सदाझैँ सबेरै उठेर चराहरू आकाशमुनि उड्दै, चिरबिर गर्दैछन्। टोले कुकुर टाइगर जस्केलामाथि सुतेर बसेको छ। ओस्सिएका आँगन, गुन्द्री, भित्तो, सुर्को, कान्लो, पात-पतिङ्गर, च्यादर इत्यादीमा घाम परेर बाफ उड्दै छ। बाफ बताससँग मिसिँदै-चिस्सिँदै छ।
भ्याई-नभ्याई छ! हतारो कसैलाई छैन तर सबै बेफुर्सदिला! पात गाँस्न, हारमा माला गाँस्न, चुलाचौकाको काम, पूजापाठ, सामल, झुसे, तिहुन काट्ने केलाउने इत्यादिमा व्यस्त छन्। पाहुनाका बच्चाबच्ची र गाउँका एक हुल केटाकेटी जम्मा भएर खेल्दै छन्। अलि ठूला केटाहरू मोबाइल चलाउँदै छन्। आँगनमा खैलाबैला छ।
भान्साको पूर्वी कुनामा ओछ्याइएको गद्दामाथि गजधम्म अडेस लागेर बसेका तीन वटा भगवानहरूको छेउमा आलुको गेडोभित्र घोचेर सिन्के अगरबत्तीले मस्त धुवाँ उडाइरहेको छ। भन्साबाट उम्केर आँगनभरि छरिएको पाहुनालगायत टोलेहरूको नाक-नाकसम्म मायावी धुवाँ घुम्दै छ। दम भएकाहरू फोक्सो सुकुन्जेल खोक्दै छन्।
आँटामाथि, आँगनमा बसेका एक हुल अधबैँसेहरू हाच्छ्यूँ गर्दैछन्। नाँकको डाँडीमा सुक्क बल पारेर भित्र तान्दै छन्। ख्वाक्क खकार आँगनको डिल ताकेर थुक्दै छन्। रसाएको नाक मजेत्रोले पुछदै छन्। नाङ्लो नचाउँदै लाभा निफन्दै छन्।
'मलाई यो अगरबत्तीको गन्धले पेट हुँडल्छ,' पर ढोकाको छेउबाट धोद्रो आवाज आयो।
'आ, मलाई त यो नाथे सिन्के धुप निको लाग्दैन… बरु कपुरको वासना जाति,' डकमाईले फूल च्यातेर टपरीमा राख्दै भनिन्।
हप्तादिन भयो दिनरात यसरी नै चहलपहलबीच भलाकुसरी, कानेखुसी, ठट्टा भ्याई-नभ्याई चलेको। हवन गर्न साइत कुरेर बाहुन पात्रो पल्टाउँदै छन्। व्यस्त छन्। बरु चिया कुन बेला ल्याउलान् भनेर घित्रो तानेर ढोकातिर आँखा तन्काउँदै छन्।
'खै, हिजोअस्ति त यति बेलासम्म धमिलो चिया ल्याइसक्थे हैन! को पस्यो आज चुल्होमा? उसीउसी गर्दागर्दै भातमै टार्न बेर छैन। चौलानीजस्तो चियाले भए पनि कुल्ला गरेर घाँटी भिजाउनु हुन्थ्यो,' मधुरो आवाज सुनिन्छ।
'सुनिने गरी भन न! त्यसै-त्यसै के भुटभुटाउँछौ है बहिदार्नी?'
'…नहुने कुरा गर्या हैन। बिहान २ कप ता जस्का घराँ' नि खान्छन्। मलाई नि तलतल लागिसक्यो,' डकमाईले भनिन्।
'ए दिदी! खान मन त मलाई नि लाइछ नि। म त यिन्का चुलाँ' पसौँ भने पनि केही भेट्दिनँ। चिब्रिक्-चिब्रिक् बिरालाले आची लुकाए जसरी पोका र पन्तेरा यतै छन्, उतै छन्। साँच्चै भन्नुपर्दा म त छक्क पर्छु।
अर्काआऽऽ खटनमा बसेपछि जतिबेला मन लागे ल्याउलान् नि! आ हुन्दिनु। दिए खाम्ला, नदिए आजको सट्टा थपेर भोलि खाम्ला,' आड पाएपछि बहिदार्नी छट्टाइन्।
सबै गलल हाँस्छन्।
'बाउछोरीको मारामार चलेको छ। यिनलाई छोरी दिन पटक्कै मन छैन!' चुलेसी सर्याक-सर्याक पार्दै इस्कुसको बोक्रा ताछिन्। चिनिमायाले छेउमा बसेकी डकमाईलाई पाखुराले यस्सो हुत्याउँदै मसिनो आवाजमा कानेखुसी गरिन्।
डकमाईले चिनिमायातिर हेर्दै धारे हात लगाइन्। नबोल्न हातले इसारा गरिन्। ओठ लेपार्दै पानीमा इस्कुसको चोप पखालिन्।
