फेसबुकमा निकै सर्च गरेँ। वर्षौं भयो होला सायद उसको प्रोफाइल खोजेको तर कतै भेटिनँ। यसो फुर्सद हुँदा सर्च गरिहाल्थेँ। सर्च गर्दा-गर्दा हैरानै हुन्थेँ, थाक्थेँ पनि। हजारौं प्रोफाइल चेक गरे हुँला। सर्च गर्दा-गर्दा आँखा नै तिरमिराउँथ्यो।
कहाँ होली, कता होली, कस्ती होली? सायद ठूलै पोस्टमा पुगेको हुनुपर्छ ऊ! किनकि ऊ निकै ट्यालेन्ट थिई हरेक हिसाबले। राम्री पनि उस्तै। बोली व्यवहार निकै सरल अनि सभ्य। बोल्ने तरिका, हिँड्ने तरिका, अरूलाई सम्मान गर्ने तरिका निकै सम्झन लायक थियो र त मैले आजसम्म उसलाई मेरो नजरबाट हटाउन सकेको थिइनँ। भुल्न सकेको थिइनँ।
एकदिन यसो घाम ताप्दै फेसबुक चलाउँदै थिएँ उसको नाम 'पिपुल यू मे नो' मा देखेँ। अनि झटपट प्रोफाइल चेक गर्दा साँच्चीकै आजसम्म फेसबुकमा खोज्दा खोज्दै हरेस खाएर सर्च गर्न छोडेको साथी नै पाएँ। नामसँगै थर अर्को जोडिएछ, फरक यत्ति हो। मन दंग पर्यो। केही पाएजस्तो, केही भेटेजस्तो भनेजस्तै। खुशीको सीमा रहेन।
पक्कै पनि उसले मेरो प्रोफाइल चेक गरेको हुनुपर्छ, मेरोमा 'पिपुल यू मे नो' आउनुको अर्थ। आफैसँग प्रश्न गरेँ मनमनै, किन होला आजसम्म मलाई रिक्वेस्ट नपठाउनुको अर्थ?
रिस पनि उठ्यो। सबै मानिस मैले सोचेजस्तै एकनासको कहाँ रहन्छन् र! पक्कै पनि ठूलो पोस्टमा पुगेको हुनुपर्छ, हामीलाई नटेरेको हुनुपर्छ सोच्यो यो मनले। म पनि पठाउन्न रिक्वेस्ट, आफ्नो पनि त भ्यालु हुन्छ नि! म भने उसको लागि मरिहत्ते गर्ने, उसलाई भने हाम्रो मतलबै नहुने कस्तो अचम्म! एक्लै गनगनाउन थालेछु आफैसँग।
उसको रिक्वेस्टको प्रतीक्षामा करिब छ महिना बितेछ, मनलाई योभन्दा बढी बाँध्न पनि सकिनँ। जति नै कठोर बन्छु भन्दा पनि मेरो मनमा पाप नभएरै होला धेरैबेर कठोर बन्न सक्दिनँ! यो मेरो कमजोरी हो या गुण आफैले बुझ्न सकिनँ आजसम्म।
हतारिएको मन फ्रेन्ड रिक्वेस्ट पठाइहालेछु। रिक्वेस्ट एसेप्ट होला र गफ गरौंला भनेको त हप्तौंपछि पो हुन्छ। आज त वर्षौपछिको भेट, मनभरिका कुरा गरौंला भन्ने मेरो सोचाइलाई फेरि उल्टाइ दिई। करिब एक हप्ता उसको रेस्पोन्सको बाटो हेरेँ तर उताबाट हाई, हेल्लोसम्म नभएपछि मैले हार खाएँ।
'हेलो गीत, हाउ आर यु?'
