खाडीको उखरमाउलो गर्मी
सुख्खा र उराठ मरुभूमिजस्तो
सात समुन्द्र पारिको बिरानो बस्तीमा
कल्पनाका कोपिला फुलाउँदा फुलाउँदै
बैँसालु उमेरले डाँडा काट्नै आटेछ
अब त फर्क है जुनेली
किशोरावस्थाका निश्चल वर्षहरू
एक अपरिचित कविले
एघारौं शताब्दीमा लेखेको
म विश्व परिवर्तन गर्न चाहान्थेँ भन्ने कविताजस्तै
संसार परिवर्तन गर्ने उत्कट अभिलाषामा
पुँजीवाद, समाजवाद र साम्यवादका
ठेलीको गहन अध्ययनमै बिते जुनेली
तर अफसोस
हामीले संसार परिवर्तन गर्न सकेनौँ
देश र सामाज परिवर्तन गर्न सकेनौँ
सक्यौँ त केवल आफूलाई मात्रै
कोही सहपाठी हाम्रै ढाड र काँधमा चढेर
विलासिताको असीमित महासागरमा
भौतिक सुख सुविधाको अनन्त साम्राज्यमा
उन्मत्त हाँसो हाँसिरहेका छन्
हामी पनि त बदलियौँ नि जुनेली
हिजो सामान्तको सफाया गर्न तरबार उठाउने हातहरू
आज तिनै सामान्तको साम्राज्य बचाउन
विदेशी भूमिमा पसिनाको हर थोपासँग
केही सेन्ट साटिरहेका छन्
हिजो विस्तारवाद र साम्राज्यवादको विरुद्धमा
घृणाको विष ओकल्नेहरू
आज तिनैका गुलाम भएर
प्रभु प्रमेश्वरको भजन मण्डलीजस्तो
भजन कृतन गरिरहेको दृश्यले
हिजो सम्झेर मलाई पनि त उदेक लाग्छ नि जुनेली?
हिजो निमुखाको सुखको संसार ल्याइदिने भन्दै
मृत्युको बलिवेदीमा होमिएका हामी
आज आफनै झुपडी उजाडिएको छ जुनेली
इतिहासको एक हैन, अनेक कालखण्डमा
रगत पोखिएकै हो जुनेली
आशातीत स्वप्निल संसारको चाहनामा
पसिना चुहिएकै हो जुनेली
बिन्ती जुनेली, अब त फर्क
अब परिवर्तन आफैबाट गर्नुछ जुनेली
भत्किएका घरका भित्ता आफै उठाउनु छ
पाखा र बारीहरू
परिश्रमको पसिनाका एक-एक थोपाले सिंचित गर्नुछ
बाँझो र पाखाबारीमा आशाका बिरुवाले हराभरा पार्नुछ जुनेली
आशाको दियो निभ्न नदिन
निराशाको समुन्द्रमा डुब्न नदिन
सन्तानका कोमल मनलाई सम्झेर
अब त फर्क है जुनेली
के यहीँ थियो त लक्ष्य हाम्रो जीवनको?
विदेशी गल्लीमा भौतारिँदै
निराश समुन्द्रको कुनै किनारामा
जबर्जस्त आशाको अंकुरण गर्न
विवशताको पैतालामुनि
च्यापिएरै बित्ने हो त जिन्दगी?
अह!
यो त हुनै सक्दैन
अब बाटो बदलौँ, व्यवहार र सोच बदलौँ
गलत दिशामा बहेको हुरी र हुन्डरीविरुद्ध
सतिसालझैँ उभिएर
हातमा हात मिलाउँदै
काँधमा काँध मिलाउँदै
यथार्थताको धरातलमा ठिङ्ग उभिएर
आऊ जुनेली एकताबद्ध भएर कर्म गरौँ
मेरो र पराई भनेर हैन
विभाजनका सीमारेखा मेटाउँदै
एकताको माला उनेर
व्यवहारिकताको कसिमा
तिमी सफल भयौ भने
आशाको अंकुरण हुन कुनै कालखण्ड पर्खनु पर्दैन
देश उचाल्ने त आशावादका बलिया काँधहरूले हो
देश बदल्न कुनै महानतम मानव हैन
व्यवहारिकताको परीक्षामा सफल, इमानदार
कर्मवीरहरूको खाँचो हुन्छ।
त्यो कर्मवीर तिमी हुनुपर्छ
अब कसैको सफाया गर्नु छैन जुनेली
विभाजनका रेखा कोर्नु छैन जुनेली
एकले अर्कोलाई सम्मान र विश्वास गर्ने
समानताको संसार बनाउनुछ
अब त फर्क है जुनेली!