सन्दर्भः जेठ २८, नेपालमा पहिलो विमान अपहरण भएको दिन
हामी जहाभित्र पस्दा ककपिटनेरको एउटा सिट मात्र खाली थियो, अर्कोमा एक जना मान्छे बसिसकेका थिए। हाम्रो योजनाअनुसार एउटामा वसन्त भट्टराई र अर्कोमा म बस्नुपर्ने थियो। अब के गर्ने?
म त्यो सिटमा बसिरहेका यात्रुनजिक गएँ र भनेँ, 'मलाई जहाज उडाएको हेर्न साह्रै रहर छ। तपाईं मेरो सिटमा बसिदिनुभयो भने म यहाँ बसेर हेर्न पाउँथेँ।'
उनले मेरो अनुरोध स्विकारे र सिटबाट पछाडि गए।
अब योजनामुताबिक वसन्त र म ककपिटनजिक, हाम्रा अर्का साथी नगेन्द्र ढुङ्गेल अलि पछाडि अन्य यात्रुहरूसँगै भयौं।
हामी सबैले आ–आफ्ना हतियार बोकेका थियौं। मैले मोटो ज्याकेटमुनि रिवल्भर लुकाएको थिएँ। वसन्तले ग्रिनेड लिएका थिए भने नगेन्द्रसँग मेरोजस्तै रिवल्भर थियो।
शाही नेपाल वायुसेवा निगमको त्यो सानो १९–सिटे ट्विनअटर विमान विराटनगरबाट काठमाडौं जान भनेर उड्न लाग्दै थियो। विमानमा चालक दलका तीन जना बाहेक हामी १४ जना यात्रु थियौं। पछि थाहा पाएअनुसार त्यस दिन विमानका पाइलट केदारराज मानन्धर र को–पाइलट श्रीदेव वैद्य रहेछन्।
हामी बसेको केही मिनेटमै जहाज उड्यो।
जहाज उडेको पाँच मिनेटमा म सिटबाट उठेँ र वसन्तलाई भनेँ, 'भित्र हेर्न जाने होइन?'
वसन्त पनि सिटबाट उठे।
त्यस दिन जहाजमा पुरूष परिचारक थिए। हामी ककटपिटमा छिर्न खोज्दा उनले रोक्न खोजे। वसन्त ती कर्मचारीसँग कुरा गर्दै थिए, म भित्र छिरिहालेँ र पाइलटको कुर्सीनजिकै पुगेँ। त्यतिन्जेल वसन्त पनि छिरे।
को–पाइलटले वसन्तलाई रोक्न खोज्दै थिए, मैले पाइलटको घाँटीमा पछाडिबाट एक हातले अंगालो हालेँ र अर्को हातले कन्चटमा रिवल्भरको नाल तेर्साएँ।
आफ्नो कन्च्टमा रिवल्भर तेर्साएको देखेर पाइलट बेस्सरी डराए, जुन स्वाभाविक थियो।
'के गरेको यस्तो?' उनी अत्तालिए।
उनले कन्चटमा तेर्स्याएको रिवल्भर हटाउन खोजे। को–पाइलट वैद्यलाई वसन्तले नियन्त्रणमा लिइसकेका थिए।
जहाजले भर्खरै उचाइ लिइरहेको हुनाले पाइलटको एउटा हात उडान संयन्त्रमा व्यस्त थियो।
मैले बन्दुक झन जोडले दबाएपछि उनले जहाज चलाइरहेको हात पनि हटाएर दुवै हातले रिवल्भर हटाउने प्रयास गरे। संयन्त्रमा दुवै हात नभएपछि जहाज एकाएक तल झर्न थाल्यो। उनले फेरि एउटा हात रिवल्भरबाट हटाएर संयन्त्रमा नै लगे। जहाज फेरि माथि नै उड्न थाल्यो।
मेरो रिवल्भर उनको कन्चटमै थियो। जहाज अलिमाथि नै पुगिसकेपछि उनले फेरि एकपटक 'के गरेको?' भन्दै रिवल्भर हटाउने प्रयास गरे।
त्यसै बेला कसैले पछाडिबाट मेरो कठालो समाएर जोडले तान्न खोज्यो।
अब ककपिटमा साँच्चिकै लडाइँ सुरू भएको थियो। फर्केर हेर्छु, ती त परिचारक रहेछन्। वसन्तलाई ठेलेर उनी पाइलटलाई छुटाउन आएका रहेछन्। तर एकै छिनमा वसन्तले तिनलाई कठालोमा समाएर तानिहाले।
उनको नजिकै ग्रिनेड लगेर वसन्तले भने, 'हामीले भनेको मान्ने कि यो ग्रिनेड यहीँ खोलिदिऊँ? हामी त क्रान्तिकारी हौं, मरे मर्छौं। तिम्रो बेवकुफीले तिमी र सबै यात्रुको ज्यान जान्छ। के गरौं?'
