नपरोस् केही लिनु दिनु, नहोस् कुनै सर्तबन्द
नठानियोस् मेरो माया तौलिहिँड्ने स्वार्थी यन्त्र
ओत लाग्ने तिम्रो ठाउँमा, अट्न म मात्र सकुँ
बितोस जुगजुग आखिरमा म वैशाख बनुँ।
अस्ति वैशाख १२ गते उसको फेसबुक स्टाटस देखेँ। झन्डै नौ हजार जनाको ज्यान लिएको त्यो भूकम्पलाई 'ह्याप्पी डेथ डे' भनेर पोस्टाउने विचार शून्यमा झर्यो। यहीँ वैशाख त हो ऊ र म हामी भएको। फेरि यहीँ वैशाखमै हो ऊ पर गएको अनि कहिले पनि मैले छुन नपाएको।
हाँसो पनि लाग्छ, कस्तो केटा मान्छे पनि नछुने भएको। जिन्दगीमा अनगिन्ती मान्छे भेटियो। तर त्यो के थियो ऊसँग जो कसैसँग थिएन। सायद मेरो भाउ थियो उप्रतिको। मैले यति मोलमाथि गरिदिएकी थिएँ कि थप बोली कसैले लगाउनु पर्ने थिएन।
खुलस्त भनेको थियो उसले, तिमी मेरो तेश्रो मान्छे हौ। थाहा छैन ऊ मेरो कति नम्बर प्रेमी हो। मलाई त गिन्ती पनि भुलाउने मान्छे हो ऊ। जब उसले मेरो आँगनमा पाइला टेक्यो। मैले उसको मनको नाप लिएँ। र एउटा सेताम्मे भाँडोमा हालिदिएँ। सायद त्यहीँ भाडोको नाम प्रेम हो। तर ऊ मेरो प्रेमी होइन, पटक्क होइन। जाबो प्रेमीले त्यस्तो हैसियत कहाँ पाउँछ र! ऊ त मेरो साम्राज्यमा एकछत्र राज गर्ने श्री श्री श्री महाराज १००८ हो।
मान्छेले एक जुनीमा कति पटक साँचो अनि चोखो प्रेम गर्छ, म यसै भन्न सक्दिनँ। म यसको लागि उपयुक्त वक्ता होइन। तर यसो फर्केर हेर्छु। जिन्दगीको लाइफमा साँच्चैको प्रेम गर्छु भन्नेहरू निकै भेटिए। अनि मैले पनि साँच्चीकै ठानेकाहरूको लाइन पनि पर तुम्बा धारासम्म पुग्थ्यो।
स्कुले जीवनबाटै गन्ती गर्ने हो भने त अझ परको फुङसिङे डाँडासम्मै जाला। प्रिय पाठक, फेरि तपाईंलाई यो कस्तो चरित्रको मान्छे रहेछ भन्नुहोला। म ठ्याक्कै तपाईंजस्तै चरित्रको मान्छे परेँ। नबोलुँ भन्छु नबोली नहुने आइलाग्छ। नहाँसु भन्यो कुतकुती बढेको बढेकै।
प्रकृतिको नेचरले तपाईंको मलाई तपाईंजस्तै बनायो त के गरुँ? अब स्कुलदेखि कलेजसम्मको ए हैन हैन, विश्विवद्यालयसम्मको चारित्रिक प्रमाणपत्र पनि ठ्याक्कै तपाईंको जस्तै छ। जहाँसम्म सामजिक चरित्रको कुरा छ, त्यो त तपाईंलाई पनि थाहा छ। मलाई पनि थाहा छ। भो नकुरा गरौँ। बरु कथा चाहिँ अगाडि बढाउँ।
कुरा यो कथाको हिरोको हो। ऊ एकदम धेरै बोल्ने फेरि कहिलेकाहीँ कसैसँग पनि नबोल्ने चरित्रको थियो। कहिले बिहानको ४ बजे उठेर दौडने, कहिले ९ बजेसम्म पनि सुतिरहने। कहिले रातभर पढ्ने, कहिले दिनभर साउथ इन्डियन मुभी हेर्ने। एक प्रकारले कुनै कुराको टुङ्गो नभएजस्तो मान्छे थियो।
