प्रत्येक दिन बिहान उठेर
तिमीले चाहेको जस्तो हुन खोज्छु
कहिले कवि, कहिले कलाकार
कहिले कोही अमुक, कहिले बेकार
त्यही अनुमानमा अनुवादक भएर
तिम्रो मौनताको उल्था गर्न खोजेको थिएँ- बुझ्ने भाषामा
त्यही आवेगमा हत्यारा बनेँ
र केही सपनाहरुको हत्या गरेँ
इच्छाहरुलाई सख्त घाइते बनाएँ
पालैपालो म सबैथोक भएर हेर्नेछु
म राम्रो या नराम्रो बन्न खोज्ने छैन
तिमीले चाहेजस्तो मात्रै बन्न खोज्नेछु
कुनै दिन म भगवान बन्न बेर लाउने छैन
किनभने भ्रमलाई उहिल्यैदेखि साथी बनाएको हुँ
म दानव बन्न पनि हिच्किचाउदिनँ
हुन सक्ने सबै भएर थाकेपछि
म नहुन सक्ने अनि हुन नसक्ने
सबै भएर आफैमाथि प्रयोग गर्छु
तर भर्खरै आएर मलाई थाहा भएको छ
तिमीले चाहेको हुन खोज्नु
हुँदै नभएको हुनु रहेछ- धन्यवाद छ तिमीलाई।