राजनीतिमा श्रीमान र श्रीमतीलाई
एकैपटक व्यवस्थापन गरौँ
छोराछोरी, भाइभतिजालाई पनि
विर्ता, सलामी, पद, पेन्सनको उपहार दिऔँ।
श्रीमान हुँदा श्रीमतीले दु:ख पाएकै हो
पद नहुँदा चिया सत्कारको दु:ख
पद हुँदा राखन धरनको दुःख
मोटरमा चढ्ने दु:ख, मोटरबाट ओर्लने दु:ख।
श्रीमान फूल मन्त्री हुँदा श्रीमतीलाई
राज्य वा सहायक मन्त्री नै बनाउँ
चुनाव लड्नै नपर्ने बनाउँ
कुरा एउटै त हो, आखिर श्रीमानले जितेकै त हो
पैसा एउटै थैलोबाट गएकै हो
श्रीमती फूल मन्त्री हुँदा श्रीमानलाई पनि
सहायक वा राज्य मन्त्री त बनाउँ।
पढ्ने उमेर भए छोराछोरीलाई भनसुन गरी विदेश पठाउँ
भएसम्म राजनीतिमै हुलौँ
पहिला पार्टीमा हुलौँ
अनि नियुक्तिमा हुलौँ
नभए समानुपातिकमा हुलौँ
नभए चुनावमै हुलौँ
जिते जित्छ नजिते चिन्न त चिनिन्छ
छोराछोरीलाई मात्र किन? भाइभतिजालाई पनि
विर्ता, सलामी, पद, पेन्सनको उपहार दिउँ।
राणाले पनि गरेकै हो
राजाले पनि गरेकै हो
हामी तीभन्दा के कम
आउ एउटा नयाँ सुरूआत गरौँ
राजनीतिमा श्रीमान र श्रीमतीलाई
एकैपटक व्यवस्थापन गरौँ।
प्रजातन्त्र त आएकै हो
ती प्रजा थिए, अब राजा भए
गणतन्त्र आएकै हो
ती पहिले हुलमा थिए, अहिले मूलमा छन्
संघीयता आएकै हो
पहिले ती अभावमा थिए, अहिले मालामाल छन्
समाजवाद आएकै हो
पहिले हामीबीच समाजमै थिए, अहिले दरबारमा छन्
दरबार सरी घरबारमा छन्।
आऊ एउटा नयाँ सुरूआत गरौँ
राजनीतिमा श्रीमान र श्रीमतीलाई
एकैपटक व्यवस्थापन गरौँ
छोराछोरीलाई मात्र किन? भाइभतिजालाई पनि
विर्ता, सलामी, पद, पेन्सनको उपहार दिऔँ।