तर एउटा कुरा उसको गज्जब थियो। शैक्षिक चेत र सेवाभाव। र अर्को कुरा उसको चित्रकला प्रतिको रुचि। मान्छे पुरै पूजापाठ, जपतप, ध्यान गर्ने तर भगवानसँग कहिले केही नमाग्ने। उसको हरेक धार्मिकजस्तो देखिने क्रियाकलापपछि एउटै इच्छा हुन्थ्यो, मानसिक शान्ति।
हामी मगन्ते होइनौँ। सर्जक हौँ। उसका यस्तै तर्क र व्यवहारले म प्रभावित थिएँ। एउटा खास्सा चरित्र उसको के थियो भने उसको बोली र व्यवहार एक थियो। संसारमा विरलै मान्छेमा यो चरित्र हुन्छ भन्ने मेरो मत छ। यो बिरलै भेटिने मान्छे हाम्रो स्कुलमा स्वयमसेवक शिक्षकको रुपमा भित्रिएको थियो।
शिक्षक सेवा भर्खर पास गरेर आएकी म उस्तै त्यस्तै मान्छे कहाँ गन्ने थिएँ। फेरि मैले गन्नु पर्ने बाध्याता पनि थिएन। मलाई कसैले पहिले नै गनिसकेको थियो। यो प्रसङ्ग पछि आउला। अहिले हिरोकै कुरा गरौँ। ऊसँग देशको मुहार शिक्षामार्फत फेरिन सक्छ भन्ने राम्रो खाका थियो।
देशमा भइरहेको विकृति विसङ्गति, अर्थराजनीतिको समुल शिक्षाद्वारा सुधार्न सकिन्छ भन्ने उसको तर्क अकाट्य थियो। मैले त्यत्रा-त्यत्रा शिक्षाका सिद्धान्त र तिनका प्रणेता रटेको कुरा उसको अघि फिस्स भइहाल्थो। यद्यपि व्यवहारिक रुपमा उसको अवधारणा हेर्न बाँकी थियो। र त्यहीँ ज्ञानलाई व्यवहारिकतामा ढाल्न उसले कुनै दुर्गम विद्यालय छनौट गरेको थियो।
उसले मान्छेलाई स्कुलले बिगार्छ। स्कुलहरू सबै भत्काउनुपर्छ भन्थ्यो। विकल्पमा जीवन सिकाइ केन्द्र खोलिनु पर्ने तर्क थियो। ज्ञान र सीप बिनाको वर्तमान शिक्षा प्रणाली खारेज गरौँ भन्ने त उसले फेसबुकमा कभर पेज नै राखेको थियो। गाँठी कुरा विद्यार्थीले खेल्दा खेल्दै नै सिक्ने र त्यसरी नै सिकाउनु पर्ने तरिका थियो ऊसँग।
उसले साना-साना नानीहरूलाई सुँगाको सट्टा मान्छे बनाउनु पर्छ भन्थ्यो। त्यसको लागि शिक्षा, सिकाइ र जीवनलाई जोड्नुपर्छ भन्थ्यो। केही काम नपाएर बेरोजगार भएको व्यक्तिले पढाउने होइन। अनुसन्धान गर्न सक्ने, सङ्गीत, साहित्य, पेन्टिङ, खेलकुद, वाली विज्ञान, वनविज्ञान, रैथाने प्रविधिजस्ता सबै कुरामा पोख्त मान्छेले मात्र प्रारम्भिक कक्षामा पढाउनु पर्छ। मान्छे बनाउने कुरा गाह्रो हो।
