लामो बाटो छ हिँड्नुपर्ने, हिँडेको केही घण्टा त भयो। किन म यति धेरै थाक्दैछु। यो थाक्ने उमेर पनि त होइन।
सायद हो कि? हुन त म बीसकी होइन। तीस काटेको पनि चार वर्ष भैसकेछ। तथापी मलाई लाग्छ मेरो थाक्ने उमेर भएको छैन।
किन बाटोमा कोही भेटिँदैनन्। मलाई किन लाग्छ म हिँड्दै गर्दा बाटोमा कोही भेटियोस्।
यो मेरो पहिलो एकल यात्रा होइन। दोस्रो पनि होइन। तेस्रो पनि होइन र पनि किन लाग्दैछ यात्रामा एक्लो महसुस गर्नु ठिक होइन। म एक्लो महसुस गर्न चाहँदिनँ भने किन मलाई एकल यात्राको भूत चढेको छ?
यी दुई किनाराका रूखहरू मेरा साथी भएका छन्। तर यिनीहरूसँग गुनासो छ मेरो।
किन यति धेरै स्थिर छन् यिनीहरू?
मलाई यिनीहरूको स्थिरता देखेर लोभ लाग्छ, ईर्ष्या लाग्छ। किन म यिनीहरूझैं स्थिर बन्न सकिनँ।
म हावाको झोकाझैं जीवनका बहावहरूसँग किन यति धेरै ठोक्किएँ। किन लागेन म जहाँ छु, जे छु ठिकै छु।
म किन यिनीहरूझैं आफू हुनुमा रमाउन सकिनँ। के जीवन जिउन अस्थिर नै हुनुपर्ने हो र ? जे छ त्यसैमा खुसी भैदिँदा हुँदैन र?
अब खोला नजिकै आइपुगेकी छु। सायद यो खहरे हो। त्यसैले यो बर्खामासमा गड्गडाउँदै छ। कहिलेकाहीँ लाग्छ म आफैं पनि खहरे नै हुँ। यो खोलाझैं म पनि कहिलेकाहीँ मात्र गडगडाउँछु। यदाकदा लहडीझैं बडबडाउँछु पनि। तर मेरो भेलमा अहिलेसम्म कोही बगेको छैन।
खहरेको भेलमा पनि मानिसहरू बिरलै बग्छन् र पनि किनकिन खहरेहरू जीवनझैं लाग्छ यिनीहरूसँग मानिसकाझैं उतारचडावपूर्ण जीवन छ। यिनीहरू रूखझैं स्थिर कहिल्यै रहँदैनन्।
यस्ता खोलाहरू मैले धेरै तरेँ। म त मर्स्याङ्दी र दोर्दी किनारकी केटी हुँ। मसँग बाल्यकालका केही धूनहरू बाँकी छन् भने ती नदी किनारका धूनहरू मात्र बाँकी छन् र पनि किन लाग्दैछ म नदीका धूनसँग पनि निस्सासिएकी छु। नदीसँग निस्सासिनु राम्रो होइन। के म बिरत्तिएकी हुँ वा म त्यो केटी रहिनँ जो नदी किनारा छेउ एउटा सुन्दर घर बसाउन चाहन्थी।
ऊसँग नदी र हिमाल बाहेकका स्वप्निल क्षितिजहरू अरू केही थिएनन् वा ऊ नदीसँगै बहकिन सक्थी। म त्यो केटीलाई प्रेम गर्छु जसले नदीलाई प्रेम गर्थी बिडम्बना म त्यही केटी रहिरहन सकिनँ।
