पहिलो पटक तिमीहरूलाई देख्दा
र अहिले हामीहरू बारे लेख्दा
मेरो मनमा उठेका सम्झनाका तरङ्गहरू
अहिले भवनाको कलममा दौडिँदैछन्।
ए साथी,
कक्षामा हल्ला गरे पनि
यो पढ्दा चाहिँ हल्ला नगर है
सुन
अनि तिम्रा भावनालाई मित्रताको डोरीमा बुन।
ए उषा!
बोटनी सरले
हल्ला गर्नुभन्दा जाओ बसपार्कतिर भारी बोक्न भन्दा
अनि हामीले नपढेपछि जुलोजी सरले
भिरपाखा केलाई?
तिमीहरू गुल्टेर मार्नलाई
सुन है पृथ्वीका भार हो
भन्दा
कतिबेला पिरियड जाला र हाँस्न पाइएला
भन्दै मिनेट गन्दाको
पल याद छ नि है!
त्योबेला भ्यागुता चिर्दा
फर्मालिनको गन्ध फोक्सोभित्र छिर्दा
त्यसको असरले
खाजै नखाई बस्दा
पेटमा परेको असरको याद आयो कि नाई साथी?
जनावर कलेक्सन गर्न जाँदा
कालीगण्डकी तीरमा बसी खाजा खाँदा
कालीगण्डकीझैँ मनमा बगेका
प्रेमील गफका बोतलहरू
उघारेको
अनि गफ गर्दागर्दै प्रेम लागेको याद छ नि है साथी!
ओए स्वस्तिका!
ब्रेक टाइम सकिएपछि पनि
बम ब्लास्ट र चुङ्गी खेलेपछि
ढिला गरी गुरुरु कक्षामा छिर्दा
मनोज सरले पछाडिबाट
लठ्ठीले घोचेको
अनि
म्याथ सरको पिरियडमा सुनाएका
कथाहरू
लेख्यौ त?
कि खायौ वाइल्ड पारामा लुम्लेको पिकनिकमा झैँ
वा पिकनिकमा नाचगानका पलहरू
कि सुकायौ हरबेरियमहरूलाई झैँ
कागजका बीचमा साथी?
सुनन साथी
ट्युसन पढ्न जाँदा
फिल्म हल छेउमा
कुकुरले टोक्न लाग्दा
अनि मलाई सदाझैँ वुद्ध चोकमा
लिन आउँदा
लाग्थ्यो
बुद्धले झैँ तिमीहरूले मेरो लागि दिएको सुरक्षा
अझै पनि ताजै छ।
ए आकृति!
बिर्सिस् कि क्या हो
नाकाबन्दीमा गाडीको छतमा बस्दै कलंकी पुगेको
चोभारमा बाँदरले तर्साएको
सुन्दरवस्तीमा बिराएको पाँच मिनेटको बाटो
अस्मिताको बिहेको नाइट यात्रा।
बोटनी र जुलोजीका चित्र बनाउन
होमवर्क र नोट गर्न सघाउने
मेरा प्यारा मित्रहरू
थिएन नि हामीबीच कुनै
रिस, राग र घमण्ड
त्यसैले त टिक्यो
नि है हाम्रो मित्रताको खम्बा।
ए साथी हो,
नाम नपरे पनि नरिसाऊ
बरू लेख्न थाल
आफ्ना अनुभवहरू
जसले सुख र दुःखका बर्गर
बीच राखिने रेसिपीको काम गर्ला
जसले राख्नेछ पुरै बर्गरको नाम
जस्तै चिज बर्गर
त्यसरी नै रहने छ हाम्रो जीवनभरि साथीरूपी बर्गरको नाम
हैन त साथीहरू?