'जताको भए पनि केटो सज्जन छ, पालिहाल्छ। गाउँका त काजी नै रै'छन्। हिङ नभए नि हिङ बाँधेको टालो हो। माओवादीले खेदेर पो यहाँ आएर घर मात्र भो त। चार आनै भए नि बस्ने बास भएसी के खोजेका हुन खुमे दाजुले!' चिनिमायाले झन् ठूलो आवाजमा सबैले सुन्ने गरी भनिन्। बल पारेर इस्कुसलाई दुई फप्लेटा पारिन्। इस्कुसको गुदी सकेसम्म जोगाउन खोजिन्। गुदीलाई आरीमा छुट्याइन्।
'सोलमारे जतिबेला पनि धोकेको छ। लसताको पोई पनि गतिलो हुनुपर्यो नि। सम्पत्ति जति त्यही जाँडले सक्न लाइसक्यो। होसमा भए पो सद्य कुरा गर्नु! खाली बाङ्गो-बाङ्गो कुरा बाहेक केही गर्न जानेको भए पो? (ख्वाक्क सुख्खा खोक्छिन्।)
केटाकेटीको सप्पै मिल्छ। पस्की-निस्की पहिलेदेखि नै थियो रे त! त्यसै-त्यसै अन्खोट्याई मात्रै हो।
चार आनेलाई छोरी दिन्नँ भनेर पाखुरा सुर्काएर के गर्नु, काँठे नै खोजेर छोरी दिने यिनको ल्याकत छ त? लु हो कि हैन तपाईं आफै भन्नुस् त!,' चिनिमायाले सोधिन्।
बहिदार्नी मसिनो आवाजमा थप्छिन्, 'यसको पनि कर्म कस्तो छ कुन्नी? बाउसँग उत्पातै जिद्दी गरेर केटोलाई नछाड्ने भएपछि बिहे गरेर दिन लागे।'
पल्याक-पुल्युक मुखामुख गर्छन्।
घरमुनि बाटोमा मोटरसाइकल राखेर कुबेर टुप्लुक्क आँगनमा देखा पर्छ। एकाएक सबै चुपचाप कुबेरतिर हेर्छन्। ऊ हाँक्किँदै सरासर एक वचन नबोली घरभित्र पस्छ।
'यो कुसेत्रो कति गन्हाको नि!,' कुबेरले लगाएको छालाको ज्याकेटतिर इङ्गित गर्दै चिनिमायाले नाक खुम्च्याँउदै पिच्च थुक्दै भनिन्।
'खै के भिर्न मन लगेको हो गोरुको छाला, मलाई त पटक्कै मन पर्दैन,' डकमाईले भनिन्।
'हैन को रै'छ यो? त्यसै-त्यसै गजधम्म गम्केर गयो।'
यताउता नहेरी-नबोली खुरुखुरु घरभित्र पस्नाले चासो पर्यो। नचिनेकाले खुसुखुसु साउती मारे। ज्याकेटको गन्धले जो कोही कुबेरको छेउ पर्दा नाक थुन्थे।
'झ्याल थुनेर के अन्धमुस्टी बनाएर बसेको दिदी? न त बत्ती बालेको छ!,' कुबेर गुन्द्री टेक्दै टुप्लुक्क भान्सामा पस्छ।
लसता सुँक्क-सुँक्क गर्दै लामो चिर्पटले टेको दिएर बन्द गरेको झ्याल खोल्छिन्।
'किन बिहानैदेखि रोएको? फेरि के भयो? खै त भिनाजु?,' पञ्जाको बटम फुस्कायो। आलोपालो पञ्जाको टुप्पो तान्यो।
'भिनाजु अझै त्यो चार आनेलाई छोरी दिन्न भन्दै नारी सुर्काउँदै छन्। जे सुकै गर भनेर मसँग घोक्रो फुलाएर बसेका छन्।'
'खुइयऽऽ' गर्दै त्यही पञ्जा ढोकातिर ठटायो। मनमनै दिक्क मान्यो।
'यति बिहे सक्न पाए म त देवघाट गएर बस्छु। दिनदिनैको यिनको रडाको सुन्नु त पर्दैन।'
'जानुभएको चाहिँ कहाँ? केही थाहा छ?' कुबेरले सोध्यो।
'मारामार छ काम, खै कता मुन्टेका हुन्! यो बिहे हुँदैन भन्दै बिहानै मसँग निहुँ खोजेर निस्केका अझै आइपुगेका छैनन्। तिनलाई बाँसमै हालेर ल्याउनु पर्ने बेला भयो। धोक्न पाएपछि घर परिवारको कहिल्यै वास्ता छैन तेरो भिनाजुको, के कुरा गर्नु,' लसताले रुँदै गुनासो सुनाइन्।
'अनि भान्जी?'