व्यक्तिको जन्मजात गुणको आधारमा उसको भविष्यको खाका कोरिदिने व्यक्ति शिक्षक मात्र होइन। शिक्षा सेवा आयोगले उत्कृष्ट ठहराएकाहरूले जागिर खान्छन्। पढाउन पनि सक्छन् तर कसैको जीवन दिशा देखाउन सक्छन् भन्नेमा सन्देह रहन्छ। मान्छे त्यहीँ भएर भेडाबाख्रा भइहाल्छन् भन्ने थियो।
करार र भनसुनमा पढाउने शिक्षकहरूलाई उसले झनै निकृष्ट ठान्थ्यो। केटाकेटीको भविष्य उनीहरूले बिगारिरहेको भनेर रातभर गनगन गरेको सुन्थेँ। प्रत्येक व्यक्ति केही न केही गुण लिएर जन्मेको हुन्छ। शिक्षाले त्यो गुणलाई फुलाइदिने हो। विद्यार्थीको सामर्थ्य औलाइदिने मात्र हो। कसैलाई जोड, घटाउ, गुना, भाग जानेपछि पढ्न मन लाग्दैन तर उसको पुर्खौली पेशा व्यापार हो भने मास्टर डीग्रि नै किन चाहियो? डिग्री पढुन्जेल उसको व्यापार स्थापित भइसक्छ।
बिनोद चौधरी पिएचडी गरेर व्यापार गरेका होइनन्। मिरा राइले दौडमा मास्टर सकेको हो र? मान्छेलाई बेकारमा स्कुल र विश्वविद्यालमा भुलाइएको बारे उसको ठूलो आपत्ति थियो। यहाँको सामुदायिक विद्यालयले खाँडीको लागि र संस्थागत विद्यालयले युरोप अमेरिकाको लागि कामदार तयार पार्ने कार्य नै नेपालको शिक्षा हो। उसको तर्क कति सत्य थियो, कति तथ्यमा आधारित थियो उसैले जानोस्।
मलाई के कुरा चाहिँ ताज्जुब लाग्यो भने मेडिकल, इन्जिनियरीङ, आर्ट्स, कमर्स, एजुकेशन जेसुकै पढे पनि लास्टमा पैसा नै कमाउनु शिक्षाको अन्ततः उद्देश्य हो भने बेलैमा पैसा कमाउने शिक्षा किन सुरु नगर्ने त? यता गयो, उता गयो, यो पढ्यो, त्यो पढ्यो, अन्तिममा मान्छे पैसाकै पछाडि लाग्ने रहेछ र पैसा भन्ने कुरा सबैलाई नभई पनि नहुने रहेछ।
राजनीति, धर्म, अध्यात्म, स्वास्थ्य संस्थाजस्तो पवित्र सेवाभाव हुनुपर्ने क्षेत्र समेत पैसाकै पछि लागेको देखियो। बाहिरी बोक्रे कुरा नगर्ने हो भने बेलैमा केटाकेटीलाई वित्तीय साक्षरताको कक्षा सन्चालन गर्नुपर्छ। सबैको एक प्रकारको स्ट्यान्डर्ड भयो भने मात्र सबै क्षेत्र अलि सफा हुन्थ्यो कि।
हाम्रो पूर्विय ज्ञान सिद्धान्तका कुरा गर्छ। पश्चिमको शिक्षा, सीप र दक्षतामा आधारित छ। त्यसैले शिक्षा पश्चिमीहरूको र ज्ञान हामी पूर्वेलीहरूको ठिक छ। यो दुइलाई सम्मिश्रण गरे मात्र वास्तविक विद्यालय शिक्षा सफल हुने उसको दाबी थियो।
उसका यिनै र यस्तै कुराहरूले म मात्र होइन, सिंगो विद्यालय परिवार नै प्रभावित भयौँ। यद्यपि खासखुस कुरा के पनि चल्यो भने उसको यो अवधारणा अबको ठ्याक्क एक हजार वर्षपछि सुरु हुनेछ। खासगरी नेपालमा।
