अध्यागमन विभाग, कालिकास्थानको कोठा नम्बर ३०१।
एकजना जेन्स र एकजना लेडी 'यो विदेशी नागरिकको बच्चा हो, मेरो दाजु भाउजूको' भन्दै फ्रन्ट डेस्कका कर्मचारी प्रकाश र उमाकान्त अगाडि प्रस्तुत भए।
उनीहरूले थप्दै गए- 'मेरो दाजु नेपाली तर युकेको सिटिजन र यो बच्चाको आमा युकेकै सिटिजन, मेरिना स्मिथ (नाम परिवर्तन)।
प्रकाश विषय बुझ्न अनुभवी, अलि माहिर र टाठो। सबै कागजात ल्याउनुहोस् त भन्दै कागजात मगाए। उनीहरूले पनि तयार रहेका कागजात पेश गरे। थप विवरण समेत मौखिक रुपमा तेर्स्याए।
उनीहरू फियान्से (हुनेवाला विवाहका जोडी) भएको र मेरिना नेपाल घुम्न आएका बखत त्यही बच्चा भएको जिकिर थियो। पेश भएका कागजात र बुनेको प्लटमा केही झुटको शंका हुन्थ्यो। अध्यागमन विभागको काम भएकोले विदेशीका विषय सम्मानका साथ नियाल्नु र विषय यकिन गरी एक्जिट परमिट दिन जरुरी थियो। भावनात्मकता, संवेदनशीलता जेलिएकाले केस जटिल देखिन्थ्यो।
विषय शंकास्पद लागेर कर्मचारीहरू उमाकान्त र प्रकाशले तेस्रो तलाको ३०२ मा रहेका अधिकृत पवन गुप्तालाई विषय बताएछन्। उनीहरूले मलाई पनि सुनाए, एक्जिट परमिट लिई बच्चा लैजाने कुरा रहेछ। अलि स्पष्ट छैन। कागजात शंकास्पद छन्। विस्तारै अलि शंकास्पद कागजात छन् भन्ने गाइँगुइँ हल्ला चल्न थाल्यो। त्यो बेलासम्म मेरिना स्मिथलाई हामीले देखेका थिएनौँ। सानो बच्चा र आवश्यक कागजातका साथ एक महिला र एक पुरुष नेपाली नागरिकहरू प्रस्तुत थिए।
पवनजी र म सानो सल्लाहमा थियौँ। अन्य केसमा पनि हामी विषयलाई अनेक ढंगले केलाएर हेर्ने, छलफल गर्ने गर्थ्यौँ। फाँटका साथीहरूले केही सोधीखोजी गरेपछि ती नेपाली नागरिकहरूले मेरिनालाई 'अध्यागमनले शंका गर्यो, बच्चा आफै बोक्नुहोस्' भनेछन् क्यारे। एउटी जवान र ठूलो प्लस साइज भएकी विदेशी नागरिक महिला मेरो कोठा नम्बर ३०३ को सूचना-समन्वय रुमको बाहिर लवीतिर ब्रेस्टफिड गराएजस्तै भानमा बच्चासहित प्रस्तुत भइन्।
पवन जीले मलाई 'विषय शंकास्पद छ, डिटेलमा जानुपर्यो सर' भन्नुभयो। हामीले विषयलाई अगाडि बढाउन र आवश्यक अनुसन्धानका लागि अनुमति लिन महानिर्देशक ईश्वरराज पौडेल र निर्देशक रामचन्द्र तिवारी सरकोमा छिर्यौं। उहाँहरू इन्सट्रक्सनमा बहुत क्लियर। विषयलाई पूर्ण रुपमा एकनलेज गरी डिजी सरले भन्नुभयो- 'इट निड्स डिटेल इन्भेस्टिगेसन, गो अहेड राजन जी।'
