व्यङ्ग्य
हैट! यी मानिसहरू पनि के भएका हुन्? म त चलमलाउनै नहुने भयो। जे गर्न लागे पनि कहाँ, किन, केका लागि, कसरी, के गर्न, कति दिनलाई, कसले बोलायो, कसले पठायो, कसकसलाई लिएर जाने? जस्ता प्रश्न गरेर हैरान पार्ने।
मेरा लागि मेरी श्रीमती बाहेक अरु सबै प्रतिपक्ष नै भएजस्तै भयो। श्री पशुपतिनाथले रक्ष गरेको देश नेपालबाट प्रतिदिन करिब पन्ध्र सय मानिस मलेसिया, कतार, कुवेत, कोरिया, साउदी, भारत, अमेरिका, अष्ट्रेलिया, जापानलगायत विश्वका विभिन्न देशहरूमा शिक्षा र वैदेशिक रोजगारीका लागि विदेशिन्छन्।
केही मानिसहरू घुम्नको लागि मात्रै पनि विदेश जान्छन्। तिनीहरूलाई यस्तो प्रश्न कसैले गर्दैनन्। मलाई मात्र किन प्रश्न सोधेका होलान्? म पनि खासै ठूलो मान्छे होइन, गरिब देशकै नागरिक हुँ। सम्पत्ति अलि धेरै होला, त्यो छुट्टै कुरा हो। अंशबन्डामा एउटा पद पाएँ, त्यसैमा बसेको छु।
वास्तवमा विदेश बोलाएर जान लागेको हो तर किन बोलाइएको हो, किन जान लागेको हो, के कस्तो कागजमा ल्याप्चे लागाउन पर्ने हो? मलाई नै थाहा छैन। मुखबाट विदेश जान्छु भन्ने शब्द के फुस्केको थियो प्रश्न सोध्नेको धुइरो नै लाग्यो। प्रश्न पनि बाङ्गोटिङ्गो गरी सोधेर हैरान बनाउने। उत्तर दिन नै कठिन।
प्रश्न सोधे भनेर रिसाउन पनि भएन र आजसम्म प्रश्न सोध्दा रिसाएको पनि छैन। बताउन मिल्ने काम पनि केही छैन, के भनेर जवाफ दिने? कहिलेकाहीँ आफ्नो काम कुराले आफैलाई असजिलोमा पार्छ भनेका यही रहेछ। उम्कनै कठिन।
आफू परियो खानदानी मान्छे, अलिअलि सम्पत्ति छ। के खाउँ, के लाउँ भन्ने अवस्था छैन। विदेशमा गएर पनि अलिअलि खर्च गर्न सकिन्छ। त्यही भएर जान लागेको भन्न पनि भएन, वैदेशिक रोजगारी भिषामा विदेश जान लागेको पनि होइन। त्यसैले ऋण लागेर विदेश धन कमाउन जान लागेको भन्न पनि मिलेन।
श्रीमतीले बुढाबुढी सँगसँगै अलि परको विदेश नगएको धेरै भयो, जाउँ भनी अनि हिँड्न लागेको पनि भन्न सकिएन। आइपुगेको चाडपर्व मनाउनलाई निम्ता आयो अनि विदेश जान लगेको भनौँ भने मामाघर र ससुराली केही पनि होइन विदेश। तसर्थ यो पनि भन्न मिलेन।
झुटो बोलौँ भने पनि मेरा आफन्तको विवरण मसँग भन्दा पनि बढी यी प्रश्न सोध्नेहरूसँग छ। यसर्थ झुटो बोल्न पनि सकिएन। पढेलेखेकी जानेबुझेकी श्रीमती छे, उसैसँग सल्लाह गरेर उपयुक्त उत्तर दिनपर्यो भनी अनेक प्रश्न सोधेर हैरान बनाएँ। 'हामी किन विदेश जाने? के भनेर उनीहरूको मुख छेकौँ?' भनेर श्रीमतीसँग सोधेँ।
'पहिलेजस्तै जे मुखमा आउँछ त्यहीँ भनिदिनुस्, बाँकी कुरा मैले मिलाउँला' भन्ने उत्तर आयो। श्रीमतीको कुरा सुनेर मलाई लाग्यो, यो पनि प्रतिपक्षसँग मिलेकी छ क्या हो! मेरो इज्जतको ख्यालै नगरी बोल्ने। मैले सजिलो उत्तर पाउन सकिनँ।
जसले जे भने पनि मसँग सोधेको प्रश्नको जवाफ मैले नै दिनुपर्छ। साथै मजस्तो चार बीस उमेर हुन लागेको र अनुभवी मान्छेले दिएको उत्तर छिः भन्ने पनि हुनु भएन। उत्तरका विकल्पहरू भेटिए तर उपयुक्त उत्तर भेटाउन सजिलो भएन। म उपयुक्त उत्तरको खोजीमा निरन्तर लागिरहेँ।
छोराछोरी विदेश छन् भेट्न जाने भनौँ, म जाने देशमा तिनीहरू बसेका छैनन्। छोराछोरीलाई खर्च पुर्याउँदा अर्को देश पनि जाने भनौँ भने पैसा बैंकबाट पठाउन सकिन्छ। जानु नै पर्दैन। अलिअलि कमाएको पैसालाई साटेर डलर बनाएको छु। फेरि भ्रष्टाचार गरेर कमाएको भन्नु होला, त्यो चाहिँ होइन।
त्यसलाई विदेशी बैंकमा राख्न जाने हो भनुँ भने कानुनले त्यो काम गर्न दिँदैन। त्यसैले यो उत्तर पनि ठिक भएन। विदेशी रेष्टुरेन्टमा बसेर एक/दुई प्याक खान, रमाइलो गर्न, घुमफिर मोजमस्ती गर्न जाने हो भन्नु पनि उपयुक्त देखिएन। ती सबै ब्रान्ड यही पाइन्छ।
किनमेलको लागि जान लागेको भन्न सकिन्थ्यो, मुलुक व्यापार घाटाको दलदलमा परेको बेला किन भनेर पक्कै पनि क्रस गरेर प्रश्न सोधिहाल्छन्। नबोली कति दिन बस्ने? सोधेर हैरान बनाएका छन्। केही त भन्नै पर्यो।
मैले एकाएक सम्झिएँ, कहिलेकाहीँ सञ्चो नहुँदा पनि कसैले कस्तो भनेर सोध्दा ठिकै छ भनेजस्तै मैल पनि भनिदिएँ- विदेश त्यत्तिकै जाने, त्यसै जाने।