महोदय!
मैले समाचार सुनेको
छिमेकी चन्द्रमामा पुग्यो रे
मंगलमा घर बनाउन थाल्यो रे
तिमीले नि मतपत्र छपाई
दुर्गममा पुर्याएछौ
त्यसैले
मलाई पनि तिमीजस्तै
दुर्गममा
सिटामोल पुर्याउनु थियो
पुर्याउनु थियो
भोक मेट्ने चामलका दानाहरू
हटाउनु थियो
वर्षौंदेखि
गरिबीले थिचेको पहाड
तर
मेरो झोला रित्तो छ
रित्ता छन्
मैले लेख्ने कपीका पानाहरू
रित्ता छन्
मैले देखेका सपनाका डोबहरू
अब मलाई
ती डोबहरू चम्काउनु छ
बन्नु छ कर्णधार
त्यसैले
तिम्रो मतपत्रजस्तै
महोदय! मेरो पुस्तक कहिले आउँछ?