ए परदेशी
तिमीले देखाएका कृत्रिम सपनाहरू मलाई चाहिँदैन
मसँग जमिन छ, पाखुरा खियाउँछु
मसँग सुन्दरता छ, संसार लोभ्याउन सक्छु
स्वाभिमानमा रमाउन सक्छु
पौरखमा बाँच्न सक्छु
म भन्न चाहन्छु
तिमी र तिमीजस्तै तिमीहरूलाई
सिँगार्नलाई आफ्नै माटो
फर्की आऊ आफ्नै गाउँ
बाँझा फाँटहरूलाई हराभरा बनाएर
भर्नु छ भकारी अन्न उब्जाएर
चखाउनु छ
तिमीलाई कोशीको असला
पेटभरि खुवाउनुछ खोले र सिस्नो
रमाउनु छ मादलुको तालसँगै रोदी घरमा
सागर छुने हतारमा दौडेका
गण्डकी कोशी र कर्णालीका वेगहरूलाई रोकेर
निकाल्नु छ बिजुली र छर्नु छ देशभरि
खुकुरी नचाएर बनाएको त्यो वीरताको गाथा
बिलाउन लाग्यो सबै युवा परदेशिएर
फेरि रच्ने बेला आयो इतिहास खुकुरी नचाएर होइन
समृद्ध नेपाल सुखी नेपाली बनाएर
आराध्यदेव पशुपतिनाथ देखाई
भित्राउनु छ करोडौँ शिव भक्तहरूलाई
हाँस्न बिर्सिएकाहरूलाई हाँसो उपहार दिनु छ
अन्नपूर्ण हिमशृंखलाको
र साट्नुछ सदभाव र प्रेम
पसिनाले बाँझा गराहरू हराभरा बनाउनु छ
यी फाँटहरूमा अन्न फलाएर
खुवाउनु छ भोकाहरूलाई
र सन्तोषको सास फेरेर मुस्कुराउनु छ
जसरी मुस्कुाउछ आँखाअगाडि
हिमालचुली सगरमाथा हिमाल
तिम्रो अनुपस्थितिमा ब्वाँसाहरूले देश लुट्नु लुटे हजुर
चार जात छत्तीस वर्णले समान रूपमा पूज्न पाउँदैनन् भने
मन्दिरमा के काम त्यो सुनको गजुर
त्यसैले आऊ मेरा प्यारा
स्वर्गजस्तो यही माटोमा
यहीँ रोपौँला सपनाहरू
र साकार पारौँला हामी मिलेर।