त्यसपछि बल्ल को–पाइलटले पुरूष परिचारकलाई ककपिटबाट बाहिर जान भने। उनीहरूले सञ्चारयन्त्र बन्द गरे। अब एयरपोर्टसँगको सम्बन्धविच्छेद भयो। जहाज घरि तल, घरि माथि गरिरहेको थियो।
त्यत्तिकैमा वसन्तले पाइलटले कानमा लगाएको माइक्रोफोन खोलिदिए।
यतिन्जेल मैले पाइलटलाई नियन्त्रणमा लिएको थिएँ तर केही भनेको थिइनँ। यसो बाहिर हेरेको त जहाज निकै पश्चिम पुगिसकेजस्तो लाग्यो। मैले पाइलटलाई भने, 'हामीसित हतियार छन्। हामी ज्यानको माया मारेर देशका लागि लडिरहेका क्रान्तिकारी हौं। हामीसँग लडेर न तपाईंले केही पाउनुहुन्छ, न जित्नुहुन्छ। त्यसैले हामीले भनेको मान्नुस् र यो जहाजलाई फर्काउनुहोस्।'
मेरो कुरा सुनेर पाइलट मानन्धर अलि शान्त भए। उनले काँपेको स्वरमा भने, 'तपाईंले कन्चटमा दुलो पर्ने गरी बन्दुक लगाउनुभएको छ। पहिले यो बन्दुक हटाउनुस्। तपाईंले भनेकै ठाउँमा जहाज लगिदिउँला।'
अनि बल्ल मलाई याद भयो, जोस र डरमा मैले रिवल्भरको नालले उनलाई साह्रै घोचेको रहेछु।
मैले रिवल्भर कन्चटबाट हटाएर टाउकाको पछाडिपट्टि लगाएँ।
त्यति बेलासम्म पनि जहाजका यात्रुलाई ककपिटमा के भइरहेको छ भन्ने थाहा थिएन। जहाज अस्वाभाविक तरिकाले तलमाथि गरेपछि केही गडबड छ भन्ने त लागेको हुँदो हो।
मैले पाइलटलाई जहाज उतार्ने ठाउँबारे बताएँ, 'जहाजलाई विराटनगरको दक्षिणमा भारतको फारबिसगन्जमा उतार्नुपर्छ।'
'यत्तिकै नक्सा नभई म लैजान सक्दिनँ, कहाँ कति टाढा छ, यहाँबाट हेरेर थाहा हुँदैन,' पाइलटले भने।
'विराटनगरबाट ३० किलोमिटर दक्षिण हो,' मैले भनेँ।
उनले जहाज कोसी नदीतिर मोडे।
मैले फारबिसगन्ज बजारको नक्सा कोरेको कागज उनलाई देखाएँ, 'रेल्वे स्टेसनको ठिक पूर्वपट्टि एउटा घाँसे मैदान छ। त्यसको एक छेउमा ठूलो सिमलको रूख छ। रूखको टुप्पोमा रातो झन्डा बाँधिएको छ। त्यही झन्डालाई खोज्दै हिड्नुस्।'
यति भन्दाभन्दै मैले तल हेरेँ। जहाजले एउटा सहर पार गर्न लागेको देखेँ। कुन सहर हो भनेर पत्ता लगाउन म ककपिटबाट बाहिर निस्किएर जहाजको बीचको झ्यालमा आएर हेर्न थालेँ। ककपिटबाट अगाडि त देखिन्थ्यो तर तल के छ भनेर झ्यालबाट हेर्न मिल्दैनथ्यो।
हातमा रिवल्भर लिएर म ककपिटबाट निस्किएको देखेपछि यात्रुमाझ हल्लीखल्ली भयो। सबै भयभीत र त्रस्त देखिए।
