छाड्दा गाउँ छाडेको थिएँ
फर्कंदा सहर भइसकेछ
झसंग त त्यतिबेला भएँ
जब आफ्नै नाभि गाडिएको ठाउँमा उभिरहँदा
कसैले पछाडिबाट आएर भन्छ-
नयाँ-नयाँ देख्छु
भाइको घर कहाँ हो?
मान्छेहरू त धेरै थिए
जसलाई न म चिन्दथेँ
न त उनीहरू नै मलाई चिन्दथे
तर मुख लुकाउन त्यतिबेला मन लाग्यो
जब हावामा उडिरहेका ती धुलोका कणहरूले
मलाई गिज्याइरहेका थिए
पुरानो त्यो बरपिपल
मेरै नानाथरी कुरा काटिरहेका थिए।