झर्को मान्दै 'ब्युटी पार्लर! खै के हो! बिहे आउन १५ दिन अगाडिदेखि नै चटक थ्यो। ३५ हजारको रे! म त जे-जे धसे पनि उस्तै देख्छु, खै! यसले पनि मेरो मासु खाकी छे।'
कुबेरले कुनै प्रतिकृया जनाएन।
लसतालाई त्यसै पनि एकदिनको लागि गरेको मेकअपको ३५ हजार पर्छ भन्ने सुनेर भाउन्न ज्वरो आएको थियो।
'आँखातिर काँक्रो दल्न ३५ हजार?' अझै मुर्मुरिँदै थिइन्।
'घाँटी हेरेर पो हाड निल्नु पर्छ। घुम्टोले ढाक्ने मुखलाई पनि केको पाउडर घस्नु? हाम्रा पालामा अंगार तेलमा मिचेर बनाइन्थ्यो। संसारकै बिहे त्यसरी हुन्थ्यो,' के गर्न लागेको नै बिर्सिइन्। यो सबै कुबेरले मुकदर्शक बनेर कुनै प्रतिकृया नजनाई अवाक सुन्यो, उभिरह्यो।
तलामाथि बोलेको आँगनमा सुने। बहिदार्नी आँखा झिमिक्क पार्दै सोही हात झटपट ओठमा लग्छिन्। चुप लाग्न इसारा गर्छिन्। सबैको कान ठाडो हुन्छ। चिरिक्क चरकुले आवाज आँगनमा प्रष्ट सुनियो।
'गौँडामा पूर्वतिरका मान्छेले घर बनाएका छन्। तिनकै छोरीले यो आँखाका भुत्ला ता ए है सिनित्तऽऽ बसीलाले काठ ताछेजस्तै। के कुरा गर्नु र, सिपालु छे। दुई/तीन सय दियो भने त्यसले पनि गर्देली,' काकीले इस्कुस र आलु चिनीमाया अगाडि भएको डेक्ची दुई हातले सकी-नसकी उचाल्दै भनिन्।
आ-आफ्नो प्रतिक्रिया राख्ने क्रम जारी थियो।
'हाम्रै पँडुले पनि गर्छे है। खै के हो चैँ म जान्दिनँ। पिँडुलाकाऽऽ हातका पु..उ..रै, पूरै… भुत्ला ता' अण्डा ताछेजस्तै सिनित्त पार्छे,' डकमाईले देखेकै जसरी लेग्रो तान्दै कम्मर कन्याउँदै भनिन्।
कन्याएको औँलाका टुप्पा एकै मुजा पारेर नाकमुनि लगेर सुँघिन्। एउटा औँला नाकको पोराभित्र छिराइन्। मुख बङ्ग्याउँदै औँला घुमाइन्। यो दृश्यमा चिनीमायाको नजर पर्यो, देखेलगत्तै पिच्च अलि पर पुग्ने बल लगाएर थुकिन्।
'बेउ'लाले ल्याइहाल्छ नि। स्वयम्बर सकिएपछि त उतैबाट ल्या'को लाली पाउडरले काम चलाए भै'गो नि! बेकार केलाई फजुल खर्च गर्ने?' चिनीमायाले भनिन्।
'यिनले ठिक कुरा गरिन्। केटाकेटी दुवैले बिहे नगरी नछाड्ने भनेर सेरो परेपछि बेकाराँ' केलाई त्यत्रो खर्च गर्नू। कुटुम्ब रिसाउलान् छैन। केटालाई जम्मै थाहा छँदै छ घरको स्थिति,' सुँडो पसारेर बैदार्नी तर्क राख्दै थिइन्।
'ए दिदी, के कुरा गर्नु भाको (साउती गरेजसो गर्दै चोटातिर आँखा लगाउँदै)? जे सुकै गर्, तेरो बाउले कमाएर ल्याएको छँदै छ भनेर आमाछोरीको बसीखानु थेन, अरेका कुरा है यो,' मुखाकृत बिगार्दै चिनिमायाले भनिन्।
सुनेर कसैले जिब्रो टोके। कसैले सुने मात्रै तर प्रतिक्रिया भने जनाएनन्।
'आजकलका केटाकेटीसँग बोल्नै सकिन्न।'
निधार खुम्च्याउँदै कुबेरले सोचे, '३५ हजार? के अचम्म हो। सर्जरी नै गर्न लागिन् क्या हो भान्जीले? १० वटा सारी किन्ने पैसा सकिछिन्।
'म चेक लिन मात्र पसेको,' कुबेर कुरा छोट्याएर निक्लिन हेलमेट नै लगाएर उभिएको थियो।
'चेकबुक यहाँ छ,' लसताले भनिन्।
'सबै पैसा निकाल्नु पर्यो! बिहेमा थोरैले पुग्दैन। अन्त पनि माग्या छौ?' कुबेरले चेकको सबै पन्ना पल्टाउँदै सोध्यो।
'यो अर्को पन्नामा पनि सही गर्दी राख त। कुनैबेला बैंकका कर्मचारीले कस्तो दु:ख दिन्छन्,' कुबेरले सही भएको चेकबुकको पन्ना दोबार्दै च्यात्यो। चेकबुकको पन्ना पल्टायो। लसताको अगाडि राखिदियो।
'अस्ती एउटा जग्गा हुर्याको, पैसा त छ। बाँडालाई पनि बैनामात्रै दे'को छ। यो छोरीको बिहे सक्न पाए पाटीमा गएर बस्थेँ,' चेकबुकलाई पूजाको सरजाम राखेको सुकुलमुनि राखिन्।
'सुनले ढन्डासो सेकेको छ। फेरि उता बेहुलापट्टिको लर्को निकै लामो रहेछ। सुन त ४-४ लाल दिँदा पनि १५-१६ लाख नै भेट्यो,' कुबेरले भन्यो।
'पैसा आधा-आधा गरेर निकाल्नू। भिनाजुको त्यही हो ताल,' हात कमाउँदै चेकमा सही 'ल स ता' सम्झिँदै लेखिन्। माथिबाट मिलाएर सिधा डीक तानिन्। डिक अलिकति बाङ्गिन्छ। मिलाउने कि के गर्ने दोधारमा हुन्छिन्। मनमनै 'आ थाहा पाउँदैन होला!' सोचिन्। चेकबुक कुबेरलाई दिइन्।
'बैंक कोसित जान्छस्?'