विदेशी नागरिकको विषय भएकाले केस कठिन अनि संवेदनशील पनि। कभर स्टोरी दुरुस्त बनाइएकोले कहाँबाट सुरु गरौँ भन्नेमा हामी स्पष्ट हुन जरुरी थियो। विदेशी नागरिक मात्र नभएर एक महिलाको विषय, अनि साथमा सानो दुई दिने बच्चा पनि।
मेरिनाले सानो बच्चा आफ्नो दाबी गर्दागर्दै हामीले कागजात र केही प्रक्रियागत विषयमा शंका लागेर मात्र थप प्रमाण माग गरेको। कसैले आप्नो बच्चा मेरै हो भनेर दावी गर्नुपर्ने र प्रमाण खोज्नुपर्ने मानेमा कानुन हामीलाई छुद्र लाग्दै थियो। अन्तर्राष्ट्रिय रुपमा नै अध्यागमनको जबनेचर नै त्यस्तै।
कागजातहरू पेश भए। जन्मदर्ता तयार थियो। एक्जिट परमिटका लागि टेम्पोररी पासपोर्ट पनि। बच्चाको नाम अंग्रेजी नेपाली मिलाएर 'एनावेला लक्ष्मी' राखिएको थियो। सबै हुबहु। तारिख तोकेरै नेपालबाट प्रस्थान गर्ने, कतार ट्रन्जिट छोड्ने र युके इन्ट्री गर्ने प्रयोजनका लागि बच्चाको टेम्पोररी एक्जिट परमिटको पासपोर्ट तयार थियो।
सबै कागजात साथ बच्चाको एक्जिट परमिटका लागि पासपोर्ट समेत तयार हुँदा निजहरूलाई रोक्न हामीसँग यथेस्ट प्रमाण थिएन। दुतावासबाटै एक्जिट परमिट बनिसकेकोले डिप्लोम्याटिक इस्यु हुन सक्ने खतरा हुँदै थियो। यी यावत् प्रश्नले हाम्रो विषय कठिन थियो। हामी अनुत्तरित थियौँ। अब के गर्ने?
पवनजी र म एकछिन घोत्लियौँ। अनुसन्धान कसरी सुरु गर्ने भन्ने जटिलता थियो। महिला, त्यसमाथि पोष्ट-प्रेग्नेन्सी। दुई दिनको बच्चा। विदेशी नागरिक। सबै कागजात ठिकठाक। विषय यत्तिकै सेन्सेटिभ भएर गयो। हामीसँग भएको प्रमाण- शंका, मात्र शंका।
कागजात अध्ययन र थप प्रमाणमा जुटौँ भन्दै केही सोधखोज र प्रारम्भिक विषय बुझ्न अनुसन्धान अधिकृत समिताजीलाई लायौँ। उहाँले इनोसेन्ट्ली मेरिनासँग सबैकुरा सोध्नुभएछ। मेरिना सोधखोजका क्रममा एक इन्च पनि तल नझरेपछि विषय के हो खुलेन। समिताको सेक्रेट इन्क्वाइरीले पनि काम गरेन। तर यो बुझिन्थ्यो- बच्चा उनको हैन।
कुछ तो गडबड है! हामी बच्चा मेरिनाको हैन भन्नेमा पूरै विश्वस्त थियौँ। केस कसरी अगाडि बढाउने भन्ने प्रश्न पेचिलो बन्दै गयो। मैले उसलाई नै बोलाएर अङ्ग्रेजीमा सोधेँ- यो बच्चा आफ्नो हो भन्ने थप प्रमाण के दिन सक्छौ? उसले मेरो प्रश्न नटुङ्गिँदै भनी, 'लेट मी ब्रिङ अल डकुमेन्ट्स।'
ऊ बच्चा आफ्नो हो भनी देखाउने कागजात खोज्न जुटी होली। म पनि प्रमाण जुटाउन थालेँ। मैले अधिकृत दिपकजीलाई निज आएको फ्लाइटको एअरपोर्टको डिटेलदेखि सबै सीसीटीभी फूटेज ल्याउन पत्र तयार पारी त्रिभुवन विमानस्थल, गौचर जान भनेँ।
