिए।
हामी वर्षौंदेखि सँगै बसेका श्रीमान श्रीमती जस्तै कुरा गर्न थालेका थियौं। मलाई ऊप्रति भविष्यको आशामात्र हैन वर्तमानको विश्वास पनि थियो।
एकदिन उसले मलाई सम्बन्धको पनि प्रस्ताव राख्यो। बिहे अगाडि नगरौं भनेर सुरूमा मैले इन्कार गरें तर हुनेवाला लोग्नेसँग पनि केको लाज अनि बिहे अगाडि उसको सबै कुरा जान्दा पनि राम्रै होला।
‘के थाहा नपुंसक पो छ कि?’ त्यो पनि जानिहालौं भन्ने विचारले मैले पनि स्वीकृति दिएँ। त्यसै पनि मैले पहिले पनि त शारीरिक सम्पर्क गरेकै थिएँ। त्यसैले मलाई त्यति अप्ठ्यारो लागेन।
घरबाट साथीको घरमा बस्न जान्छु भन्ने बहानामा निस्केर हामी होटलमा गयौं। दिलिपलाई मैले मन त पहिलो भेटमै दिएकी थिएँ, अलि अलि डर, अलिअलि कौतुहलता अनि संकोचबीच मैले उसलाई आफ्नो तन पनि सुम्पिदिएँ।
त्यसपछि हामी धेरै पटक भेट्यौं, हाम्रो धेरै पटक सम्बन्ध भयो। सुरूमा अलि अप्ठ्यारो लागे पनि मलाई पछि पछि सबै सामान्य लाग्न थाल्यो। त्यसो गर्दा मलाई कुनै ग्लानी पनि भएन। ऊ लामै बिदा लिएर आएको थियो। दुई महिनामा हामी निकै नजिकियौं र एक अर्कालाई बुझ्ने मौका पायौं। मङ्सिरमा बिहे हुने कुरो भयो।
तर उसले मेरो जाँच छ भन्ने थाहा पाएपछि ‘जाँच सकेर माघतिर गरौंला’ भन्ने प्रस्ताव राख्यो। दिलिपसँग नजिकिएपछि मलाई पढ्ने जाँगर हराएको थियो। क्यानडा गएपछि मेरो ‘आर्टस्’ को पढाइले जागिर पाइने कुरो थिएन। बरू छिटो बिहे गरेर उतै गएर केही सीप सिक्ने र उतै केही काम गर्नू मैले उत्तम सम्झेकी थिएँ। तर दिलिपले मानेन। माघमा फेरि बिदा लिएर आउने भनेर ऊ क्यानडा फर्कियो।
ऊ फर्केपछि सुरूसुरूमा हाम्रो नियमित कुरा हुन्थ्यो। तर नेपालमा राति हुँदा क्यानडामा दिउँसो अनि नेपालमा दिउँसो हुँदा उता राति हुने हुँदा पछिपछि समयलाई बहाना बनाएर उसले मसँग कुरा गर्न कम गर्यो। माघमा बिहे गर्न आउने भनेको उसले बिदा मिलेन भनेर वैशाखको भाका सार्यो।
मलाई अलि डर लाग्न थालेको थियो तर आफ्नो विश्वासलाई डगमगाउन दिएकी थिइनँ। झन् पछि झन् उसको र मेरो सम्पर्कमा कमी आउन थाल्यो। उसले मैले गरेको कल नउठाउने, मैले लेखेको मेसेजको पनि निकै ढिलो उत्तर दिने, कुनै मेसेज हेर्दै नहेर्ने गर्न थाल्यो। के भयो भनेर सोध्दा काममा व्यस्त भएको बहाना देखाउन थाल्यो।
ऊ वैशाखमा पनि नआएपछि चाहिँ मेरो मनमा चिसो पस्यो। उसले त्यसपछि असारको भाका सार्यो। त्यो बेला मेरो रिजल्ट पनि आयो। पढ्ने समयमा दिलिपको ओछ्यान तताउन व्यस्त रहेकी मेरो रिजल्ट कसरी राम्रो आउँथ्यो र? म फेल भएँ। दिलिपले मलाई पन्छाउन त्यही रिजल्ट बहाना बनायो। उसले बिहेको लागि आनाकानी गर्यो।
आफू दिलिपबाट प्रयोग भएको थाहा पाएपछि म फोनमा ऊसँग रिसाएँ। हाम्रो झगडा पर्यो र अन्तमा उसले आफ्नो मनको कुरा पोखेरै छोड्यो, ‘बिहे अगाडि केटा चहार्दै हिँड्ने तँ जस्तीलाई बिहे गरेर जीवन बर्बाद गर्नु छ र?’