'म हेरौँला, पशुपती पनि पुग्नु छ,' कुबेरले भन्यो।
'मैले त ३ लाख मानसाको खातामा राखिदिन्छु खुरुक्क गए हुन्छ भनेको। टीको लगाएर पठाउन पाएको भए यत्रो खर्च नै हुँदैन थियो,' लसताले भनिन्।
कुबेरले पञ्जा दुवै हातमा घुसार्यो। हातमा मोटरसाइकलको चाबी समात्यो- 'म निक्लेँ।'
पैसा निकाल्न बैंक पुग्यो। आफ्नो पालो सामाजिक दूरी कायम राख्दै कुर्यो। मोटो शरीरको भार पर्न नपाउँदै कुर्सी उकुसमुकुस भएर चुइक्-चुइक बज्यो।
लामो सास फेर्छ। घडीतिर आँखा डुलाउँछ। पालो निकै पछाडि छ। खुट्टा हल्लाउँछ। यताउता हेर्छ। खुइयऽऽ गर्छ। पालो आउने बित्तिकै काउन्टरको सिसा अगाडि पुग्छ। हातमा भएको चेक क्यासियरलाई दिन्छ। शीरदेखि कम्मरसम्म पूरै हेर्छ।
सबैको एउटै शरीर हो तर उनकोमा बिछट्टै सुहाएको छ। पहिरन सपक्क जीउमा टाँसिएको। कुर्थाको सल छड्के बाँधेको। सललाई मनमनै आँखाले हटाउँदै घुरेर हेर्न थाल्यो। कुबेरको आँखाले हेर्न मिल्ने जति सबै हेर्दै थियो। ठ्याक्कै आमनेसामने थियो। देब्रे खुट्टा दुई बित्ता देब्रेपट्टि सार्यो। माउस चलाउँदै गरेकी कर्मचारीको दाहिने कुहिनामुनि आँखा पुर्यायो। पसिनाले थोरै भिजेको काखीको भागमा आँखा टक्क अड्यायो। पालो कुर्दाको रिस भर्खरै बिर्सियो।
हल्का रङको हरियो र बैजनी रङ मिसिएको सुतीको कुर्था। कलिली सुहाइलो देखिन्थिन्। उनलाई अरु ग्राहकले पनि एकचोटि आँखा डुलाएर जान्थे।
'सर! खाता त'पैको आफ्नै हो?' बैंककी कर्मचारीले न्यासी बोलीमा सोध्छे।
'ह….जु..र,' श्वासले बोल्यो। बोली फ्याट्टै बन्द भयो। दुई खुट्टा च्याप्यो। घाँटी सफा गर्यो। बल गरेर पेटबाट श्वासलाई ठेल्दै घाँटीबाट निकाल्यो। अड्केको खकार रुद्रघण्टीमाथि उफ्रियो। घुटुक्क निल्दै भुँडीले काउन्टरतिर ठेल्यो- 'हजुर, मेरो दिदीको हो,' नरम हुँदै भन्यो।
तुरुन्तै ती क्यासीयरले कुबेरतिर आँखा जुधाउँदै ओठ उचालेर दाँत देखाउँदै कुरा गर्न थालिन्। कुबेरले लामो श्वास फेर्यो। देब्रे हातमा चेक समातिन्। खाता नम्बर राखिन्। चेकमा र कम्प्युटरको स्क्रीनमा पुन: रुजु गरिन्।
'मिलेन, सही नै मिलेन,' क्यासियर बोल्दा ओठको लाली उछिट्टेर चेकको पछाडि टाँसियो। उनले देखिनन्।
'मेरो दिदीको खाता हो।'
चेक कुबेरको अगाडि राखिदिन्छे। कुबेर अवाक हुन्छ। तुरुन्तै झनक्क रिसाउँछ।
'सही सच्च्याएर ल्याउनुस्, मिलेन,' चेकमा सही नमिलेको जानकारी दिएर एकचोटि पनि फर्केर हेरिनन्। चिया सुरुप्प पारिन्।
'यो त मिल्नु पर्ने हो। दुइटै नमिल्ने हुन्छ?' कुबेर सन्कियो।
कोरोना संक्रमणको त्रास। त्यसमाथि मुखे फुङ्ग्लो। नाकले फ्याँकेको हावा नाकै वरिपरी गुम्सिँदै घुम्दै थियो। कुबेरलाई उकुसमुकुस हुनको कारण एसीको हावाले हैन। चेकको सही मिलेन 'खातावाला नै आउनु पर्छ' भनेर जतिनै गर्दा पनि बैंकले मानेन।