यात्रुको बीचमा रिवल्भर लिएर बसेका भए पनि नगेन्द्रले केही भनेका थिएनन्।
म ककपिटबाट रिवल्भरसहित आएको देखेपछि मानिसहरू आत्तिए। उनीहरूले हल्लाखल्ला गर्न थालेपछि नगेन्द्रले उठेर रिवल्भर देखाए। उनले सबैलाई 'राजनीतिक कारणले विमान अपहरण गरिएको, कसैलाई केही हानि नहुने' भन्दै शान्त रहन भने।
मैले झ्यालबाट जति नियाले पनि कुन सहर हो पत्ता लगाउन सकिनँ।
म फेरि ककपिटतिर फर्किदै थिएँ। एउटी युवतीले मेरो नाम लिएर रूदै गरेको सुनेँ, 'दुर्गा दाइ! के गरेको यस्तो? लौ न!'
उनी रूँदै थिइन्। मलाई चिनेकी रहिछन्। तर उनी को हुन् भनेर सोधीखोजी गर्ने फुर्सद मलाई थिएन।
म वेगले ककपिटभित्र छिरेँ र पाइलटलाई सोधेँ, 'हामी विराटनगरभन्दा कति टाढा छौं?'
'एक सय किलोमिटर दक्षिणमा उडिरहेका छौं।'
फारबिसगन्ज त जम्मा ३० किलोमिटरमा थियो। हामी धेरै टाढा पुगिसकेछौं। मनमा लाग्यो– लौ बर्बाद भयो! फारबिसगन्ज पुग्न सक्ने भइएन!
त्यस बेला पाइलटले भने, 'जहाजलाई वीरपुरतिर फर्काएर लैजाऊँ।'
उनले नक्सामा वीरपुर देखाउँदै थपे, 'वीरपुरको मैदानमा उतार्न सकिन्छ।'
उनको कुरा र आफ्नो सम्भावित असफलताले हामीलाई निकै उत्तेजित बनाएको थियो। हामी के गर्ने, कसो गर्ने भनेर यताउता गरिरहेका थियौं। ककपिटबाट बाहिर निस्किएर घरि झ्यालबाट बाहिर हेर्थें, घरि भित्र छिर्थें।
वसन्त भने ककपिटमै बसे। उनको एउटा हातमा ग्रिनेड थियो, अर्को हात त्यसको पिनमा।
हामीले भनेको नमाने जुनसुकै बेला पिन निकालिदिने धम्की दिएर उनले पाइलटलाई थर्काएपछि जहाज पूर्ण रूपमा हाम्रो नियन्त्रणमा थियो। तर कहाँ गएर अवतरण गर्ने भन्ने तय नहुँदा जहाज आकाशमा चिलजसरी निरूद्देश्य उडिरहेको थियो।
नगेन्द्रले बारम्बार यात्रुलाई धम्की दिइरहेका थिए, 'कोही उठ्यो कि गोली हान्दिन्छु। नकराईकन आफ्नो सिटमा बस्ने।'
हाम्रो उत्तेजना र हतियार देखेर जहाज, चालक र यात्रुहरूले आत्मसमर्पण गरिसकेका थिए। जहाजमा निस्तब्धता छाइसकेको थियो। कसैले एक शब्द बोल्ने हिम्मत गरेको थिएन। धेरैजसो यात्रु मूर्तिवत् थिए। कोही आँखा चिम्लिएर बसेका थियो। कोही आँखा चिम्लियो भने केही भइहाल्छ कि भनेझैं गरी ट्वाल्ल आँखा खोलेर बसेका थिए। सबैका ओठ सुकेका र अनुहार पहेँलो भइसकेका देखिन्थे।