मान्छेका कुरा न हुन्, कसैले के पनि सुनेको रहेछ भने एउटा गम्भीर प्रेममा परेर धोका पाएको मान्छे हो ऊ र मन बहलाउन यस्तो मोबाइलको टावर पनि घाम लाग्दा मात्र आउने ठाउँहरूमा डुली-डुली हिँड्छ। ऊ अर्थात् मिस्टर स्ट्रेन्जर। यो चाहिँ मैले मेरो कन्ट्याक लिस्टमा सेभ गरेको नाम हो। नागरिकतामा चाहिँ उसको नाम सेसेहाङ साँवा लिम्बु थियो।
मेरो नाम पनि भनिहाल्छु ल। खास नाम इच्छालक्ष्मी खबास। स्कुलमा लक्ष्मी मिस। अँ! उसले भने मलाई डार्क डिजायर भनेर सेभ गरेको थियो। म कसरी उसको अँध्यारो इच्छा भएँ। मलाई भाउन्न भएर आएको थियो। यति रिस उठ्यो कि मिस्टर स्टेन्जर भन्ने कनट्याक नै उडाइदिएँ। भेटघाट भने सरकारले नै बन्द गरिदियो।
कुरा कोरोना कालको थियो। लकडाउनको कारण घर जाने गाडी पनि पाइएन। पुराना साथीहरूसँग फेसबुकमा कुरा गरेर बितिरहेको थियो। नजिकैका चिनेकै मान्छेहरू समेत धमाधम बितिरहेका थिए। एक प्रकारको सन्त्रासको समय थियो। गाउँपालिकाले कोभिड टेस्ट गर्ने भयो। मलाई डर लाग्यो यदि ठ्याक्क पोजेटिभ देखायो भने!
सबै सर म्याडमहरूको अनुरोध लत्याउँदै जन्मिँदा एक्लै मर्दा नि एक्लै भन्ने गीत सुन्दै बसेँ। भोलि कि पर्सिपल्ट रिपोर्ट आयो। गाउँपालिकाको तीन जना कर्मचारीसहित एक शिक्षक संक्रमित। विद्यालय क्षेत्र थप आतङ्कित भयो। सबैको जिज्ञासाको शिक्षक। कुन स्कुलको शिक्षक।
यसो झ्याल खोलेर तल सडकतिर हेरेँ। मिस्टर स्टेन्जर एक हातमा झोला र अर्को हातमा थर्मस बोकेर उभिरहेको देखेँ। मैले हत्तपत्त स्वास्थ्य शाखा प्रमुखलाई फोन गरेँ। त्यो सङ्क्रमित शिक्षक उहीँ उभिएको मान्छे रहेछ। मलाई एक्कासी रिंगटा चल्यो। यस्तो दुर्गम ठाउँमा कसरी कोभिड आइपुग्यो? यहाँ सङक्रमण देखिने बित्तिकै गाउँका मान्छे डराए।
भन्न त कसैले पनि भनेनन् तर सबैको मनमा यी संक्रमितहरू यहाँबाट जाउन भन्ने थियो। एक्कासी एम्बुलेन्स देखा पर्यो। संङ्क्रमित सबैलाई एम्बुलेन्सले लाने भयो। तर मलाई भित्र-भित्र बेजोडले पीडा हुन थाल्यो। सेसेहाङ जाने भयो। यत्रो दिन रिसमा होइन, प्रेममा पो जलेको रहेछु।
मलाई आभास नै नभइ त्यो मान्छेले कसरी कसरी मेरो जीवनको अहम पाटो बनिसकेछ। हुन त उसले एक शैक्षिक सत्र पूरा गर्यो। ऊ आएदेखि विद्यालयमा देखिने परिवर्तन भयो। विद्यालयले पहिलो पटक लिपपोत पायो। सानो भए पनि चटक्कको बगैँचा र फूलबारी पायो।
