मौसुफ तिम्रो दरबारमा
भोकले बेचैन एउटी विधवा
मृत शिशु छातीमा टाँसेर
आशाको ब्रह्माण्ड बोकी
चिसा अञ्जुली हजुरको शरणमा अटुट थापिरहेछन्।
तिम्रो सहरका गल्ली-गल्ली
मन्दिर अनि देवलमा
फोहोरका पोका र थैलाकै गुच्छा चढाउँदा
विचरा जनका फोक्साले सास तान्न नसक्दा
सहरले लासको बिस्कुन सुकाएको छ।
यो मानवता रित्तिएको युग
इतिहासका पानामा पोतिएका काला दिन
दरिद्र आमा
धुजा-धुजा पेटिकोटले टालेको तिम्रो शरीर
पारि क्षितिजबाट...
घाटका चिता र चिहान हेरिरहन्छिन्।
ऊ जिउँदाको जन्ती
मर्दाको मलामी थियो
उराठ वस्तीमा सिक्रीझैँ गाँसिएर बस्दा पनि
दम्भले निर्दोष छिमेकी नै कुल्चिँदा
पाउमा दण्डको भेटी चढाउँदै
इन्साफले पटक-पटक निर्धाकै टाङमुनि छिरेको देख्दा
लज्जा र हिनताभित्र
तिम्रो नयनमा सिसाको पर्दा
हेक्का राख महामहिम!
साढे दरबार छिर्दैमा राजा हुँदैन
बरु दरबार गोठ बनाएको मैले देखेको छु।