केहीबेर अगाडि भर्खरै भगवानले कति राम्री बनाउन सकेका अप्सरा हो कि गोपिनी। कापी, कलम, मेटने, नाप्ने, कम्पास इत्यादि सबै हातमै लिएर बनाएको जस्तो। आँखा झिमिक्क नपारी, चित्रकारको कलम जसरी कुनै बेहोरा नछुटोस् भनेर कामुक आँखाले मुचुल्का उठाउँदै थियो, केही सीप नलागेपछे खिस्रिक्क पर्छ। हेलमेट घप्लक्क लगाउँछ। फोन गर्छ। लसताको फोन उठ्दैन।
दिन छोट्टिँदै थियो। काम निकै सक्नु थियो। बैंकबाट निक्लेर छोटोबाटो सम्झिँदै मोटरसाइकल हुइँक्यायो। सुनचाँदी पसलभित्र पस्यो।
बिल दियो।
'… सात लाख पच्चीस हजार,' सुन पसलेले भन्यो।
पैसा बाँकी राखेर मिलाउन निकै तरकिव लगायो। निकै हारगुहार गर्यो। सबै देवताको नाममा कसम खायो।
'धरोधर्म फरक पर्दैन।'
'मरीजाउँ'
'यो हुँदै नहुने कुरामा कसम नखानुस्,' सिसामाथि राखेको सुन पुन: सोकेसमा सजाउन राख्छ।
'तपाईंको मासु खाने मंगलबार फरक पर्दैन,' सम्म कुबेरले भन्यो।
'मेरो मोटरसाइकलको चाबी नै यहाँ राख्छु। बिहे नै रोक्किन्छ। धर्म गर्नुस्। यी यो बाइकको चाबी भयो,' चाबी दिँदै भन्यो।
'हामीले कारखानामा बेलुका बुझाउनुपर्छ। भोलि त के आझ साँझसम्मलाई पनि बाँकी दिन नमिल्ने नियम नै बनाएका छौँ हामी सुनचाँदी संघले,' साहुजीले भन्यो।
'हामीले एउटै कुलोको पानी खाएर हुर्केको।'
'५-१० हजार भए मेरै खल्तीबाट राख्दिन्थेँ। म सक्दिनँ। नमिल्ने कुरामा के जिद्दी गरिरा हुन्न,' कुबेरको मुखमा पटक्कै नहेरी झर्को मन्दै जवाफ फर्कायो।
बाँडाले एक रुपैँया पनि नछाडने ढिपी कस्यो। निकै धर्म संकटमा पर्यो। लसतालाई फोन गर्यो। निकैबेर सम्पर्क हुन सकेन।
'मेरो आफ्नै पैसा हालौँ भने यो पैसा गएपछि त आउँदैन। भिनाजु ट्वाँकेको ताल त्यही हो। दिदीले साग बेचेर कहिले हो लाख-लाख कमाउने। गहना नलिई गए भाँडभैलो मच्चिन्छ' मनमनै गुन्यो। फेरि लसतालाई फोन गर्यो।
लसताले रुवाबासी गरेपछि आफ्नै खातामा भएको पैसा निकाल्न न्युरोड खिचापोखेरी बैंकमा पस्यो। चेक प्रिन्ट होउन्जेल कुर्नु पर्ने भयो। नगरी नहुने धर्मसंकट आइलाग्यो।
घुटुक्क थुक निल्दै चेक लेख्यो। पैसा लिएपछि पटक्कै हतार गरेन। ढलक-ढलक ढल्कँदै हिँडयो। कञ्चटबाट आएको पसिना तप्प चुहियो। आँखीभौँ लत्रक्क लत्रिए। भृकुटी खुम्च्याउँदै पैसाको खामलाई ज्याकेटको चेन खोल्दै छातीमा जोड्यो। मैलो छालाको ज्याकेटको गन्धलाई जितेर पैसा गन्ध नाक वरिपरि घुमिरह्यो। त्यही वासना सुँघ्दै हिँडयो।
'ओ साउजी! खाजा मगाउनुस्,' यति पनि नपत्याएर। पैसा निकाल्न ज्याकेटको चेन खोल्यो। ठाँटले बोल्यो।
'धरोधर्म नमिल्ने भएर भन्या। नत्र तपाईं आफ्नै मान्छे हो नि। फोनमा नम्बर डाएल गर्दै- ए बाबु हाफ प्लेट ममः पसलामा ल्याइदेऊ,' साहुले फोनमा भनी नसक्दै 'डेड प्लेट मगाउनु न। एक प्लेट कति खाने। तपाईंले कुदाएर आज बिहानदेखि केही खानै पाएको छैन' भन्यो।
