सायद तिमी हराएको भए, जसरी पनि भेट्टाउँथें होला तर तिमी आफैं लुकेको थियौ।
तिमीले नचाहेर तिमीलाई कसैले भेट्न नसक्ने गरी लुक्यौ।
म यो घरैघर भएको सहरमा जहिले पाइला टेक्छु हजारौंको भिडमा पनि मेरा आँखाले तिमीलाई नै नियालेर खोजिरहेको हुन्छ। कतै तिमी देखि पो हाल्छौ कि!
काठमाडौंले मलाई धेरै पटक रूवाएको छ तर खुसी पनि अनगिन्ती नै दिएको छ।
म हरेक पटक काठमाडौं आउँदा खुसीका पलहरूभन्दा बढी दु:खका पलहरू याद गर्ने गर्छु।
कुनै समय मेरा लागि यो सहर यति आत्मीय थियो। म हरेक पल यो सहरको एउटा कुनामा रहेको प्रिय मान्छेसँग एकदिन पनि कुरा नगरी बस्नै सक्दिनँ थिएँ।
यो प्रक्रिया धेरै लामो समयसम्म चलेको थियो।
करिब दुई वर्ष हाम्रो कुनै पनि दिन यस्तो थिएन कि जुन दिन हामी कुरा नगरेको होस्।
मैले जीवनमा कसैको लागि सबभन्दा धेरै समय खर्च गरेको छु भने सायद त्यही हो।
हामी आवश्यकताभन्दा पनि बढी बोल्थ्यौं जस्तो पनि लाग्छ।
हामीबीच असमानताहरू धेरै थिए। न हाम्रो वर्ग समान थियो, न हाम्रो जात। तर पनि मैले उसलाई पाउनको लागि गर्न सक्ने प्रयास मैले नगरेको होइन।
हामी एक हुन दुबै जनाले प्रयास गरेको भए त किन सम्भव हुँदैन थियो होला र!
तर उसको शून्य सहयोगमा पनि मैले आफ्नो लाखौं कोसिस गरेको याद सधैं आइरहन्छ।
म उसलाई कुनै दोष अथवा कुनै आरोप लगाउन चाहँदैन। ऊ आफ्नो ठाउँमा सधैं सही नै थिई।
उसले जानेको गरिसकेको गरी मेरा लागि उसँगको त्यो दुई वर्ष पनि यो जिन्दगी भरको सम्झना काफी छ।
मान्छेको जात स्वार्थी हुन्छ भन्छन् आफूले चाहेको कुनै चिज पाएन भने सधैं त्योप्रति नकारात्मक भइरहन्छन् तर त्यस्तो गर्दिनँ।
बरू म उसलाई धन्यवाद दिन चाहन्छु। उसले गर्दा नै मैले बाँकी जीवन अझै नजिकबाट बुझ्न पाएँ। उसँगको मेरो क्षणिक साथ पनि एउटा पूरै जिन्दगीभन्दा कम कहाँ थियो र!
एउटा सामान्य मान्छेले आफ्नो जीवनकालमा पाउने सुख, दु:ख, आँसु, खुसी सबथोक मैले उबाट पाइसकेको छु किन मलाई फेरि ऊ चाहियो र?
उसँगै रोएका पलहरू सधैं ताजै भइरहन्छन्। उसँगै हाँसेका पलहरू पनि सधैं ताजै भइरहन्छन्।
अब मलाई कुनै त्यस्तो पल चाहिएको छैन उबाट जुन उसले मलाई नदिएको होस्।
मनमा जति पीडा भए पनि हाँस्न उसले सिकाएको हो। एक्लै भए पनि खुसी भएर बाँच्न उसैले सिकाएको हो।
म विचलित किन हुनु! कहिल्यै हुँदैन। बरू मैले ऊ सँगसँगै देखिएका सपनाहरू एक्लै भए पनि पूरा गर्नेछु।
भूगोलको हिसाबले अहिले ऊ टाढा भए पनि मेरो मनबाट ऊ कहिल्यै टाढाको भएकी छैन।
मेरो जीवनमा मैले सबभन्दा धेरै विश्वास गरेको मान्छे ऊ नै हो।
मलाई अझैसम्म पनि के विश्वास छ भने ऊ जहाँ भए पनि जोसँग भए पनि उसले मलाई कहिल्यै बिर्सने छैन।
उसले भनेकै शब्दमा भन्नुपर्दा मैले दु:खमा साथ दिएकाहरूलाई कहिले बिर्सने छैन।
मलाई लाग्छ मैले जति साथ र सहयोग उलाई अरु कसैले गरेको छैन होला।
यो भनिरहँदा आफूले आफैंलाई ठूलो बनाएकोजस्तो देखिएला तर सत्य कहिले लुक्दैन।
मैले नगरेको काम गरेको भनेको छैन गरेको काम भन्नलाई के अप्ठ्यारो मान्नू!
मान्छेले हामीलाई धेरै सम्झिने भनेको अप्ठ्यारो परिस्थितिमा मात्रै होजस्तो लाग्छ।
धेरै लामो समय भयो उसले मलाई नसम्झिँदा यस्तो लाग्छ-अहिले ऊ अप्ठ्यारो परिस्थितिमा छैन होली।
सबै स्थितिहरू सहज बनाउनु छ भन्ने गर्थ्यी सायद स्थिति सहज भए होलान् र नै सम्झनै छोडी।
उसका आगामी दिनहरू अझै धेरै सहज होस्। मसँगै देखेका सपनाहरू भए पनि अरू कसैसँग पूरा गरोस्। म उसलाई केही सल्लाह दिन चाहन्छु।
यो लेख कतैबाट तिमीले पढ्यौ भने मनन गर्नु तिम्रा ठूला ठूला सपनाहरू चाँडै पूरा होस्।
तिमीमा सामान्य मान्छेहरू भन्दा अलि फरक किसिमका क्षमताहरू छन् पहिचान गरेर सही सदुपयोग गर्नू।
मैले आफूसँग भएको हरेक चिज तिमीसँग बाँडेको थिएँ। अझैसम्म पनि तिमीलाई कुनै चिजको आवश्यकता पर्छ भने निर्धक्क भएर माग्नू।
मसँग भएका तिम्रा सामानहरू र तिमीसँग भएका मेरा सामानहरू सधैं जतन गरेरै राखौं यसले पनि छुट्टै आनन्द दिँदोरहेछ।
तिमीसँगै नभए पनि सँगै भएको आभाष यिनैले दिँदा रहेछन्।
तिमीले पनि कहिल्यै नजलाउनु, कहिल्यै नच्यात्नु, कहिल्यै नफोड्नु अनि कहिले नसोच्नु फिर्ता गर्नुपर्छ भनेर।
यसलाई हामीले सजाएरै राख्नुपर्छ जिन्दगीभर मनले चाहेको मान्छे आफूसँग भएन त के भयो कमसेकम उसले दिएका कुनै चिज त मसँगै छ नि! गल्तीले नै हामीलाई अर्को गल्ती गर्नबाट बचाउने गर्छ।
सिक्दै सिकाउँदै जिन्दगी सरल र सहज बनाउँदै लैजानु आफूले आफैंलाई सम्हाल्न धेरै पहिले सिकिसकेको छौं।
अब कहिल्यै विचलित नभएर निडर र हिम्मत राखेर निरन्तर अगाडि बढिरहनु लाखौं करोडौं शुभकामना।
तिमी भने मौनतामै हरायौ म अझै शब्द-शब्दबाट तिमीलाई सम्झिरहेको छु।
प्रिय सिनोट्रियल नोड!