नगेन्द्र रिवल्भरको ट्रिगरमा औंला राखेर कसैलाई ताकेजस्तो गरी उभिएका थिए। आँखा खुलै राख्नेहरूजति सबै एकाग्र भएर रिवल्भरको नाल हेरिरहेका थिए।
नगेन्द्रले जता रिवल्भर फर्काउँथे, त्यसतर्फका यात्रु रिवल्भरको नाल हेरेर काँपिरहेका हुन्थे। मेरा हातमा पनि त्यस्तै रिवल्भर भएकाले मसँग कसैले आँखा जुधाइरहेका थिएनन्।
म अत्तालिएर बाहिर–भित्र गरिरहेको यात्रुहरूलाई थाहा थियो। जहाज तल झर्ने र माथि जाने क्रम चलिरहँदा रिवल्भर बोकेको मेरो एउटा हात एक जना यात्रुको शरीरमा ठोक्किएछ। यात्रुले कम्पित स्वरमा भने, 'तपाईंको हात काँपिरहेको छ, मेरो शरीरबाट रिवल्भरको नाल हटाइदिनुपर्यो।'
उनको त्यो कम्पित आवाजले सबैको ध्यानाकर्षण भयो। यात्रुहरूले आँखा चिम्लिए पनि कान भने चनाखो राखेका रहेछन्। उनीहरूले बोल्ने मानिस र मेरो बन्दुकको नालतर्फ हेरेर केही भन्न थाले।
जहाजमा आवाज बढ्न थालेपछि म सबैलाई शान्त रहन अनुरोध गदै चालकको कोठाभित्र पसेँ।
पाइलट मेरो अनुहार नहेरिकनै भन्न थाले, 'जहाजमा अब धेरै इन्धन छैन। हामी विराटनगर पुग्न सक्छौं, के गर्ने? तपाईं जे भन्नुहुन्छ, म त्यही गर्छु।'
मैले उत्तेजित हुँदै पाइलटलाई भने, 'अब विराटनगर फर्किएर आत्मसमर्पण गर्ने कुरै छैन। हामीले निर्धारित गरेको ठाउँमा पुग्ने सिवाय अरू विकल्प सोच्दै नसोच्नुस्। जहाजलाई जसरी पनि फारबिसगन्ज पुर्याउनैपर्छ। जहाजको इन्धन सकिएछ भने हाम्रो यात्राको अन्त्य हुने नै छ।'
जहाजलाई फेरि कोसी ब्यारेजतर्फ मोड्न अनुरोध गरेँ।
त्यसपछि म ककपिटबाट फेरि बाहिर आएँ। चालक र सह–चालकहरूले हाम्रो प्रतिकार गर्ने प्रयत्न छाडेर जहाजलाई नै व्यवस्थित गरिरहेका थिए। वसन्तको हातमा सैनिकले प्रयोग गर्ने शक्त्तिशाली ३६ ग्रिनेड थियो भने नगेन्द्र र मेरो हातमा रिवल्भर देखेर पुरूष परिचारक जहाजको ढोकानेर गएर निर्जीव भई उभिएका थिए। उनी आफ्नो दुवै हातले जहाजको ढोकाको फित्ता समातेर एकोहोरो बाहिरतर्फ हेरिरहेका थिए।
केही यात्रु भने साउती स्वरमा एकआपसमा बोलेको सुनिन्थ्यो।
दस मिनेटपछि हामी फेरि कोसी ब्यारेजमाथि उडिरहेका थियौं। जहाजको बीचमा उभिएका नगेन्द्रले यात्रुलाई शान्त पार्ने प्रयास गरिरहेका थिए। म निरन्तर उनको आवाज सुनिरहेको थिएँ।