'हिहि ल है बाबु' भन्दै थियो 'साँच्चै भन्या। डेड प्लेट बरू अचार डबल भन्नुस्। यिनीहरूले थोरै दिन्छ क्या' भन्दै अरु सुनको मोलमोलाई इत्यादी गर्दै गरेका ग्राहकतिर पटक्कै वास्ता नगरी खुट्टा हलाउँदै बस्यो।
प्यान्ट भित्र सर्ट घुसार्छ। पेटीको एक घेरा अगाडि दुलोमा घुसार्छ। टनक्क भए पनि सहन्छ। सर्ट भित्र गहनाका बट्टा घुसार्न खोज्छ।
'यसरी हुँदैन। यो लानुस्। भोलि फिर्ता गर्दिनुस्,' पछाडि भिर्ने झोलामा सबै सुनका बट्टासहित मिलाएर साहुजीले नै हाल्दिन्छन्।
'ल यसलाई अगाडि फर्काएर बोक्नुस्' भन्दै झोला भिराइदिन्छन्। कुबेरले टनक्क कसेको पेटी खुकुलो पार्छ। चस्स-चस्स पेट घोच्न थाल्छ। 'पक्कै पनि ममः बेसी भयो' भन्दै मनमनै सोच्छ। 'ढ्याउ' गर्दै हावा साहुजी तिरै फुकिदिन्छ।
'साहुजीले थाहा नपाएजस्तै निहुरेर कपडाको टालोले सिसा पुछ्न थाल्छन्। त्यति नै बेला चिया आइपुग्छ।
'ए चिया त खानै पर्छ, जाडो कति बढेको हो काठमाडौँमा' भन्दै हेलमेट फुकालेर चिया लिन्छ।
'ए बाबु एउटा चिया लिएर आऊ।'
चिया पिएर कुबेर लाग्छ।
सवारीले गर्दा असन, ज्याथा:, बाङ्गेमुडा, हनुमानढोका जताततै जाम।
'थुइक्क! कस्तो कुसाइतमा निक्लेछु आज। उठेदेखि दिन खराब। सरकारी पैसा जे-जे गरे पनि कसैले केही भन्ने हैन। हेलिकप्टरमा उडेर जानु नि। के-के न बित्यो जसरी बाजा बजाउँदै लाइन लगाएर कुदाको छ। धाराको पाइप माटोमै मिस्सिसक्यो। एक गाग्री पानी जाबो ल्याउन नसक्नेलाई सधैँ बितेको छ,' ऊ बोलेको सुनेर छेउ-छेउका बाइक, स्कुटर चालक सबैले हेर्छन्।
नरदेवी, क्यता हिति, डल्लु पुल, डल्लु चौतारो हुँदै स्वयम्भू निक्लिने मनमनै योजना बनायो।
क्षेत्रपाटीको जामले बाटो पूरै जाम। पटक्कै सर्दैन। आधा घण्टा जाममा पर्छ। छेउको स्कुटर चलाउने केटी हो कि केटा हो भन्दै तलदेखि माथिसम्म आँखा डुलाउन मात्रै मुन्टो तलमाथि सार्दै गर्दा अङ्ग्रेजीमा गाली सुन्छ। अँध्यारो मुख लगाउँदै अर्कोपट्टि हेर्छ। कहिले उम्कीउँ हुन्छ। स्कुटर चालिकाले हर्न बजाउँदा पनि पटक्कै हेर्दैन। डरले चिटचिट पसिना छुट्छ। त्यहाँबाट उम्किने उपाय सोच्छ। केही सीप नलागेर नाला माथि-माथिबाट मोटरसाइकल लिएर जान्छ।
विवाहको तामझाम सुरु भयो। विवाह हेर्न जाने र दुलहा हेर्न आएका आफन्तजनको बाक्लो घुइँचो थियो। काँठेको छोरी र काजीको छोराको विवाहको चर्चा चल्यो। सुनेजति सबै जन्ती आए, कोही लोकन्ती आए। विधि अगाडि बढ्दै छ। जग्गेमा ब्राह्मणले भनेको दुलहा र दुलहीले खुरुखुरु मानेका छन्।
'ओ कुबेर, यता आऊ। एकैछिन है, मेरो सालो आउँदै छ। सबै उसैले हेरेको छ।'
खुमबहादुरले इस्टकोटमा हात हाल्यो। खल्तीमा भएको सुकुमेल र ल्वाङ एक-एक वटा निकाल्यो। ल्वाङको फूल निचारेर भुइँमा उडायो। टोक्यो।