अधिकृत भाइले बढो मेहनतका साथ निज त्रिभुवन विमानस्थलको अध्यागमन डेक्समा प्रस्तुत भएको, एराइभल तर्फबाट तल झरेको¸ ट्याक्सी वेटमा बसेको, ट्याक्सी चढी सामान्य रुपमा बाहिरिएकोसम्म फूटेज कलेक्सन गर्नु भएछ। अनुसन्धानको पहिलो, झिनो तर विशेष प्रमाण फेला पर्यो।
हामीले थप चेक गर्न नेपाल आएको एयरलाइन्सलाई सोध्यौँ। सबै सिस्टम र डिटेल हेर्दा मेरिना नेपाल भित्रिएको भोलिपल्ट नै बच्चा जन्मिएको कागजातले देखाउँथ्यो। प्रेग्नेन्सीको बेला कति हप्तासम्म सहज उड्न मिल्ने भनी एयरलाइन्सलाई फेरि कन्फर्म गर्यौँ। कम्पनीअनुसार फरक-फरक हुने भएता पनि करिब २८/३० हप्तापछि उड्नलाई 'फिट टु फ्लाई कागजात हुनुपर्ने रहेछ भन्ने थाहा लाग्यो। अझ अन्तिम हप्तामा त उड्न निषेध नै रहेछ।
एयरलाइन्सबाट जवाफ आयो- उड्नका बखत निजले त्यस्तो कुनै कागजात पेश नगरेको। हामी झन् छक्क पर्यौँ। केही छैन। सबै सामान्य। सामान्य व्यक्ति जस्तो ठमठमती हिँडेर नेपाल प्रवेश। भोलिपल्ट बच्चा जन्मियो। पर्सिपल्ट एक्जिट परिमिट आवश्यक। सबै तयार।
झिनो रुपमा प्रमाण जुट्दै गयो। अधिकृत समिता र दिपक मेहनतका साथ केस इन्भेस्टिगेसनमा थिए। उसलाई नचिड्याइ सबै कुरा बुझ्नुपर्ने टास्किङ गरेका थियौँ। केस क्रिटिकल भएकोले।
बच्चा बेचबिखन हो कि भन्ने शंकाका आधारमा प्रमाण खोज्नुपर्ने सेन्सेटिभ इस्यु भएकोले अलिकति खुल्ला र मिजासिलो रुपमा मेरिनासँग आफैले कुरा गर्ने निधो गरेँ। मैले सोधेँ, 'बच्चा कहाँ जन्मायौ?'
उसले सहज उत्तर दिई ललितपुर, टिकाथली नजिकको गाउँ।
थप डिटेल पनि बताई। कसरी जन्म्यो? के भयो? भनेर। बडो अचम्म! सबै स्टोरी दुरुस्त थिए। यो पटक मैले धेरै बोलिनँ। बढी सुन्ने र विषय बुझ्ने कोसिस गरेँ।
थप सुनेपछि थप शंका हुँदै गयो। एउटा सम्भ्रान्त विदेशी नागरिक। मेडिकल रजिस्टर्ड पर्सन। बच्चा जन्माउन नेपाल आउने। आएको भोलिपल्ट दुर्गम लाग्ने काँठ एरियाको घरमा बच्चा जन्मिने। कथा जटिल बन्यो। हामी इन्भेस्टिगेसनमा झन् डिटरमाइन्ड भयौँ। मैले साथीहरूलाई भनेको थिएँ- 'दियर इज समथिङ रङ।'
सबै विषय विस्तारै खुल्दै थिए। हामी सतर्क र गोप्य रुपमा अनुसन्धानमा थियौँ। अध्यागमन कानुनमा अनुसन्धान गर्न कसैलाई डिटेन गर्न सक्ने ऐन रहेको भएतापनि निजलाई स्थान हद नगरिकनै हामी अनुसन्धानमा थियौँ। अध्यागमन कार्यालय त्रिभुवन विमानस्थल, गौचरमा पत्रचार गरी मेरिनाको प्रस्थान अनुमति दिन रोकेका थियौँ।