एक विद्यार्थी एक विरुवा, एक विद्यालय एक बगैँचा त शिक्षा नीतिमै छ नि भन्ने जानकारी मात्र गराएन, लागु पनि गर्यो। शिक्षा नियमावलीको नियम ८४(१) यो पालिकाको लागि अमिल्दो छ। हामीले अब पालिकाको अधिकार प्रयोग गरेर माघबाट विद्यालय सन्चालन गर्नुपर्छ भनेर निकै पटक धायो।
हो, त्यहीँबेला पो मलाई थाहा भएको उसले शैक्षिक सत्र फेर्ने कुरा गरेको रहेछ। अँ अर्को कुरा, दुई वटा दराजमा केटाकेटीका लागि खेल सामग्री र पुस्तक सङ्कलित भएको थियो। एउटा सानै भए पनि लाइब्रेरी खोल्ने उसको योजना थियो। सबैभन्दा गज्जबको परिवर्तन विद्यालय ठिक १० बजे सुरु हुन्थ्यो अनि हप्ताभर विद्यार्थीहरू रमाई-रमाई पढेको देखिन्थ्यो।
माथि भोटेगाउँका केही र उता फुङसिङे गाउँका गरी विद्यार्थीहरू थपिएका थिए। बस्ने ठाउँ नपुग्दा सेसेहाङले आफै पनि बेन्च बनाइहाल्थ्यो। जे पनि गर्न सक्ने मान्छे भएको थियो ऊ। सामान्य मोबाइलको प्राविधिक ज्ञान पनि थियो। फुर्सदको बेला निःशुल्क मोबाइल सर्भिस प्रदान गर्दथ्यो।
उसको खास तलब थिएन। विद्यालयले उसको खाने, बस्ने व्यवस्था मिलाएको थियो। म विद्यालय नजिकैको घरमा बस्थेँ। हामी स्कुले केटाकेटी लगेर कहिले निवाँफुङ डाँडातिर जान्थ्यौँ। कहिले नजिकैको माङहिममा गएर त्यहाँको गुरुसँग मुन्धुमको कुरा विद्यार्थीहरू माझ गर्थ्यौं। कहिले अलिपर हुचिल झरना तिर जान्थ्यौँ।
म बाहिरको मान्छे भएकोले अलि बढी फुर्सद हुन्थ्यो। बाँकी सबै सर म्याडमहरू यहीँको स्थानीय भएकोले यो स्कुल बाहिरको पाठ्यक्रमको थप जिम्मा मलाई थियो।
यी एकाएक ऊसँग बिताएको क्षणहरू तरोताजा भएर आयो। यहीँ लगभग एक वर्षभित्र कति परिवर्तन गरेको थियो उसले। विद्यालयले पूरा होस पाएको थियो। अनि म चाहिँ पूरा बेहोस भएको थिएँ। हुन त मेरो व्यक्तिगत खोजखबर उसले कहिले गरेन। यदि गरेको भए पनि मैले सही नबताउने सम्भावना निकै थियो।
किन मान्छेले ढाँट्छ हँ? म उसको नजिक भइरहन कहिलेसम्म ढाँटिरहन सक्थेँ! यदि 'मेरो बिहे भइसकेको हो, श्रीमान कोरियातिर छ' भन्दा उसले के सोच्दो हो। तर मैले राजीखुसीले त्यो बिहे भन्ने गेम खेलेको होइन। मैले गेम नै भन्नुपर्ने बाध्यता चाहीँ मेरो आमाबाबुले गर्दा आइपरेको हो।
म आफै केही गर्न चाहन्थेँ। केही हुन चाहन्थेँ तर सानैमा मेरो गेम चेन्ज भयो। मलाई उतापट्टि घरमा जान मन नै लाग्दैन थियो। बाहिरबाट हेर्दा सबै ठिकै थियो तर खै किन-किन ममा के-के नपुग्दो थियो। यो क्रम चलेको पनि निकै वर्ष भएको थियो।
