ए जून
कति घुम्टोभित्र बसेकी
उघार न घुम्टो
देऊ न दर्शन।
तिम्रो उज्यालोको
काख नपाएर
हिमालहरू मलिन भइसके
समुद्रमा विद्रोहको छाल
उठिसक्यो।
तिम्रो वास्नामा
आलोकित हुन नपाएर
फूलहरू मुर्झाइसके
माहुरीहरू भोकाइसके
पुतलीहरू नियास्री सके।
ए जून
अब त आफ्नो घुम्टो उघार
मसँग किन यत्रो रिस
म जाबो मान्छे न हुँ
न मेरो बुद्धि न मेरो सुद्धी
मलाई त यो शरीर नै प्रिय
एक पलको लागि भए पनि
दृष्टिको भ्रम नै प्रिय
मनको लोभ नै प्रिय
मुठ्ठीभर धन नै प्रिय
हिसाबकिताब नै प्रिय
डर नै प्रिय।
मैले तोडेको वाचामा
यत्रो विद्रोह?
दोष त तिम्रो पनि हो नि!
बुद्धिहीन, सुद्धिहीन, दृष्टिहीन
मेरो वाचा पत्याउने
मान्छेको कुरा पत्याउने!
ल भैगो
अब साँच्चै वाचा तोड्दिनँ
अब चाहिँ गल्ती गर्दिनँ
तिम्रै पूजा गर्छु
तिम्रो वरिपरि घुम्छु
तिम्रै पग चुम्छु
तिम्रै नजिककको तारा हुन्छु।
ए जून
अब त
उघार न घुम्टो
देऊ न दर्शन।