असारकाे महिना दिन कालाे र अँध्याराे। आकाश बादलले डम्म थियाे। एकाबिहानै हलुका सिमसिम पानी परिरहेकाे थियाे। एउटा थाेत्राे गाडीकाे अन्तिम सिटमा उनी र म। गाडी अन्धाधुन्ध बसपार्कतर्फ दाैडिरहेकाे थियाे।
उनले मेराे औंलाहरूलाई आफ्नाे हत्केलामा कस्सेर समातिई। मेराे काँधमा आफ्नाे टाउकाे राखेर भित्रभित्रै बेस्सरी रूँदै थिइन्।
आँसुले लफ्रक्क भिजेका हाम्रा हत्केलाहरू कस्सिन निकै कठिन हुँदै थिए। म उनकाे आँखाबाट झरेका गाजलु आँसुहरू पुछ्दै थिएँ उनकै सलकाे झुम्काहरूले। रूँदारूँदै लतपतिएका ती ओठका लाली, मैले हातका औंलाहरूले मिलाएर पुछिरहेकाे थिएँ। वरपर सिटमा बसेका केही अपरिचित मानिसहरूले हामीलाई एकतमासा नियालिरहेका थिए। मलाई भित्रभित्रै अलिकता लाज/सरम लागेर हाेला म बसेकाे सिटकाे देब्रेपट्टि झ्याल थियाे मैले झ्यालबाट बाहिर हेरेँ।
बाहिर बतासले हल्लाइरहेका रूखको पातहरू। रूझेर चिच्याउँदै झरिरहेका थिए। बर्खाका खाेला गडगडाउँदै दाैडिरहेकाे थियाे। यत्तिकैमा एउटा प्रतीक्षालयमा बस राेकियाे। प्रतीक्षालयमा झुम्म मान्छेकाे भिड थियाे।
त्याे भिडका आँखाहरू पनि झ्यालबाट हामीलाई नै नियालिरहेका थिए।
सायद साँझ परेर हाेला चराचुरुङ्गी गुँडतर्फ हान्निएर उडिरहेका थिए। यत्तिकैमा बसपार्क आयाे।
मैले उनलाई उठाएँ उनी मानिनन्।
मैले उनलाई काँखमा च्यापेर बसबाट भुइँमा झारेँ। उनी भुइँमा खुट्टा टेक्न पनि मानेकी थिइनन्।
सम्झाउँदै/फकाउँदै उनकाे सहर पुग्ने गाडीकाे सिटमा लगेर राखिदिएँ। उनी एकतमासले रूँदै थिइन्।
मैले एउटा पानीकाे बाेतल, रिचार्ज कार्ड र चिप्सकाे पाेकाे उनकाे हातमा थमाएर भनेँ- आफ्नाे राम्राे ख्याल राख्नू।
बाटाेमा जथाभावी गाडीबाट नझर्नू।
यत्तिकैमा गाडी हिँड्न तर्खर गर्याे। गाउँ जाने गाडी भएर हाेला एकदमै घुइँचो थियाे।
म झ्याल बाहिर, उनी झ्यालभित्र। मेराे हात उनका हातहरूले छाड्नै मानिरहेका थिएनन्।
एक्कासि गाडी अगाडि बढ्याे। उनले छिट्टै यही बसपार्कमा भेट्ने वाचा गरिन्। मैले टाउकाे हल्लाएँ। र मेराे हात पनि उनकाे हातबाट बाध्यतावस् छुट्याे।
उनी बिस्तारै मदेखि टाढा हुँदै गइन्। हेर्दाहेर्दै गाडी बसपार्कबाट बाहिर लाग्याे र केहीबेरमा मेरा आँखाहरूबाट हराए गाडी र उनी।
मलाई थाहा छैन बसपार्कबाट छुटेर गएकाे गाडीले बसपार्कलाई कत्तिकाे याद गर्छ तर..बसपार्कले भने आफूबाट छुटेर गएकाे गाडीलाई औधि याद गर्दाे रहेछ। सधैं पर्खिएरै बस्दाे रहेछ। आज ठ्याक्कै दुई वर्ष बितेछ।
यतिबेला म त्यही सहरकाे त्यही बसपार्कमा छु। र बसपार्कले छुटेका गाडीलाई जस्तै म तिमीलाई पर्खिरहेकाे छु।
म त्यसरी नै उनकाे गाउँ जाने थाेत्रा गाडीहरूकाे घुइँचोहरूमा उनलाई खाेजिरहेकाे छु।
मेराेजस्तै छुटिने जाेडीहरूका आँखाहरू हेरिरहेकाे छु।
आज पनि धेरै जाेडीहरू मजस्तै रूँदै छाेडिँदै रहेछन्।
विछाेडकाे अँगालाेमा बेरिएर छुट्दै गर्दा आँखाकाे नानी दुख्ने गरी राेएकी तिमीलाई सम्झिरहेकाे छु। तिम्राे लागि झरेका आँसु प्रेमको कुलो हुँदै मनको गर्भसम्म पाेतिँदाे रहेछ। न त सुक्न सक्दाे रहेछ, न त जम्न सक्दाे रहेछ।
न त बग्न नै।
विछाेडकाे आँसु कहिल्यै नसुक्ने, नजम्ने र नबग्ने हुँदो रहेछ।
उनकाे सम्झनामा आज पनि औधी रूँदै छु म तर उनी के गर्दै हाेलिन्।
मेराे याद आउँदाे हाेला कि नाइँ ?
मलाई भने कपासको डल्लोले छोएजस्तै हुन्छ। उसको सम्झनामा काँडा उम्रन्छन् जिउमा। कान राता हुन्छन्, थरथर काम्छु। उसको मजेत्रोको सुवास मानौं, बताससँगै लहरिँदै आइपुग्छ मसम्म र मेरा मनका तारहरू झंकृत पारेर सरगमझैं विस्तारै बिलाउँछन्।
आज पनि उनकाे सहर पुग्ने हरेक थाेत्रा गाडीका अन्तिम थाेत्राे सिटहरूमा उनकै अनुहार देखिरहेकाे छु। हरेक चाेक, गल्ली, प्रतीक्षालयहरूमा उनैलाई देख्छु। बादलमा, पानिमा र बत्तीहरूमा पनि तिम्रै अनुहार देखिरहेकाे छु।
यतिबेला तिमीलाई यसरी याद गरिरहेछु जसरी महादेवको अनुपस्थितिमा कैलाश पर्वतमा पार्वतीले गर्छिन महादेवको स्तुति।
अब त यस्ताे लाग्छ मलाई तिम्राे गाउँ पुग्ने ती थाेत्रा बस मेरै चोटमा नून छर्किन गुडाइएका हुन्। पहिला तिम्राे माया भेटिने बाटोहरूमा अहिले तिम्राे यादबाहेक केही भेट्दिनँ।
तिमी जहाँ, जुन अवस्थामा छौ, बस् खुसी र मस्त रहनू।