त्यसैले मैले आफू स्वनिर्भर हुने निर्णय गरेँ। नतिजा स्वरुप अहिले यहाँ आइपुगेको छु। त्यस्तो दुर्गम स्कुलमा किन जानुपर्यो? कुरा नउठेको होइन, तर कुरा यहाँ आत्मसम्मानको थियो। अहिले आएर हेर्दा कुरा त त्यो मान्छेसँग भेट हुनु पो रहेछ जस्तो लाग्छ। सेसेहाङसँग जति समय व्यतित भयो मेरो जीवनकै स्वर्णीम काल थियो।
म उसलाई प्रेमभन्दा धेरै अनि यो माया सायाभन्दा पनि अर्कै। अझ ठूलो, अझ व्यापक रुपमा केही गर्थें। यो अनुभूति र समर्पणको सायद नाम छैन। म उसलाई यस्तै विशेष केहीँ गर्थें। उसले मलाई के सोच्थ्यो, म एकिन भन्न सक्दिनँ। तर यति भन्न सक्छु, यदि जीवनमा मैले केही सफलता प्राप्त गरेँ भने ऊभन्दा खुसी अरु कोही हुन सक्दैन। र मैले दुख पाएँ भने उसले जति सहयोग पनि मलाई सायद कसैले गर्दैन।
खासमा मलाई आइपर्ने सहयोगी हातहरू अरु पनि निकै नै हुन सक्छन्। तर ती हातहरू कोही कर्तव्यका, कोही सामजिक बाध्यताका र केही स्वार्थका हुन्छन्। स्वतस्फूर्त र बिना लेभलको सहयोग उसैको हुन्छ। हाम्रो यात्राको न कुनै नाम थियो न कुनै गन्तव्य। तर यस्तो यात्रा कास सबैले गरोस्।
म को हुँ भनेर चिनाइदिने मान्छे कसलाई चाहिँदैन र! मैले भनिसकेँ नि, ऊ न मेरो प्रेमी हो न त हामीले सँगै मर्ने सँगै बाँच्ने भन्यौँ। न हाम्रो कुनै भविष्य थियो न त कुनै बन्धन। न हामीले त्यस्तो यो लोकमै नभएको त्यस्तो केही असामजिक कार्य नै गर्यौं। हामी बस् हामी मात्र भयौँ।
यहाँबाट एम्बुलेन्स हिँडेको बेलुकादेखि फोन गरेँ। उठे त मरिजाउँ। कोभिड लागेको मान्छे जति बेला पनि अक्सिजन लेभल घट्न सक्छ। जतिबेला पनि चोला फेर्नसक्छ। सामजिक सन्जालले त्यहीँ भन्थ्यो। पत्रकार, शिक्षक, कर्मचारी, प्रहरी सबै-सबै स्वास्थ्य विज्ञ भएको बेला थियो। सेसेहाङले मरी गए फोन उठाएन। पर्सीपल्टदेखि अफ नै भयो।
मेरो ढ्याङग्रो बजेको बजेकै गर्न थाल्यो। खाने, बस्ने होस भएन। एक हप्तापछि उसले हेडसरलाई अब म स्कुल आउँदिनँ भनेर म्यासेज पठाएछ। गाउँभरिको मान्छेले उसलाई कोभिड पोजिटिभ हुँदा गरेको व्यवहारले साह्रै मन दुखाएछ। त्यत्रो जीवन दर्शन नै बोकेको मान्छे पनि मान्छेकै व्यवहारबाट थाक्दो रहेछ। स्कुलमा त्यस्तै चर्चा भयो।
