जिन्दगी गाह्रो
बाटो छ अप्ठ्यारो
मन हुन्छ साह्रो
पाल्नु छ परिवार
खुवाउनु छ चारो
मनलाई रेट्ने आरो
बनेका छन् यादहरू
कहिले होला यी यादहरूको मैझारो
कसो गरी कटाउँ म यो जिन्दगी!
सेती पारि
बाँस घारी
देश छाडी
साथी अनि दौँतारी
आएँ नौ डाँडापारि
यादमा आउँछ
घर अनि बारी
आमाको केश र बाको फुलेको दारी
कसो गरी कटाउँ म यो जिन्दगी!
यादका टुक्रा
वनपाखाका चुत्रा
बाका ती फाटेका अनि झुत्रा
कछाडका टुक्रा
आमाबाको प्रिय पुत्र
त्यही कछाड टाल्न
परदेश निस्केको
पत्ता लगाउनै सकिएन जीवन चलाउने सूत्र
कसो गरी कटाउँ म यो जिन्दगी।
हर्पन खोली
खेतबारी मोली
खेतलाका टोली
आलीमा बस्छन्
बोल्छन् ठट्यौली बोली
आउँदा होली
खेल्छन् रंगोली
म भने परदेशी
फेर्न आको आमाको चोली
लाग्दैन निद्रा
यादले पिरोली
कसो गरी कटाउँ म यो जिन्दगी।
प्यारो देश
आमाको केश
बाबाको भेष
गोठका मेष
आफू त पैसा कमाउन
हिँडेको परदेश
सकिनँ फर्कन
हुँदा पनि बाआमाको शेष
मेटिन्न कहिल्यै मनबाट
यादको अवशेष
कसो गरी कटाउँ म यो जिन्दगी
के गरी बिताउँ म यो जिन्दगी!