रिप्लाई पनि दुई शब्दमा पाएँ।
अब त अति भो यार! हेप्नुको पनि सीमा हुन्छ भन्दै गनगनाउँदै एक पटक फोन नम्बर माग्छु, आफ्नो पनि दिन्छु। त्यसपछि पनि त्यस्तै व्यवहार पाएछु भने म पनि जस्तालाई त्यस्तै गर्छु सोचेँ।
एकदिन आँगनमा घाम ताप्दै यसो फेसबुकमा अपडेट हुन मात्र के खोजेको थिएँ, नयाँ नम्बरबाट फोन आयो। मैले नचिनेको नम्बर दुई पटकसम्म उठाउदिनँ। त्यस दिन पहिलो घण्टीमै उठाइहालेछु। नयाँ नम्बर भए पनि बोली सुनेसुनेझैं लाग्यो। अनि अहिलेसम्मका रिसहरू मर्दै-मर्दै गए।
उसको बोलीमा कुनै घमण्ड थिएन न त कुनै बनावटी। छिट्टै भेट्ने वाचाका साथ बिदा भयौँ।
सबेरै उठेँ। झटपट-झटपट घरको काम सक्काएँ। भरे फर्कंदा सजिलो हुन्छ भनी तरकारी केलाएरै छोडेँ पनि। भेट्ने हतारमा झटपट रेडी भैहालेँ। अरूबेला पन्ध्र मिनेट लाग्ने बाट आज दश मिनेटमै कटेछ पत्तै भएन। गाडी पनि टक्क पाएँ। समयमै पुगेँछु। प्राय: म पुगिरहने रेस्टुरेन्टमा पुगेँ। मान्छे त ढिलो ढिलै छु तर पनि समयमै पुग्ने मेरो बानी। आज पनि जस आफैलाई भयो, म नै अघि पुगेछु। यस्सो भित्ता तिरको घडीमा आँखा मात्रै के लगाएथेँ कोहीँ आएको आभाष पाएँ।
सामान्य पहिरन सफाचट। सेतो कुर्था (उसको मनपर्ने कलर)मा कालो चश्मा। निधारमा निलो टीका। गलामा सानो सुनको सिक्री। बोली उस्तै, हाँसो उस्तै। हाँस्दा धपक्कै बल्ने त्यो रूप। सबैको मन जितेको त्यो हाँसो। सबैको मन खिचेको त्यो हाँसो। मानौँ कि उसको सम्पूर्ण श्रृङ्गार त्यही हाँसो। रूप त्यही हाँसो।
थोरै बोल्ने ऊ। आज भने फरक भैदियो।
म सुनिरहेँ, ऊ बोलिरही...।
चिया कुन बेला टेबुलमा आइपुग्यो, त्यतिसम्म हेक्का भएन छ। चियाभन्दा मरेको पनि जाग्ने म, चियाको कपमा तप्प पर्दा पो झस्किएछु। चियाको कप भित्र तप्किएको त्यो 'आँशु'। चिया सेलायो या म सेलाएँ! आफै अलमलिएँ। कालो चश्माभित्र लुकाउन खोजेको आँसु अनायासै छल्कियो। म निशब्द भएँ। विगत सम्झिएँ। त्यो फिटिङ कुर्था, कालो चश्मा, टकटक हिल, मिठो मुस्कान... यस्तै यस्तै।
सुख्खा हात, खिइएका नङ, एक किसिमको घबराहट, अलिकति हीनताबोधबाटै प्रष्ट हुन्थ्यो कि ऊ आजसम्म साथीभाइ सर्कलबाट टाढा रहनुको रहस्य।
घर पुगेँ, खाना खान त्यति मन लागेन। उसको कुरा मनमा खेलिरह्यो। छोरी मान्छेको जिन्दगीलाई धिक्कारेँ पनि। आफू जतिसुकै राम्रो, इमान्दार, शिक्षित हुँदाहुँदै पनि अबुझ लोग्नेको अघि केही नलाग्ने तथ्य आँखैअगाडि भेटेँ।
धिक्कारे त्यो लोग्ने भनाउँदोलाई। उसको सरकारी जागिरको दम्भलाई। त्यस्तो सर्वगुणी श्रीमतीप्रति गरेको त्यस्तो व्यवहारलाई। उसको घमण्डलाई। स्वास्नी कजाउने त्यो प्रवृत्तिलाई। काम, काम, काम मात्र देख्ने त्यो अधर्मीलाई। श्रीमती हेप्ने त्यो पात्र या चरित्रलाई।
आजसम्म पनि यस्ता पाखण्डीहरूको राज चलेको यथार्थतालाई मौन समर्थन गर्नु बाहेक अरू विकल्प थिएन आजको भेटमा।
क्रमशः