आजकाल खै किन हो
दिन र रात अलि लामा भएझैँ लाग्छ
तिम्रो याद अलि धेरै नै आएको हो त?
नआओस् पनि कसरी
भर्खर फुटेको पानीको मूल
उम्लिएर कतै पोखिन खोजेजस्तो
भर्खर उदाएको घामले
कुन दिशामा किरण छर्ने भनेर रोजेजस्तो
मेरो मनमा मायाका फोहोराहरू फहरिन्छन्!
खै त मैले कहिले पाउँछु
आफूले रोजेको मान्छेसँग
आफूले खोजेको मान्छेसँग
मेरो मनमा फुटेको मायाको मूललाई थन्कोमन्को लगाउन?
कालो मडारिएको बादलले पानी झारेझैँ
तिम्रो याद मनमा नमडारिएको दिन हुँदैन
मलाई ओत थाप्नुपर्ने पानीभन्दा पनि
चहकिलो चम्किलोपन छर्ने सूर्य बन्न मन छ
अनि यो मनमा मडारिएको यादलाई
छरपस्ट छर्न मन छ त्यो तिम्रो मनमा पुर्याउने गरी!
अनि खै होला त यी सपना पूरा?
मैले तिम्रो वदनमा आफ्ना हत्केलाले
सुम्सुम्याउन पाउँछु होला?
मैले तिम्रो अधरमा
तिम्रो तलप लागेका
यी अधर जुधाउन पाउँछु होला?
तिमीले मलाई कहिल्यै याद गर्छौ र
मलाई याद गर्दा निधारका छाला
अलि उचालेर खुम्चाएका छौ भने
मैले पाउँछु होला त निधारका खुम्चिएका छालालाई
आफ्ना ओठले पन्छाउन?
अनायासै तिम्रो सम्झनाले ढुक-ढुक गर्ने मेरो मुटु
तिम्रो छातीमा टँसाएर साम्मे पार्न?
कहिलेकाहीँ सपनामा झट्ट देखेर तिमी अस्ताउँदा
मेरो निद्राले सट्ट मलाई छोड्दा
तिम्रा औँलाका कापहरूलाई मेरो औँलाका कापले खोज्दा
के पाउँछु होला र
हाम्रा औँलाका कापहरूलाई एकअर्कामा मिसाउन?
माया म तिमीलाई मेरै भनेर बाँध्न सक्दिनँ
तिमी त जिम्मेवारीले बाँधिएका र कर्तव्यले धानिएका
तर आकाशमा स्वतन्त्र उडिरहन खोज्ने चरी हौ
तर धर्तीमा गुड्दा र आकाशमा उड्दा साथमा
कोही भए यात्रा सजिलो हुन्छ भन्छन्
हाम्रो हाँसो र हाम्रो आँसु एकअर्कामा मिसाउन सक्छौ भने
बनाउँछौ त मलाई उड्दा र गुड्दाको सहयात्री?