नजाने यो सहरमा
कति व्यक्तिहरू होलान्
जो अरुको खुट्टा काट्दै
अगाडि बढ्दै
उचाइमा पुगिरहेका छन्
आफ्नो सैतानी स्वरुपलाई
सत्य, न्याय, सदाचार र धर्मले
ढाकेर
मूर्ख, सोझा, स्वाँठ, बुज्रुकहरूको माझ
भगवान सरह उभिएका छन्
अनि म तल फेदमा बसेर तमासा हेरिरहेछु
म सम्झाउन चाहन्छु
सबैलाई कि
उनीहरूको देखेको भगवान
वास्तवमा सैतान हो
तर उनीहरू
बारम्बार मलाई आक्रमण गर्छन्
म उनीहरूबाट ज्यान जोगाउन भाग्छु
भाग्दै जाँदा
प्यास लागेर
एउटा तलाउ माझ पुग्छु
पानी खान भनेर
जसै तलाउमा के झुक्छु
आफ्नो रुप देखेर
म झस्कन्छु
किनकि
त्यो त
सैतानको पो रहेछ।