तर उ यत्तिमै थाक्ने मान्छे होइन भन्नेमा म विश्वस्त थिएँ। उसले सही बहानामा स्कुल छोड्ने निर्णय गर्यो भन्नेमा मेरो मत थियो। यो मत कहीँ पनि जाहेर गर्न नमिल्ने थियो। मलाई हरेक साँझ नै अँधुरोजस्तो। घाम पनि मधुरोजस्तो। यो स्कुल पनि हल्लाखोरजस्तो मात्र लाग्न थाल्यो। पठनपाठन नियमित थिएन। मनमा एक तमासको खालीपन थियो। आखिर के थियो त सेसेहाङ मेरो लागि? झन्डै १५ दिनपछि उसले मलाई लामो म्यासेज लेखेछ। यति खुसी भएँ कि त्यति म आयोग पास हुँदा पनि भएको थिइनँ। तर मुर्दारले म्यासेज चाहिँ के खाले लेख्यो लेख्यो।
मेरा पनि तिम्रोजस्तै धेरै खाल्डाहरू छन्। चाहेर नचाहेर पुर्ने कोसिस गर्छु। मलाई भौतिक जीवन यी र यस्तै तानाबानाले जेलिएको हुन्छ भन्ने लाग्छ। त्यसैले म स्वतन्त्र जीवन बाँच्न चाहन्छु। न कसैको दबाबमा न कुनै प्रतिशोधमा। वास्तवमा जीवन मृत्युको तयारी मात्र त हो। साधना र तपको लागि समय पुग्दैन भनेर मैले गृहस्थी बारे कहिल्यै विचार गरिनँ।
भ्यायौ भने अटोबायोग्राफी अफ योगी पढ्नू। त्यो मिलेनछ भने सिद्धार्थ पढ्नू। त्यो पनि भएन भने अलकेमिस्ट पढे पनि भयो। अँ, खासमा तिम्रो लागि यहीँ बेस्ट होला कि। अनायस दैवले तिमीसँग जोडिन लेखेछ। न कुनै हतारो न कुनै पश्चताप एउटा मिठो साइनो जोडियो। मलाई यस्तो पनि हुन्छ र जस्तो लागेर उस्तै कथा भेट्न गुगल गरेँ।
भागवत गीता पढेँ। कहीँ चित्त बुझेन। आत्मसर्वेक्षण गरीहेरेँ। कति पनि ग्लानीवोध भएन। मलाई लाग्यो मैले बेठिक गरिनँ। प्रेमको विराटतालाई मनुष्यले कति सङ्कुचित रुपमा बुझेको रहेछ है! मलाई तिम्रो आभास सधैँ हुनेछ। यी हेर त अहिले पनि तिमी मेरो नजिक छौ। यो मिठो आवाज तिम्रै त हो नि।
मलाई तिम्रो यस्तै साथ भए पुग्छ, जिन्दगी नै माग्ने मेरो हैसियत रहेनछ। समयले मलाई अझ निर्धो सावित गर्दैछ। तिम्रो सामीप्यताको आभाको अघि म केबल प्रयास मात्र गर्छु जस्तो लाग्छ। तिमीलाई मैले जुन स्थानमा राखेँ, त्यो कसैको हुनेछैन। तिमीसँग मेरो कहिल्यै गुनासो हुने छैन। खाली एउटै कुरा हाम्रो भेट ढिलो भयो। म तिमीसँग बिदा मागेर हिँड्न सक्छु जस्तै लागेन। खैर जीवनमा तिमी सदा अमेट रहनेछौ।
कस्तो मिठो दुखाई! यो म्यासेजले पीडा र प्रेमको एकै चोट प्रहार गर्यो। एउटा मिठो साथ छुटेको थियो। अब ऊ नआउने पक्का थियो। तर उसले एउटा सोच छाडेको थियो। विद्यालय र शिक्षाको लागि देखेको सपना छाडेको थियो। उसको अपूरो शैक्षिक सपनाहरू मैले पूरा गर्नुपर्ने थियो।
लेख्न त मैले पनि निकै म्यासेज लेखेँ। तर किन-किन पठाउनै सकिनँ। मन पनि भएन। मलाई उसको म्यासेजको उत्तर लेखेर होइन, गरेर पठाउनु थियो। यस्तरी पठाउनु थियो कि उत्तर पढ्न होइन, हेर्न आउनु परोस्।