अर्को दिन कार्यालय समय सुरु हुनासाथ मेरिना मलाई 'हेलो राजन!' भन्दै आइपुगी। म त ऊसँग सधैँ फ्रेन्ड्ली म्यानरमै प्रस्तुत थिएँ। मेरो अघिल्लो दिनको कुरा गराइले ऊ मसँग थप मिजासिलो रुपमा प्रस्तुत भई। उसलाई सधैँ सान्त्वना दिँदै भन्थेँ, 'चिन्ता नगर मेरिना, हामी नेपालमा जन्मिएको विदेशी बच्चा लैजाने एक्जिट परमिटको प्रकृयामा नै छौँ।'
ऊ पनि सहजै स्विकार्थी।
यस दिन मलाई मेरिनासँग अलि बढी सोधखोज गर्न जरुरी थियो। कागजात र फूटेजहरू भेला भएर मेरा अघि फायलिङ थिए। मेरो इन्टरभ्यु टेक्निक काम गरिरहेकै थियो। मेरिनालाई पनि 'सबैले मलाई अनावश्यक कुरा सोध्छन्, यो केटा अलि ठिक छ' भन्ने लागेको हुने भान ममा पनि थियो।
त्यो दिन मैले अनुसन्धान अधिकृत समितालाई बोलाएँ र मेरिनासँगै राखेर मेरिनालाई भनेँ- 'हामीलाई तपाईंप्रति केही शंका छ।' मैले के यति भनेको थिएँ, ऊ उग्र रुपमा प्रस्तुत भई।
'तपाईं के भन्दै हुनुहुन्छ? के?' उसले कराउँदै भनी, 'यो मेरो बच्चा हो। मसँग सबै कागजपत्र छ। यसमा शंका गर्नुपर्ने कारण छैन।'
मैले पनि उसलाई फकाउँदै लामो स्वरमा भनेँ- 'मलाई थाहा छ, यो बच्चा तपाईंको हो तर यो कसरी सम्भव छ कि हिजो राति तपाईं नेपाल आउनु भयो र बच्चा जन्माउनु भयो? अनि तपाईं बच्चालाई यो दुई दिनभित्रै सँगै लैजान खोज्दै हुनुहुन्छ?'
मैले पनि फटाफटी र अलि चर्को स्वरमा सोधेँ? यो पटक म अलि कडा थिएँ। मेरा प्रश्नसँग ऊ झस्किई। उसले मलाई अरुभन्दा 'मजाको' ठानेकी तर सोचेजस्तो भएन। उसले केही थप प्रमाण पेश गर्न मसँग केही घन्टा मागी। मैले अफिसर समिता र उसलाई केही बेर कुरा गर्न छोडी दिएँ।
उसले समितालाई 'मैले जन्माएको बच्चा हो, मेरो बेली चेक गर, तिमी पनि महिला हौ' भनिछ। केस साइकोलोजिकल्ली पनि सिरियस भएछ।
दिपक, पवन र म यो कुराको बारेमा मेरो रुममा छलफलमा थियौँ। भएका प्रगतिहरू महानिर्देशक र रामचन्द्र सरलाई पनि रिपोर्टिङ गरिरहेकै थियौँ।
समितासँगको गफमा उसले बच्चा आफ्नो र नेपाली फियान्सेको भएको र निजको टिकाथली घरमा जन्मिएको, त्यसपछि बी एण्ड बी अस्पतालमा बच्चा चेक गराएको भनिछ। बच्चा चेकजाँच गराएको र हाल आमा र बच्चाको स्वास्थ्य ठिक रहेको पत्र समेत तयार पारिएको रहेछ। वरिष्ठ डाक्टर हस्ताक्षरित सर्टिफिकेट। हामी तीन छक्क थियौँ। हाम्रा बलिया भनेका प्रमाण उसका प्रमाण अगाडि घुँडा टेक्न तयार थिए।