यी नदीहरूझैं म पनि बग्न सकेकी भए म आज जो छु त्यो रहने थिइनँ। म मेरो यात्रासँग खुसी र दुखी दुबै छु। यदाकदा लाग्छ मैले आफ्ना नाममा जे जे गरेँ त्यो आफ्नै लागि गरेँ। अक्षरहरूलाई प्रेम गरेँ, नदीहरूलाई गरेँ, रंगहरूलाई गरेँ त्योभन्दा पर अरू धेरैलाई गरेँ। उनीहरू बगे म किनारामा नै रहिरहेँ। आज पनि यी नदीहरू सुसाएपछि म मेरा प्रेमीहरूलाई सम्झन्छु।
मलाई मेरा प्रेमीहरू पनि नदीझैं लाग्छ। बगेर जानेहरूसँग गुनासो मात्र गर्न सकिन्छ सँगै बग्न सकिँदैन।
तर मलाई किनकिन लाग्छ जसरी उनीहरू बगे, त्यो बग्नु जरूरी थियो। जसरी मैले बिदाइलाई सहजतामा बदलेँ त्यो मेरो लागि थियो। जीवनका बर्हिगमनहरूलाई म अब सजिलै लिइदिन सक्छु।
चौतारो नजिक आइपुगेकी छु। मलाई वर र पिपलसँगै नारिएका चौताराहरूले असाध्यै लोभ्याउँछन्। किन मानिसहरू पनि बर र पिपलझैं एक अर्काको अस्तित्वमा मस्त भैदिन सक्दैनन्। सायद मैले चाहेझैं भैदिने भए म बर र पिपलको जीवन चाहन्थे। यिनीहरूले शितलता मात्र दिन्छन्। के यति शालिन हुन सम्भव छ। के यिनीहरूले विद्रोह गर्दैनन्? वा गर्छन् र पनि देखाउँदैनन्। मलाई यिनीहरूको शालिनता र अस्तित्वबोधले सधैं नतमस्तक बनाउँछ।
सुस्ताउँदैछु ..... चौतारीमा।
किनकिन लाग्दैछ मेरो नजिक कोही भैदियोस्। कसैलाई म चौतारीमा नै बसेर प्रेमका सुन्दर कविताहरू सुनाउन सकूँ। वा कोही त्यस्तो भैदियोस् जो मलाई सुनाओस्। मलाई किनकिन लाग्दैछ म उमेरसँगै प्रेममा पनि परिपक्क बन्दैछु।
मलाई अब प्रेमको नाममा अनावश्यक हल्ला गर्ने मानिस चाहिएको छैन।
मलाई सँगै सुस्ताउने सहयात्री चाहिएको छ। जसरी प्रेमलाई साहित्यमा लेखियो त्यो कुनै प्रेम होइन। खोज्दै जाँदा त्यहाँ लगाव र बास्नाबाहेक अरू केही भेटिँदैन।
म अब फिल्मी प्रेमको पर्खाइमा छैन। अब त चाहिएको केबल सँगै सुस्ताउने मानिस हो। आफू र आफ्नोझैं लाग्ने मानिस हो।
यो उमेरमा पनि म अझै प्रेमको पर्खाइमा छु भन्नु ठिक हो वा होइन म जान्दिनँ। तर म सधैं प्रेम गर्न चाहन्थें। र जस-जसलाई मैले प्रेम गरेँ वा ज–जसले मलाई गरेँ उनीहरू मेरा सधैं प्रिय रहनेछ।
प्रेमको अनुभूति एक सुन्दर अनुभूति हो। म यो अनुभूतिबाट भाग्न चाहन्नँ। अथवा म नियम बन्धनको नाममा प्रेमलाई सही र गलत भन्न चाहन्नँ। मेरी आमाले हजुर आमाले कहिल्यै प्रेमका कुरा गरेनन्। अनुभूति कुरा गरेनन्। मलाई लाग्छ यो मेरो भागको खुसी हो। बर र पिपलझैं लाग्ने प्रेमिल जोडी देख्दा आज पनि लाग्छ मेरो पनि कोही भैदियोस् । जानेहरूलाई सम्झनभन्दा म आउनेहरूलाई पर्खन चाहन्छु।