खुमबहादुर अझै पनि मानसाले ढिपी कसेको कुरामा रिसाएको छ। सकेसम्म कसैको अगाडि पर्नै चाहेन। सधाझैँ रक्सी बिहानै घुट्क्याइसक्यो। त्यही गन्ध दबाउन कोही मान्छे सामुन्ने आयो कि ल्वाङ चेपिहाल्छ।
'नमस्कार हजुर!' कुबेरले नमस्कार गर्छ।
'नमस्कार! खानाको व्यवस्था कता छ? सुरसार गर्नुपर्छ। हामीलाई त भोक लागेको छैन, केटाकेटी भोकाए,' जन्तीबाट आएको चल्दापुर्दा एकजनाले भन्यो।
'हुन्छ… हुन्छ सुरु गरौँ। मासु पाक्दै छ। एकैछिन लाग्छ। यी… यता! सुरु गर्दा हुन्छ,' कुबेरले अत्तालिँदै भन्यो।
काजीको कानमा खाना तयार नभएको कुरा पुग्यो।
'यो पाजीलाई मैले जति भन्दा पनि लागेन। कस्ता कस्ताको छोरी दिन आएका थिए। इज्जतको ख्याल राख्नु पर्दैन!'
'हुन्दीबक्सियोस् दाइ। जसरी पनि विवाह सकेर जाउँ। साना-साना कुरामा…,' काजीका नातेदारले थुमथुम्याउन खोजे।
यतै मान्छे, उतै मान्छे। हल्ला। खाना खानेहरू खाँदै छन्। फोटो खिच्नेहरू खिच्दै छन्। नचिने पनि फेसबुक, इन्स्टाग्राममा ट्याग गर्छु भन्दै फ्रेन्ड रिक्वेस्ट गर्दैछन्।
'हेरिस्यो न फलानो स्कुलमा बल्लबल्ल एड्मिसन गर्दिसेको। हजुरको कहाँ पढ्छ नि?' जन्तीबाटै आएकी महीलाले भनिन्।
'मोन्टेश्वरीमा बुझेको ९५ हजार! त्यहाँको म्यामहरू सबै अफिसरको श्रीमती रे। अरु त सस्तो-सस्तो मलाई त राम्रै लागेन। फेरि आजकाल जताततै खुलेको छ,' एउटी सुन छपक्क ढाकिएकी अधबैँसेले लेग्रो तानिन्।
'…खै! इङ्लिस नै मलाई त चित्त बुझेन। अहिले नयाँ खोलेको रै'छ हेरिबक्स्यो न वालमा पेन्ट लगाको। ग्राउण्डमा आर्टिफिसियल दुबो, ट्वाइलेटमा कमोड राखेको, सर-म्याम पनि सबै काठमाडौंकै रे। लिटल मुनमा बुझेको एड्मिसन ८५ हजार रे! मन्थ्ली २८ हजार रै'छ। त्यहाँ राम्रो छ। हाम्रो प्रिन्सेस तीन वर्षको लागिबक्सिन्छ। त्यहाँ राख्यो भने फ्युचर राम्रो हुन्छ नि त।'
'अहिले कुरा गर्छु, हेरिस्यो न नानीलाई भोक लाग्यो। हिजोदेखि केही खाएको छैन,' कान रातो पार्दै छेउमा बसेका बीच कुरा हुन्छ। तर तालमेल मिल्दैन। दुइटैले बहाना छोरीको बनाउँछन्। छुट्टिन्छन्।
बेहुला-बेहुलीपट्टिको केटाकेटी मिलेर खेल्न सुरु गरिसके। ठूला मान्छेभन्दा केटाकेटी अघिनै साथी भए। अघिसम्म भोक लाग्यो भन्दै रोएका केटाकेटीको खेल्न पाएपछि एकाएक भोक हरायो।
जन्ती आएकाको जन्ती पर्सिसकेपछि खासै काम नै नआउने हुनाले क्याट्रीनको पालमुनि गफिन सुरु गरे।
'यो बिहे त मामाले गरिदेको र'च। हामीले सब थाहा पाइसक्यौँ,' यत्ती भनेको सुन्नेबित्तिकै अर्को टेबलमा बसेका पनि गफ सुन्न कुर्सी घुमाए।
'दुइटैलाई मै हुँ भन्ने छ। हाम्रा काजी पनि चल्दापुर्दा जग्गा जिमिन भ'का, माओवादीले खेदो गरेर राजधानी पसेका…, उनी पनि के कम!'