'यो अपहरणमा तपाईंहरूलाई केही हुँदैन। जहाजबाट राष्ट्र बैंकको पैसा काठमाडौंमा जम्मा गर्न लगिँदै छ। हाम्रा नेता बिपी कोइरालाले घोषणा गर्नुभएको सशस्त्र क्रान्तिका लागि हामी यो पैसा लुट्दै छौं। त्यसपछि तपाईंहरू छुट्नुहुनेछ।'
वास्तवमा त्यो नेपाली कांग्रेसको नेतृत्वमा पञ्चायती शासनविरूद्ध भइरहेको राजनीतिक विद्रोहको एउटा हिस्सा थियो। हामी सशस्त्र संघर्षको चरणमा थियौं र त्यसलाई सञ्चालन गर्न पैसा चाहिएको थियो। त्यस बेला नेपाल राष्ट्र बैकले भारू ३० लाख विराटनगरबाट काठमाडौं लैजान खोजेको थाहा पाएपछि हामी बिपी र गिरिजाप्रसाद कोइरालाको निर्देशनमा त्यो विमान अपहरण गदै थियौं।
आफूहरूको उद्देश्य बताएपछि नगेन्द्रले बैंकका कर्मचारी दिलीपजंग थापासँग विराटनगरबाट काठमाडौं राष्ट्र बैकमा जम्मा गर्न दिएको पत्र पनि मागेर लिए। उनी सुरूबाटै बैंकका ती कर्मचारीको सिटछेउ बसेका थिए।
त्यसपछि यात्रुहरू शान्त देखिए।
म ककपिटभित्र गएँ। जहाजका चालकले भन्न थाले, 'हामी ब्यारेजबाट अगाडि उड्दै छौं। यहाँ नजिक एउटा सानो मैदान छ। त्यहाँ ल्यान्ड गरेर यात्रुलाई बचाउन सकिन्छ, हामी पनि बाँच्न सक्छौं।'
उनको कुरा सुनेर मलाई झनक्क रिस उठ्यो। मैले उत्तेजित भएर भनेँ, 'तपाईंलाई बाँच्न मन छ, बचाउन मन छ भने मैले भनेको मान्नुस्। किन यहाँ र त्यहाँ भनेर मेरो ध्यान भाँड्न खोज्नुहुन्छ?'
म पाइलटनजिकै उभिएकै थिएँ। बाहिर हेर्दा जहाज त कोसी पश्चिमको एउटा सानो सहरमाथि पुगेको देखियो। मैले पाइलटको कठालो समातेँ, 'किन अगाडि बढेको?'
उनले मलीन स्वरमा भने, 'जहाज आकाशमा उडिरहने वस्तु हो। बसजस्तो एक ठाउँमा रोक्न सकिँदैन। ल म फेरि उतै फर्काउँदै छु, तपाईं जे भन्नुहुन्छ, त्यही गर्छु।'
त्यसपछि म फेरि ककपिटबाहिर निस्किएँ। हाम्रो तनाव बढिरहेको थियो। पाइलटले पहिले नै इन्धन धेरै छैन भनिसकेका थिए। उत्रिनुपर्ने ठाउँ कहाँ हो पतै लगाउन सकिएको छैन। जहाजमा निर्दोष मानिस छन्। हामीले यिनको जीवनसँग खेलवाड गरिरहेका छौं भन्ने लाग्न थालिसकेको थियो।
जहाज पुलमाथि उडिरहेको थियो। कसोकसो बाहिर हेर्दा मैले पुलनजिकैबाट रेलको लिक पूर्वतिर गएको देखेँ। मलाई झट्ट याद आयो, यो लिक त फारबिसगन्ज जान्छ!