उकाली लाग्दैछु पर डाँडामा कोही उभिएको छ। उसको छायाझैं लाग्ने प्रतिबिम्ब मेरो आँखामा परेको छ। लाग्दैछ ऊ पनि मजस्तै यात्री हो। एकल यात्री। मलाई एक्लै एक्लै हिँड्नेहरू मजस्तै लाग्छन्। किन किन लाग्दैछ ऊ नजिक चाँडै पुगूँ। म कसैलाई यति चाँडै भेट्न, बोल्न किन चाहँदैछु। किन म एक्लै रमाउन खाजेर पनि रमाउन सकिरहेकी छैन। किन म यात्रामा सहयात्री खोज्दैछु।
अघिसम्म प्रतिबिम्बमात्र जस्तो लाग्ने ऊ भेटिएको छ।
म मुस्कुराउँछु ........ ऊ मुस्कुराउँछ।
म ‘हाई’ भन्छु।
ऊ ‘हेल्लो’ भन्छ।
ऊ मभन्दा उमेरमा सानोझैं देखिन्छ।
म बोल्न चाहन्छु तर के भनेर सुरूआत गरूँ मलाई थाहा छैन।
‘के तपाईं पनि मजस्तै सोलो ट्राभलर हो’ ‘हो’ ऊ भन्छ।
‘कति दिन भयो हिँडेको?’ म सोध्छु।
‘आज सेकेन्ड डे हो’ ऊ भन्छ।
अनि दुबै चुपचाप। .........सुनसान..........ऊ क्यामरा निकाल्छ र क्यामराको दुनियाँमा मस्त हुन्छ।
सायद ऊ फोटोग्राफर हो। तर आजकल क्यामरा बोक्दैमा फोटोग्राफर नै हो भन्न सकिँदैन।
म आफ्नै धूनमा एकछिन सुस्ताउँछु।
म उसलाई उछिनेर पर पुग्न पनि सक्थें तर थाहा छैन किन म उसँग थप गफ गर्न चाहन्छु।
एकछिनपछि क्यामेराबाट आफ्नो ध्यान हटाएर ऊ भन्छ ‘तपाईं अझै यतै हुनुन्छ?’
‘हजुर यतै छु’ म भन्छु।
‘पुग्नुपर्ने कहाँ हो’ ऊ सोध्छ।
‘पुग्नुपर्ने कहाँ हो मलाई थाहा छैन तर म आज सिमपानीमा बस्न चाहन्छु, तपाईं त?’
‘म अझ पर...... पुग्न चाहन्छु। सायद माथिको भ्यू टावरसम्म..... मलाई भोलिको सूर्योदय कभर गर्नु छ।’
‘ओ नाइस.....’ म भन्छु
‘तपाईंको नाम ?’ ऊ अनायासै सोध्छ।
‘म अपराजिता पोर्खेल’
‘म सुन्दर राना, म ट्राभल एजेन्सीको लागि फोटो खिच्छु, हिँड्नु मेरो सोख र बाध्यता दुबै हो’ ऊ भन्छ।
‘कस्तो रमाइलो काम। म सौखिन यात्री हुँ। कामभन्दा तपाईंलाई हाँसो उठ्ला म एकाउन्टेट हुँ। तर मैले अहिलेसम्म जीवनका डेबिड र क्रेडिटहरू मिलाउन सकेकी छैन। जीवनको म एक असफल एकाउन्टेट हो।’
उ हाँस्छ मात्र।
म पनि हाँसिदिन्छु।
सायद एकाउन्टेन्ट र फोटोग्राफरबीच.... गफका मध्यबिन्दुहरू अति नै कम हुन्छन्। त्यसपछि ऊ केही बोल्दैन मलाई थप बोलूँ-बोलूँ लाग्दालाग्दै पनि.... थप केही भन्न सक्दिनँ।
ऊ गुनगुनाउँदै हिँड्छ, म उसकै लयमा हिँड्छु।
