निष्ठाको बजारमा खराब मानिस बन्नु नपरोस् भन्ने जानेर पनि म कैँयन दिनदेखि त्यसकै खोजीमा भौतारिँदै हिँडिरहेछु। सत्य किताबको पाठक हुन नखोजेर म नजाने झिनामसिना शब्दहरूमा अल्झिरहेको छु।
के फरक पर्छ र यहाँ मलाई बागमतीमा जति फोहरमैलो बगोस्! कुनै आपत्ति छैन। यी आँखालाई यहाँ क्रुर लोग्नेमान्छेले कागतजस्तो च्यातोस्, म मरिसकेको छु आफैभित्र मले किचेको म लिएर।
सुकुम्बासी अरु नै हो, बलात्कार अर्कैकी छोरीको भएको हो, गरिब अरु कोही हो, दमन तल्लो जातकोले पाएको हो, मलाई बाल। मलाई त केही भएकै छैन। म विद्वान छु, कुरालाई जता पनि लान सक्छु। अथवा म पावरमा छु।
म त शक्तिशाली सत्ता, म प्रखर प्रतिपक्ष पो, अथवा यो जग्गा यो मेरो सान सौकत, यी मेरा पछि-पछि सर-सर, हजुर-हजुर भनेर कुद्ने लाचार मान्छेहरू। मलाई किन दुनियाँअघि झुक्नु पर्यो? म यस्तै सोचेर त बिल्कुल राति डिस्कोको म्युजिक र रङ्गिबिरङ्गी बत्तीहरूजस्तो चम्किएको छु।
मलाई जिन्दगीमा लोर्का बन्नु छैन, मन्डेला र सुकरातहरू पनि। मलाई बुद्ध भनाउनु छैन, गान्धी कहलाइनु पनि छैन। जिन्दगीको हाटमा म त रोज गोर्बाचोबहरू भेट्छु, सेजारे बोर्गिवस र हिटलरहरू रोज देख्छु। चार्ल्स सोभराज आएर मलाई साउती मार्छ मौकामा चौका हान भनेर, र म विकृतिलाई पनि सुन्दर देख्न थाल्छु।
म उकालोहरूलाई पनि सम्म देख्छु। सम्मलाई पनि अग्लो पहाड अप्ठ्यारो देख्छु। म बेवकुफ आश्वस्त छु आफैभित्रको मले किचेर।
देवकोटाहरू, समहरू, सिद्धिचरणहरू, भूपीहरू, रिमालहरू, योगमायाहरू, पारिजातहरू मैले आफ्नो मनको बलेसीमा ल्याउन नचाहेको त कहाँ हो र? अरनिको, फतेमान गन्धर्व, नारायण गोपाल, तारादेवी, अरुणा लामाहरू सपनामा कहाँ नआएका पनि हुन् र? मेरो मथिंगलको दोबाटोमा हरपल गोट्सेहरू, जरासन्धहरू तथा पुतना, होलिकाले सम्वाद गरेपछि म ब्युँझन सकेको छैन। असलपन बोकेको बिहानमा, सरल व्यवहार र अस्तित्ववादी चिन्तनहरूमा म घोरिएको छैन। ममाथि महरूको छाया परेर।
अचम्म! कुरी-कुरी पनि गर्दो रहेनछु। जो मैले देखिरहेको छु आफैलाई। मैले नि खसी काटेर कुखुरा बेचिरहेछु। बालुवा छरेर सब्जी पसल जसरी माटोको प्लटिङ मुठा पारिरहेको छु। विकासको टायरमा कमिसनको हावा भरिरहेको छु। शिक्षाको मन्दिरमा राजनीतिक दासहरू उत्पादन गर्दैछु। अस्पतालमा पैसा नहुनेहरूलाई जग्गाजस्तो बन्धक राखिरहेछु।
ओहो! कानुन मलाई नमस्ते गर्छ। नीति नियम मलाई केही नभनेर मुस्कुराउँछ। म यसैमा मख्ख छु। मलाई बाल जोसुकै मरोस् या बाँचोस्, मसित पुगिसरी छ। म यो देशको सफल नागरिक पो त, अनागरिक भन्ने कसको हिम्मत? यसरी छिप्पिएको जाँडजस्तो आफ्नै अहंकारको मको हाबीमा किचिएको छु म।
अरबमा अर्बौं दिन काटेर भक्कानिने मनहरूमा म पर्दिनँ। मलेसियामा मलेहरूले कुटिने अभागीमा ठाउँ लिन्नँ म। कोरियामा पिसाब फेरेको समय पनि गणना गरेर पैसा काटिनेमा उल्लेखित छैन म, अमेरिकामा अन्धाधुन्ध गोली चलाउँदा निशानामा दागिने मध्येको होइन म। साँझ-बिहानको छाक जुटाउन पनि बम्बै र चेन्नइ सहरहरूमा सिटी फुकेर घर परिवार चलाउनेमा अहँ छँदै छैन म।
बेचिएको नारीको आफन्त, तुइनबाट तर्नेहरूको अभिभावक, डोकाबाट अस्पताल जानेहरूको मानिस, पढाइ खर्च जुटाउन यार्सा गुम्बा टिप्ने विद्यार्थीहरू मध्येमा पनि म नामांकित हुन्न। मेरो घरलाई बर्सेनी खोलाले हान्दैन, मलाई पारिबाट आएर गुन्डाहरूले घुर्काउँदैनन्। म किन आत्तिने हँ?
मैले पढ्नु त पर्ने हो, के नेपाल सानो छ? आफ्नै लोकभाका र संगीतहरू हेर्नु त पर्ने हो वृद्धाश्रममा नराख्दै वृद्ध आमाबाबालाई, बुझ्नु त पर्ने हो छुवाछुत भनेको अलोकप्रीय कुरा हो, मनन् गर्नु पर्ने हो असल संस्कारको लागि घर नै विश्वविद्यालय, सोच्नु पर्ने हो कोरा नाराले पेट भरिँदैन। तर म किन गाउँबाट आएका मानिसलाई देखेर ओठ लेब्राउँछु? किन म नचिनिएको मान्छेको सृजनाप्रति असहिष्णु बन्छु?
किन म अमेरिका भन्ने बित्तिकै उता लिन्छु र अरब, हिन्दुस्थान जानेहरूलाई फुटेको आँखाले हेर्छु? मैले आफैलाई थुप्रै पटक प्रश्न गरेको छु। के मैले सुध्रन पर्दैन र? तर मैले नढाँटी भन्नुपर्छ, म प्रताडित छु आफ्नै अतिशयोक्ति र चुरीफुरीको मबाट।