'काजीको चुरीफुरी मात्रै हो। यिनका बाजे निकै चल्दापुर्दा थिए। सम्पत्ति पनि लुट्नु लुटे। सिरानबोटेको जग्गा नै नयाँ नापी आउँदा स्वात्तै आफ्नै नाममा पारे,' शम्शेर बाजेले भने।
'काजीले रैथानेसँग बिहे गर्ने हुर्मत कसरी गरेछन् है?'
'यी सबै स्याल छन्। लुट्नु लुटेका छन् द्वन्द्वकालमा। त्यसै हो गाउँमा टिक्नै नसक्ने भएर सहर पसेका। त्यतिमात्रै हैन, काजीले त्यत्रो लुटेको पैसा कहाँ लुकाओस्? हाम्रा काजीका सम्धीलाई सोलमारे नभै नहुने।'
अर्कोले थप्यो, 'अघि लगनगाँठोमा पैसा राख्दा काजीले बाहुनलाई र्याखर्याख्ती पारे। लगनगाँठोमा कति राख्ने भनेर केटीपट्टिलाई सोधेछन्। बाहुन बाठो र'छ।'
भिडबाट कुरा नसक्दै जवाफ आउँछ, 'केटाकेटीले गर्दा मात्रै बिहे भयो। दुइटैका बाउ-बाउ त बिहे हुँदैन भनेर ढिपी कसेर बसेका, कसरी मानेछन्? खै चुरोटको व्यवस्था छैन?' उमेर पाको एकजना बोल्दै प्लेटमा बाँकी गाँजर टोक्छन्।
'बाँसबोटे सचिवको छोराको बिहेमा गा'को... के खान्छौ! जंगली बँदेल… मुडा तलबाट दननन बलेको छ,' अर्कोले टाईमा लागेको पहेँलो तेल जिब्रोको थुकले भिजाउँदै न्याप्किनमा पुछ्दै भन्यो।
'अनि मासु त बल्ल पाक्दै होला, खालास् सुँगुर?' प्याच्च बोल्यो। कुरै सक्न दिएन।
'हैन जंगली त दबाई हुन्छ! के-के रोग त च्वाट्टै,' ठिटोले मुख मिठ्याउँदै सही थाप्यो।
'नाप्यो! अब सुँगुरको मासुले। हाब्रो बाउँदै बस,' गलल हाँसो गुञ्जिन्छ।
'अहिलेका ठिटाठिटी के बाँकी राख्थे, दबाई हुन्छ भन्छन्,' उमेर पाका सोडारीले ठट्टा गरे।
'हा हा हा' सबै हाँस्छन्।
'यतै व्यवस्था रहेछ कि आफै खान्छस्?' चुरोट औँलाले च्याप्दै इस्टकोटबाट सोडारीले सलाई निकाले।
'चुरोट? खोल चैँ देखेको थेँ,' चुरोट व्यवस्था गर्ने ठिटोले भन्छ।
'यो बिहेको कुरै तपाईंलाई थाहा छैन। गहना त सुन हैन सुनजस्तै परेको हल्ला गर्छन् नि?'
'मोरा। सुन्लान्। जेसुकै होस् चुप लाग्। काजी अघिनै बेहोस हुन मात्रै बाँकी थियो,' सोडारीले ठिटोलाई चिमोटे।
सबैले मुखामुख गरे।
बेहुली अन्माउन निकै अबेर भयो। साँझको घाम डुब्दै जाँदा कृत्रिम उज्यालोले जित्दै गयो। माइतीका हरेकले अंकमाल गरे। सबैको आँखा भिजे, निकै बेर भिजिरहे। मन रसायो। सबैले मानसाको जीवन सुखी होस भन्दै आशीर्वाद दिए। कामना गरे। लसता निकै बेर अचेत भइन्।
भोलिपल्ट घरभरिका पाहुना आफन्त सबै फर्किए। घर रित्तो भयो। त्यस दिनदेखि टाइगरले चुई-चुई गर्दै लमतन्न परेर आँगन छाडेन। छोरी नभएको घर उराठ भयो। दिनहुँ कुचो लगाउँदा छोरी मानसा सुत्ने कोठा सफा गर्छिन्। भित्तालाई शोभा दिइरहेका प्रशंसापत्र, उपन्यासका चाङ, तक्माहरू र शिल्डमा धुलोको कण समेत बस्न दिन्नन्।
आमाछोरीको गाला जोडेर बसेको फोटो निकै बेर हेर्छिन्। दीक्षान्त समारोहको फोटो हेर्छिन्। पुराना दिन सम्झिन्छिन्। मानसाले चार वर्ष हुँदा मनपर्ने गुलावी रङ्गको घाँगर लगाएको, श्रीमानले बेलीबटम लिको पाइन्ट लगाएको, आफूले रानी ऐश्वर्याको जस्तो कपाल बनाएर खिचेको श्यामश्वेत फोटो हेरेर आज निकै बेर टोलाउँदै दिन बिताइन्।
यो पनि
'चार आनामा घर बनाउनेलाई म छोरी दिन्नँ'