म एकदमै खुसी हुँदै चालकको कोठामा पसेँ र भनेँ, 'अब फारबिसगन्ज पत्ता लगाउन सकिन्छ। तपाईं जहाजलाई तल देखिएको रेलको लिक माथि–माथि उडाउनुस्। त्यो गएर फारबिसगन्जको रेल स्टेसन पुग्छ। त्यहीँबाट हामी उत्रने मैदान पनि देखिनेछ।'
यति भनेर म चालकककै कुर्सीको डन्डीमा बस्न खोजेँ तर बस्नै सकिनँ। मेरो खुट्टा एकदमै शून्य भइसकेका थिए। बस्न खोज्दा घुँडा नै दोब्रिएन। खुट्टा नदोबारी म त्यहीँ अडिएँ। जब उठ्न खोजेँ, उठ्नै सकिनँ।
मर्ने डरले बाँच्ने उपाय सोच्न एकाग्र हुँदा मान्छेका अन्य अंगलाई मस्तिष्कले अरू आदेश दिँदो रहेनछ।
त्यसै बेला मलाई कसैले पक्रिन खोजेको भए ममा प्रतिकार गर्ने शक्ति थिएन। दायाँ हातको रिवल्भरलाई औंलाले यसरी पक्डिएको थियो कि मुठ्ठी खोल्नै सकिरहेको थिइनँ। रिवल्भरको लिभर दबाउन परेको भए चल्ने अवस्था थिएन। लामो समयदेखि दायाँ हातले समातेको हतियार बायाँ हातमा लिन खोज्दा मुठ्ठी खुलिरहेको थिएन। देब्रे हातको बलले औंला खोलेर रिवल्भर निकाल्नुपरेको थियो।
चालकले जहाजलाई निकै तलबाट उडाइरहेका थिए। पाँच मिनेटपछि नै फारबिसगन्ज स्टेसनको पूर्वमा रहेको मैदानमाथि जहाज पुग्यो। मैदान छेउको ठूलो सिमलको रूखको टुप्पामा रातो कपडा पनि देखियो। मैले पाइलटलाई भनेँ, 'यो जहाज पनि सानै छ, यहीँ उतार्नुपर्छ।'
चालकले मतिर फर्केर हेर्दै भने, 'एक राउन्ड लगाएर लोकेसन हेर्नुपर्छ। म जसरी पनि उतार्ने प्रयास गर्छु।'
उनले जहाज घुमाउन थाले। जहाज घुमाउँदा घुमाउँदै क्याप्टेनले सोधे, 'के हो तलका मान्छेका हातमा पनि ग्रिनेड देखिन्छ। कृपया जहाज खाली गरेर मात्र एक्सन गर्नुहोला।'
उनको बोली नसक्दै मैले तत्कालै भनेँ, 'हामी उत्रिएर सामान राखेको ठाउँबाट राष्ट्र बैकको बाकस निकालेपछि तपाईंले जहाज तुरून्तै उडाउनुपर्छ। जहाजलाई नोक्सान पुर्याउने हाम्रो योजना छैन। सबै यात्रु लिएर विराटनगर फर्किने मानसिकता बनाउनुहोस्।'
जहाजको चक्का झारेर चालकले उत्रने तयारी गरे।
जहाजले मैदानको बीचमा जमिन छोएको आवाज आयो। मैदान उत्तर–दक्षिण फैलिएको थियो। उत्तरतिरको अन्तिम सीमामा पुर्याएर चालकले जहाज रोके। जहाज रोकिएपछि यात्रुहरू उठ्न खोजे। तर नगेन्द्रले रिवल्भर माथि उचालेर कसैलाई पनि सिटबाट नउठ्न चेतावनी दिएपछि सबै बसे।
नगेन्द्र र वसन्त हातमा हतियार लिँदै जहाजबाट ओर्लिन गेटमा पुगे। अघि मलाई समात्न झम्टने जहाजका कर्मचारीले नै ढोका खोलिदिए।