‘अनि कि त्यत्रो नाटक गरिस् त?’ मैले रूँदै सोधें।
‘त्यो त तँलाई पनि थाहा छ। अरू केटा भए पनि त्यही गर्थे। आज मसँग सुत्न आउने तँ भोलि अर्कोसँग सुत्न नजालिस् भन्ने के छ र? तँलाई त जोसँग सुत्न पनि केको लाज भयो र? मभन्दा पहिले पनि कति जनासँग सुतिसकेकी रैछस्।’
उसको कुराले मेरो आवाज नै बन्द भयो। मैले उसलाई गाली गर्ने शब्द नै भेटिनँ। कल डिस्कनेक्ट गरें अनि डाँको छोडेर रोएँ।
त्यसपछि हाम्रो फेरि सम्पर्क भएन।
दिलिपलाई अति विश्वास गरेर मैले गरेको गल्तीले गर्दा हाम्रो घरमा पहिले आँधिबेहेरी आयो अनि घर उजाड पारेर त्यहाँ सन्नाटा छायो। त्यो घटनाले मेरो जिन्दगी त बर्बाद हुने नै थियो, भयो तर त्यसले मेरोभन्दा बढी पीडा बाबा मम्मीलाई दियो। मम्मी केही दिन पागलजस्तै हुनु भयो। बाबाले दिलिपको घरमा गएर अनुनय विनय गर्नुभयो, उनीहरूको खुट्टै समात्नुभयो तर पनि उनीहरूको मन पग्लेन।
‘छोरोले नमानेपछि हामी केही गर्न सक्दैनौं’ भनेर उनीहरू पन्छिए। उनीहरू त सजिलै पन्छिए; न त उनीहरूको इज्जत गयो न त समय तर हामी बर्बाद भयौं। केही महिनापछि मभन्दा सुन्दर, भर्जिन केटी पाउने सुन्दर सपना बुन्दै दिलिप फेरि नेपाल फर्केर केटी खोज्न थाल्यो।
हामी आफ्नो इज्जत बचाउन भनेर आफ्नै आँखा अगाडि आफ्नै बेइज्जत भएको टुलुटुलु हेर्न बाध्य भयौं।
आफ्नै कारणले गर्दा म घर न घाटकी भएकी थिएँ। धेरै दिनसम्म मेरो जिन्दगी आँसु र निराशामा डुब्यो। मलाई जिन्दगीसँग डर लाग्यो, मैले बाँच्ने आधार सबै गुमाएको महसुस गरें। तर आँसुको पानीको रहमा डुबेर मर्न नसकिने रहेछ; मर्न चाहेर पनि म मर्न सकिनँ। आफ्नो पीडाभन्दा पनि बाबा मम्मीको पीडाले मलाई मर्नबाट बचायो।
दुई वर्षपछि मेरो जीवनमा आकाश आयो। मेरो कुमारित्व सम्बन्धमा उसले सोधेको प्रश्नले मलाई दिलिपको याद गरायो र फेरि त्यो दलदलमा नफस्न मैले असत्यको सहारा लिएकी थिएँ। तर त्यही असत्यले आकाश र मेरो बिहे गरायो। सुहागरातमा मलाई आफ्नो गोप्यता भङ्ग हुन्छ कि भन्ने डर लागेको थियो। उसले थाहा पायो या पाएन मलाई थाहा भएन। तर उसले कहिले पनि त्यो कुरा उठाएन।
अहिले हाम्रो जीवन खुसीसँग बितिरहेको छ। कहिलेकाहीँ आफ्नो विगत उसलाई बताइदिऊँ कि जस्तो पनि लाग्छ। तर फेरि डर लाग्छ। सत्य बोल्न खोज्दा मेरा ओठ काँप्छन्।
हाम्रो समाज यस्तै छ जहाँ सत्य बोल्दा मैले धोका खाएकी थिएँ। सत्यले मलाई पराजयको तीतो स्वाद चखाएको थियो। सत्यले मेरो विश्वाश टुटाएको थियो, सत्यले मेरो आशामा तुषारापात गरेको थियो।
अर्कोतर्फ असत्यले मलाई विजय गराएको थियो, खुसी दिएको थियो। त्यसैले फेरि सत्यको पछि लागेर मैले अर्को गल्ती गर्ने हिम्मत गर्ने सकेकी छैन। म असत्यको जितमा नै रमाइरहेकी छु।