मैले पनि थप प्रमाण संकलनका लागि दिपक भाइलाई 'सीसीटीभी फूटेज चेक गर्न अफिसियल लेटरसहित बी एण्ड बी हस्पिटल जाऊ' भनेँ।
त्यो दिन म पनि आफै गएँ। बी एण्ड बीले सजिलै फूटेज दिन मानेन। मैले भित्र रुमको चेक गराएको अवस्थाको फूटेज आवश्यक छैन, इन्ट्रान्स र काउन्टरसम्मको फूटेज दिन भनेँ। उनीहरू यो वा त्यो भन्दै थिए।
मैले विस्तारै भनेँ- 'अनुसन्धानको सिलसिलाको कार्यालयको पत्र हो। अनुसन्धानको प्रयोजन। कसैको व्यक्तिगत गोपनीयता भङ्ग नहुने गरी बाहिरी मार्गको फूटेज दिनुस्। यु आर अन अब्लिगेसन टु प्रोभाइड दिस' भनेँ। पछि के सोचे, दिए। अस्पताल प्रशासनले हामीलाई त्यस दिन स्मिथ सरनेम भएको कुनै पनि महिलाले बच्चालाई यस अस्पतालमा जन्म नदिएको भनी पत्र पनि दियो। थप प्रमाण।
फूटेज ल्याएर विभागमै हेर्यौं। समिता, दिपक, पवन र म सबैजना मेरो डेस्कटपमा हेर्दै छक्क पर्यौँ। बच्चा बी एण्ड बी नै नलगिएको। अस्पतालबाट बाहिरिँदा समेत बच्चा साथमा नभएको। कागजात बनेछ- बच्चा र आमाको स्वास्थ्य ठिक।
यी सबै घटनाहरूका विवरण हामी एकीकृत गर्दै थियौँ। हामीलाई प्रमाण आवश्यक थियो।
केही बेरमा हातमा कागजको ठेली खालको डकुमेन्ट बोकेर मेरिना मेरो कार्यकक्षमा छिरी। मेरो टेबलमा सभ्यताका साथ कागज राखी। उसले भनी यो सबै पढ।'
मैले भनेँ, 'यो सबै के हो?'
उसले भन्दै गई- 'राजन, म पनि बेलायतको रजिष्टर्ड नर्स हुँ। मलाई लाग्छ तिमीलाई 'क्रिप्टिक प्रेग्नेन्सी'बारे थाहा छैन। कृपया यो सबै डकुमेन्ट पढ।'
मैले उसलाई सान्त्वना दिँदै जवाफ दिएँ- 'म पढ्नेछु।' मैले उसलाई थोरै सान्त्वना पनि दिएँ। प्यानिक नहुन भनेँ। त्यो दिन अबेर नै भइसकेको थियो। मलाई बडो कौतुहल भयो। के रहेछ क्रिप्टिक प्रेग्नेन्सी? कहिल्यै नसुनेको, नबुझेको। गुगल सर्च गरेँ।
उसले पनि गुगलबाटै लिएकी रहिछ। प्रिन्ट गरेको रहेछ, फोटोसहित पचासौँ पेज थिए। मेरो टेबलमा 'प्रमाण' केहीबेर असरल्ल लडिरहे। मैले मेरिनालाई आज जान सक्ने र भोलिपल्ट दिउँस आउन भनेँ।
हाम्रो अनुसन्धानको ठूलो बल भनेको विदेशबाट आएको भोलिपल्ट एउटा गाउँमा गएर बच्चा जन्माउने। अस्पताल नजाने। भोलिपल्ट बी एण्ड बी गएर चेक गर्ने? फूटेजमा बच्चा नदेखिने, जन्मेको प्रमाण बनाउने? त्यही पालिकाको वडामा गएर जन्मदर्ता गराइहाल्ने? भोलिपल्ट ब्रिटिस एम्बेसी गएर एक्जिटका लागि टेम्पोररी पासपोर्ट बनाइहाल्ने? अर्को दिन युके उड्ने टिकट तयार? फटाफट काम। योजनावद्ध। क्या फास्ट!