मैले चालकलाई फेरि भनेँ, 'जहाजको इन्जिन चालू राख्नुहोस् र तलका साथीले सामान निकालेपछि तपाईंलाई जहाज उडाउने इसारा गर्नेछन्। अटेर गर्नुभयो भने उनीहरूले जे पनि कारबाही गर्न सक्छन्।'
पाइलटलाई यति भनेर म जहाजबाट झर्न ढोकातिर गएँ। म ढोकाको सिँढीमा पुग्दा जहाजका यात्रु एकै स्वरमा कराए, 'अब हाम्रो के हुन्छ? हामी पनि यहीँ झर्छौं।'
मैले सम्झाउँदै भनेँ, 'पाइलटसँग हाम्रो कुरा भइसकेको छ। तपाईंहरूलाई केही हुँदैन। यो जहाज अब यहाँबाट विराटनगर नै फर्किन्छ। तपाईंहरू सकुशल पुग्नुहन्छ। बरू बाहिर निस्किन खोज्नुभयो भने बाहिर भएका हाम्रा साथीले कारबाही गर्न सक्छन्।'
यति भनेपछि कोही निस्किन खोजेनन्।
मैले फेरि भनेँ, 'हाम्रो उद्देश्य तपाईंहरूलाई बन्धक बनाउने र खतरामा पार्ने कदापि होइन।'
म सिँढी झर्न थालेँ। केही यात्रु उठेर फेरि कराए, 'आकाशमा उडिरहँदा हामीलाई बाँच्ने आशा थिएन। अब जहाज जमिनमा छ, हामीलाई बचाउनुस्।'
उनीहरूले यसो भनिरहँदा म जहाजबाट निस्किसकेको थिएँ। त्यहाँ पहिल्यैदेखि अरू साथीहरू हामीलाई पर्खेर बसेका थिए।
जहाज अवतरण गर्नासाथ उनीहरूले राष्ट्र बैंकका सिलबन्द तीनवटा बाकस झिकेर जिपमा राखे जसमा भारू ३० लाख थियो।
मैले कर्मचारीलाई ढोका बन्द गर्न इसारा गर्दागदै उनले ढोका लगाइहाले। विराटनगरबाट बिहान ८:१५ मा उडेको जहाज आकाशमा धेरै बेर रूमल्लिँदै ८:४५ मा मात्र फारबिसगन्जमा उत्रिएको थियो। सिधा नाप्ने हो भने विराटनगरबाट फरबिसगन्जको दुरी जम्मा ३० किलोमिटर हो। तर नक्सा नभएर आकाशमा रुमल्लिँदा हामीलाई ३० मिनेट लागेको थियो।
जहाजबाहिर अगाडिपट्टि विनोद अर्याल उभिएका थिए। उनको हातमा ग्रिनेड थियो। उनले इसारा गरेपछि जहाज उड्न फारबिसगन्जको घाँसे मैदानमा गुड्न थाल्यो र छिनभरमा आकाशमा पुग्यो। त्यहाँबाट उत्तरतिरको दिशा पक्डेर आकाशमा कतै बिलायो।
हामी भने घाँसे मैदानमा तैनाथ गरिएका जिप चढेर फारबिसगन्जबाट टाढा अररियातिर लाग्यौं।
तीस मिनेटको त्यो दुस्साहसले एउटा नयाँ इतिहास रचिसकेको थियो।
(नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा एवं पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीका पति दुर्गा सुवेदीको पुस्तक 'विमान विद्रोह' को सम्पादित अंश। यो पुस्तक किताब पब्लिसर्सले प्रकाशन गरेको हो।)
यो पनि