‘अब हामी दोबाटोमा आइपुगेका छौं’ ऊ भन्छ, ‘म अब राइटतिर जानुपर्छ’।
‘हस्’ म बाइ भन्दै यात्रा सुन्दर बनोस् भन्छु।
ऊ अब फेरि एक छाया बनेको छ। सायद ऊ मेरो स्मृतिमा पनि एक छाया बन्नेछ।
मलाई कताकता लाग्यो उसलाई मैले भन्नुपर्ने थियो म एक चित्रकार पनि हुँ भनेर। तब हामी थप गफ गर्न सक्थ्यौ। हामीसँग गफ गर्नका लागि प्रकाश र रंगहरू हुनेथिए। तर किनकिन म आफूलाई एक चित्रकारको रूपमा चिनाउन सक्दिनँ, म लजाउँछु।
एकाउन्टेनको रूपमा परिचय दिनु एक रूखो परिचय दिनु हो। मलाई सधैं लाग्छ म एकाउन्टेन झैं रूखो कदापी छैन।
अब थोरै तल झर्नुपर्ने छ साँझको ४ बज्न लागेको छ।
केटाकेटीहरू स्कुलबाट फर्कने समय भएको छ। मलाई स्कुले केटाकेटी देखेपछि आफ्नै याद आउँछ। त्यो स्कुले केटी जो अरूझैं ठूलो मानिस बन्न चाहन्थी जो कहिल्यै बनिन। जसले चित्र कोर्न पनि अंगारका ठूटाहरूसँग सिकेकी थिई। जोसँग अब रंग र क्यानभास त छ तर चित्रझैं लाग्ने स्वप्निल संसारको परिकल्पना छैन। ऊजस्तो बन्न चाहन्थी त्यो बनिन्। मलाई आफ्ना सपनाहरू देखेर माया लाग्छ। मलाई आफ्नो उमेर देखेर माया लाग्छ।
साँझको पाँच बज्दै छ। सूर्य अस्ताउन लाग्दैछ। म मेरो बास बस्ने लजमा लाइपुगेकी छु।
‘फेरि एक्लै’ दिदीले मलाई देख्नेबित्तिकै भन्नुहुन्छ।
‘बाँच्नुपर्ने पनि त एक्लै हो’ म हाँस्दै भन्छु। दिदी केही भन्नुहुन्न। म त्यो पहिलोपटक पुगेको गाउँ होइन। मलाई त्यहाँ गएर घुम्नु पनि छैन।
म त्यसै त्यहाँ पुगेकी छु। बिना उद्धेश्य। सायद जीवनबाट विरक्तिएर। म एक्लै पाहुना घरको कोठाबाट चियाउँछु पर.......। आफ्नै जीवनलाई पर क्षितिजबाट हेरेझैं लाग्छ।
आज जे/जे महसुस गर्दै छु मैले काटेका चौतीस बसन्तको उपज हो। आज मेरो जन्मदिन हो। म एक्लै जन्मदिन मनाउँदैछु। सायद बीसको उमेरमा म यहाँ आएकी भए म आफ्ना केही साथी बोकेर आउँथे होला। अथवा अनुभूतिमा कोही अर्को प्रेमिल व्यक्ति ठोकिन्थ्यो होला। तर अहिले म चाहेर पनि त्यस्तो महसुस गर्न चाहन्नँ।
मसँग केही त्यस्ता कठोर अनुभूतिका कथा छन् जसले मलाई सजिलै पगाल्दैनन्। म आफैंसँगको अन्तर्क्रियामा तरल बनेर पोखिँदैछु।
सायद यो अब बाँच्ने थप चौतीस वर्षको लागि सञ्चय गनुपर्ने केही अनुभूतिका दूरीहरू हुन्। म आफ्नै लागि आफ्नै लगावबाट पर भाग्न केही दूरीहरू खोज्दैछु। के यो सम्भव छ?