चलिरहेको अनुसन्धानमा फेरि एउटा मोड आयो। पूरै कागजात अध्ययन गरेँ। क्रिप्टिक प्रेग्नेन्सी त साँच्चै पो हुने रहेछ। बच्चा जन्माउने अन्तिम समयसम्म पनि प्रेग्नेन्सीबारे थाहा नहुने। बच्चा बसेको थाहा नहुने। पिरियड समेत नरोकिने। बच्चा जन्मँदा मात्र थाहा हुने अवस्था पनि हुने रहेछ। अचम्मनै लाग्यो। वास्तविकताका अगाडि मैले थाहा नपाउनु सामान्य कुरा। मेडिकल साइन्स प्रुभन विषय।
हाम्रो सब प्रमाण शून्यमा झर्यो। हुने पो रहेछ यस्तो पनि। एउटा गुप्त किसिमको प्रेग्नेन्सी। लाखौँ महिलामा एक-दुई जनामा देखिने। क्रिप्टिक खालको। गुप्त किसिमको। तर सत्य।
सङ्कलन भएका फिट टु फ्लाईदेखि अध्यागमनको एराइभल डेक्समा मेरिनाले बेलीविहीन रुपमा ठम्ठमी हिँडेका फूटेज शून्यतामा झरे। काम नगर्ने अवस्था आयो। हाम्रा प्रमाण सब अलपत्र परे जस्तो लाग्यो। अनुसन्धानले अर्कै मोड लियो। अंग्रेजीमा यू टर्न भन्ने चलन थियो। हाम्रो चाहिँ ओ टर्न। शून्यमा झरेर त्यही बिन्दुबाट सुरु।
अनुसन्धानलाई अलि फरक बनाउँदै ती विदेशी नागरिकलाई कुनै अप्ठ्यारो नपर्ने गरी सम्मानपूर्वक सोधीखोजी जारी राख्यौँ। हामीलाई शंका छँदै थियो। प्रेग्नेन्सी पो क्रिप्टिक हो, बच्चा जन्मेपछि त त्यसको फिजिकल बढी इफेक्ट हुनुपर्ने हो भन्ने भयो।
मैले फेरि मेरिनालाई आफै फोन गरी बोलाएँ। ऊ समयमै आई। मैले भनेँ 'म तिमीले भनेको क्रिप्टिक प्रेग्नेन्सीसँग सहमत छु, अब तिमीले हामीलाई सहयोग गर्नुपर्ने अर्को कुरा छ।'
उसले सहजै हुन्छ भनी। मैले थपेँ, 'म मेरो लेडी अफिसर साथमा पठाउँछु, 'बच्चा जन्मेको दुई दिन मात्र भएकोले आफ्टर चाइल्ड वर्थको अवस्था वा पोस्टपार्टमको रिपोर्ट लिन्छौँ।'
यहाँ उसको अनुमति जरुरी थियो। उसले स्वीकार गरी। मैले अफिसकै गाडीमा अनुसन्धान अधिकृत समिता र उसलाई अफिसियल पत्रसाथ इमरजेन्सी चेकका लागि प्रसूति गृह थापाथाली पठाएँ।
यो पटक मैले समितालाई साथमै पठाउनु र सरकारी अस्पताल नै रोज्नुको कारण पहिला निजहरूले पेश गरेको अस्पतालको कागजात थियो। जहाँ अलि काइते-काइते अंग्रेजीमा 'बच्चा पनि फिट- आमा पनि फिट' भन्ने सर्टिफिकेट बनेको थियो। भाषा बच्चा जन्माएजस्तो पनि चेक मात्र गरेजस्तो पनि खालको। द्विअर्थी।
उनीहरू प्रसूति गृहको इमरजेन्सीमा पुगेछन्। पुग्नासाथ मेरिनाले 'म यति धेरै मान्छे भएको खुल्ला खालको ठाँउमा चेक गर्दिनँ, मेरो पनि गोपनियता हुन्छ' भनिछ।
समिताले मलाई फोन गर्नुभयो। मैले 'म मेरिनासँग कुरा गर्छु' भनेँ। उसले मसँग कुरा गरी। मैले भनेँ, 'यो सबै बच्चाको एक्जिट परमिटको प्रोसेसका लागि र तिम्रो लागि हो।' मैले थपेँ, 'बच्चा मैले जन्माएको भन्ने अनि पोस्टपार्टमको अवस्था चेक गर्न नदिने? कसरी केस सल्भ हुन्छ?'
