मैले भातलाई भुजा भन्न जानिनँ
तिम्रा नियम, कानुन त झन मान्दै मानिनँ
म त पाखाबाट झरेको पाखे
जिन्दगीका अनेकौं स्वाद पनि चाखेँ
अचम्म छ
त्यही अन्नलाई गरिबको झुपडीमा भात भन्छ
राजा साहबको दरबारमा चाहिँ भुजा भन्छ
अन्न त त्यही न हो
पाक्ने आगो नि त्यस्तै हो
तर
खाने मुखहरू चाहिँ फरक-फरक
म सोच्छु कहिलेकाहीँ
किनकि
सोच्नु मेरो जागिर हो, काम हो
कि
भात कसरी भुजा बन्छ?
अनि उत्तर पाउँछु
कि जब भातले एउटा प्रकिया पूरा गर्छ
अनि
भात भुजा बन्दो रहेछ
त्यो प्रक्रिया हो
धन/वैभव अनि थाहा छ
एउटा झुठो अहंकारको
भुजा खानेले सोच्लान् कि
ऊ भुजा ज्युनार गरिबक्सँदै छ
तर
म त उसले
मात्र भात खाइरहेको देख्दछु।