तिम्रो सामीप्यतासँगै
खै कस्तो-कस्तो
विचित्रको अनुभूत हुन्थ्यो
अभावभित्र पनि सम्पन्नता
दर्दभित्र पनि आनन्दता
निर्बलता भित्र पनि बलसालिता
पुष्प रसमा भुल्ने पुतलीझैँ
खुला आकाशमा उड्ने
स्वतन्त्र पक्षीझैँ
खै किन पुलकित हुन्थ्यो यो मन?
मैले बुझ्न सकिनँ सायद
हृदयको स्पन्दनलाई
मैले बुझाउन सकिनँ सायद
हृदयको स्पन्दनलाई
त्यसैले त यो प्रेम
अतृप्त रह्यो, अधुरै रह्यो।
हृदय र स्पन्दनको नाताजस्तै
हरदम, हरक्षण
हरबेला, हरप्रहर
तिम्रो मेरो सामीप्यता
कति आनन्दित थिए
ती स्वर्णिम दिनहरू
तिम्रो अँखाको गहिराईभित्र
छछल्किएका ती भावहरू
केही बोलिरहेका
केही खोजिरहेका
मौन भाषाको अनुवाद नबुझ्दा
पवित्र प्रेम अतृप्त रह्यो, अधुरै रह्यो।
तिमीले आफ्नै गोरेटो कोर्यौ
मैले आफ्नै कोरेँ
उद्देश्य बद्लियो
लक्ष्य बद्लियो
हाम्रो भाग्य र भविष्य बद्लियो
हाम्रो आस्था र विश्वास बद्लियो
हाम्रो अव्यक्त प्रेमको इतिहास बद्लियो
तर
तिमीप्रतिको अनुराग बद्लिएन
अव्यक्त प्रेम बद्लिएन
तिम्रो माया सजाएको
हृदयको सन्दूक बद्लिएन
हामी खोलाको दुई किनाराजस्तै
समानान्तर गन्तव्यका यात्रीहरू
त्यसैले त यो प्रेम
अतृप्त रह्यो, अधुरै रह्यो।
जिन्दगीको बगरभित्र
पीडाहरूको सागरभित्र
ग्रीष्ममा पात झरेका रुखजस्तै
आशा ओइलेर गए
आकाङ्क्षा झरेर गए
ओइलिएन सम्झना तिम्रो
वसन्तको सुभाषित हावाजस्तै
तिम्रो प्रेम सुभाषित छ
खै तिमी कुन रङ्गमन्चमा छौ?
जिन्दगीको खण्डहरमा
एउटा निरश यात्रा
खै कुन दिन टुट्ने हो
एक बारको जुनीमा
यो प्रेम अतृप्त रह्यो, अधुरै रह्यो।