उसले स्विकारी। प्रसूति गृहले रिपोर्ट तयार गरी हामीले बुझ्ने जेनेरिक भाषा र 'व्याख्यात्मक शैलीमा' पठाइदिएछ। रिपोर्टमा थियो- बच्चा जन्माएको खालको कुनै भजाइनल इफेक्ट छैन। सबै सामान्य।
हामीलाई शंका गरेको विषयमाथि प्रमाण मिल्यो। अब बच्चा मेरिनाको होइन भन्ने भयो। तर समस्या उही कसको त? अनि केका लागि यो फिल्मी शैली? आमाको नामसहित जन्मदर्ता कसरी भयो? यी सबै विषय साथ रिपोर्टिङका लागि म डीजी ईश्वरराज पौडेल सरकोमा छिरेँ। कोठा नम्बर १०१।
हामी डीजी सरकोमा छलफलमा थियौँ। त्यसैबेला डीजीलाई मेरिनाको फियान्से भनिएका यूकेमा बस्ने नेपाली नागरिकको फोन आयो। सतर्कतापूर्वक लाउड स्पिकरमै फोन सुन्यौँ। निजले सहजै स्वीकारे। 'मेरिना र मबाट गल्ती भयो, नेपालबाट बच्चा एडप्ट गर्ने कानुनी प्रक्रिया जटिल र प्रायः असम्भव रहेकोले नेपाली बच्चालाई किनी आफ्नो बनाई ल्याउन लाग्दा नजानेर कानुनी झमेलामा परेको' बताए।
उनले बच्चा चाहिएन, मेरिनालाई छाडिदिए हुन्छ 'म बरु केही गर्थेँ' भावमा बोले। यताबाट डिजी सरले तपाईंहरू फसिसक्नु भयो। 'दिस इज क्राइम' भन्दै झपार्नु भयो।
त्यो वार्तालापपश्चात् म मेरो अफिस रुममा आएँ। मेरिनालाई 'तेरो फियान्सेले यस्तो भन्यो, यो तेरो बच्चा होइन' भनेँ। अझै ऊ जिकिर गर्दै थिई, यो हुन सक्दैन।
अध्यागमन विभागले कानुनअनुसार नेपाल नाकाबाट प्रवेश/प्रस्थान तथा विदेशी नागरिकहरूका अन्य अध्यागमन कानुन विपरीतका गतिविधि मात्र हेर्ने र यो केस बच्चा बेचविखनको भएकोले आवश्यक अनुसन्धान प्रतिवेदनसहित थप अनुसन्धानका लागि प्रहरीकहाँ बुझाउनुपर्ने भयो। हामीले त्यही बेलुका प्रतिवेदन तयार पार्यौं र मेरिनासहित आवश्यक प्रतिवेदन प्रहरीलाई बुझायौँ।
सबै खुल्यो- बच्चालाई बालमन्दिरबाट एउटा प्राइभेट बर्थिङ सेन्टरमा काम गर्ने मेडिकल पर्सनको सहयोगमा नेपाल बाल सङ्गठन (बालमन्दिर) का तत्कालीन निर्देशकले बेचविखन गरेको। वडा कार्यालयलाई प्रलोभनमा पारी जन्मदर्ता गरेको। बच्चा नेपालबाट किनी विदेश लाने क्रिप्टिक गेम खुल्यो। क्रिप्टिक प्रेग्नेन्सी हुने भए पनि यहाँ कथा मात्र क्रिप्टिक रहेछ।
बच्चा बेचिएको विषय भएकोले मिडिया सेन्सेसन धेरै थियो। मैले पनि भोलिपल्टका अनलाइन र छापाका ज्याकेट पेजमै यस्तै तर अलि छोटो हेडलाइनका धेरै न्यूज पढेँ- 'बलात्कृत आमाबाट जन्मिएको शिशु बाल मन्दिरका निर्देशकले नै ११ लाखमा विदेशीलाई बेच्ने प्रयास!'