हलुङ्गो, अझ हलुङ्गो उड्दै पुग्न जहाँ लायो
सुस्त समीरको सामीप्यमा सुखमय पायो
आएका थिए ती किरण मलिन हुँदै यस धर्तीमा
मन्द स्पर्शका साथ भरी अथाह स्फुर्ती मनको प्रकृतिमा
दिशाहीन चालमा बहकिन उड्दै, उड्दै गयो
एक निमेषलाई आनन्दको ज्वारभाटा उत्पन्न भयो
पारि, पारि क्षितिजको काखैमा जब बस्यो
नयाँ संसारको चित्र लोचनका गहिराइमै पस्यो
त्यो व्योम आडेसमै तैरिएका बादलका टुक्रा
भुलाइ पीडा पारिदिए मनका वेदनालाई टुक्रा अनि चुक्रा
स्वतन्त्रताको पराकाष्ठा लाग्छ यसमै भेटियो
छोडी त्यो तलको दुनियाँ, उमंगको गहिरो तृष्णा मेटियो
अन्ततः माथिको उचाइबाट ओर्ली तल झर्यो
पुरानै त्यो वातावरणमा केहीबेर अलमल पर्यो
सोच्छ यो मन सबैतिर भइदियोस् एकनास शान्त
रमाउन पाओस् यसले भई सधैँभरि एकान्त।