मायामा न जात न धर्म, केही हेरिदैँन। हेरिन्छ त केवल चोखो माया। मेरो माया पनि त्यस्तै थियो। मैले उसको रुप हेरिनँ, धन हेरिनँ। ऊ कस्तो परिवारबाट हो, त्यो हेरिनँ। हेरेँ त केवल उसको मन।
माया के हो भन्ने पनि थाहा थिएन मलाई त। लगभग म त्यतिबेला १६/१७ वर्षको हुनुपर्छ। मलाई त्यति धेरै याद त छैन ती दिनहरू कसरी सुरु भए तर जति मलाई याद छ म आज ती पलहरू ताजा गर्दैछु।
मलाई मेरो दाइले त्यतिबेला काठमाडौंबाट एउटा नोकियाको सानो फोन ल्याइदिनु भएको थियो। म त्यतिबेला कक्षा ७ मा पढ्थेँ। गाउँमा खासै मोबाइल कसैले पनि बोक्दैन थिए। म मेरो परिवारको एउटै छोरी थिएँ। मलाई सबैले धेरै माया गर्नु हुन्थ्यो। मैले भनेको कुरा सम्भव भएसम्म पुर्याइदिनु हुन्थ्यो।
मोबाइल बोक्ने ठूलो इच्छा राखेपछि दाइले मलाई मोबाइल लिएर आइदिनु भएको थियो। म एकदमै खुसी थिएँ। मेरो साथीहरूसगँ फोन थिएन। हामी साथीहरू जम्मा भएर नम्बर मिलाई-मिलाई फोन लगाउथ्यौँ। कहिले नम्बर मिलेन भन्थ्यो त कहिले फोन जान्थ्यो।
मिस्कल हानेपछि धेरैले कल गर्थे, कतिलाई त हामी खुब जिस्काउथ्यौं त कतिले हामीलाई नै गाली गर्थे। त्यसरी नै हाँस्दै जिस्किँदै दिनहरू बित्दै थिए। एकदिन म एक्लै थिएँ, कल आयो।
'हेलो! हजुर को बोल्नु भएको?'
'कति मिस्कल हानेको? काम छैन?' भनेर कसैले भन्यो।
म एक्लै थिएँ, बोल्न अलि डर लाग्यो अनि मैले डराउँदै 'मैले हानेको हैन, हजुरलाई मिस्कल मेरो साथीहरूले हो' भनेर फोन हतार-हतार काट्दिएँ। फेरि एकछिनपछि फोन आयो, मैले फोन उठाएर 'सरी भनेँ त, अब किन गर्नु भाको?' भन्दै थिएँ 'सुनन, तिम्रो नाम के हो? नडराऊ म केही भन्दिनँ' भन्नुभयो।
मैले 'मेरो नाम अप्सरा हो, मेरो घर स्याङ्जा हो' भनेँ।
उहाँले सोध्नुभयो, 'मेरो नम्बर कहाँबाट पायौ?'
मैले त्यसको जवाफ झुटो दिएँ। साथीले दिएको भन्दिएँ किनकि मलाई नम्बर मिलाएर कल गरेको भन्न अलि लाज लाग्यो।
उहाँ केहीँ सोध्दै हुनुहुन्थ्यो मैले फेरि फोन काट्दिएँ। मैले उहाँको नाम-ठेगाना केही सोधिनँ।
भोलिपल्ट हामी स्कुल जाँदै थियौं, फेरि उसैको फोन आयो। हिजो किन कल काटेको भनेर निकै कुराहरू सोध्नुभयो। मैले पनि जवाफ दिँदै गएँ। मलाई नि उहाँको नाम सोध्न मन लाग्यो। उहाँले हाँस्दै 'मेरो नाम सरोज हो, म काठमाडौं बस्छु, हाम्रो घर नै काठमाडौंमा छ, पहिला हजुरबुबाहरू चाहिँ बुटवलतिर बस्नु हुन्थ्यो रे। हाम्रो पुर्खैली घर चाहिँ बुटवल हो, म अहिले इन्जिनियरीङ पढाइ गर्दैछु' भन्नुभयो।
म कहाँ कक्षा ७ मा पढ्ने, ऊ कहाँ इन्जिनियर। म त डराउन थालेँ। केही दिन कुरा भएन। उहाँले कल गरे पनि म उठाउँदैन थिएँ। तर उहाँले बारबार कल गरेपछि फेरि म कुरा गर्न थालेँ। फुर्सद हुँदा म धेरै समय उहाँसँगै कुरा गरेर समय बिताउन थालेको थिएँ।
यसरी नै दिनहरू बित्दै गयो, उहाँले मेरो बारेमा धेरै कुरा बुझिसक्नु भएको थियो तर मैले उहाँको बारेमा त्यति बुझेको थिइनँ र बुझ्न जरुरी पनि मानिनँ। उमेरको हिसाबले पनि म धेरै सानी थिएँ उहाँभन्दा। राम्रोसँग कुरा हुन्थ्यो हाम्रो।
दिन, महिना, वर्ष बित्दै गयो। तीन वर्षपछि उहाँले मलाई माया गर्ने र मबिना बाँच्न नसक्ने कुरा गर्नुभयो। म यति धेरै डराएँ कि मैले उहाँलाई भनेँ, 'मेरो मनमा हजुरको लागि त्यस्तो केही छैन, हजुर धेरै बुझ्ने हुनुहुन्छ। हजुर इन्जिनियर, म भर्खरै १० मा पढ्दै छु, यस्तो कुरा नगर्नुस्। हजुरले अरु नै केटीसँग बिहे गर्नुस्।'
तर उहाँले मलाई नपाए मर्छु, बिहे गरे तिमीसगँ गर्छु नत्र तिम्रो नाममा सुसाइड गर्छु' भन्नुभयो। उहाँको मलाई डराउने शब्द सुनेर मैले केही नभनि उहाँको प्रेम स्वीकार गरेँ। असाध्यै माया गर्ने, उहाँ मलाई भेट्न आउने कुरा गर्नुभयो। मैले नि हुन्छ भनेँ।
उहाँको बारेमा मैले ममीलाई भनिसकेको थिएँ। उहाँलाई लिन म बस स्टेशनमा गएँ। पहिलो पटक देखेको थिएँ उहाँलाई। अहिलेजस्तो त्यतिबेला भिडिओ कलमा कुरा हुन्न थियो। उहाँ एकदमै राम्रो, कालो पाइन्ट र सेतो सर्टमा हिरोजस्तै देखिन्नु हुन्थ्यो। म भने गाउँको मान्छे काली थिएँ।
उहाँलाई देखेपछि त मलाई नि के भयो भयो, कति धेरै माया लाग्ना थाल्यो। उहाँलाई घरमा लिएर आएँ। ममीलाई त थाहा थियो, बुबालाई भनेको थिइनँ। अलिअलि डर लागेको थियो। तर ममीले बुबालाई भनिसक्नु भएको रहेछ। मलाई बुबाले केही भन्नु भएन। बुबाआमाले उसलाई धेरै कुरा सोध्नु भयो, उहाँले पनि मलाई भनेको कुरा नै मेरो बुबाममीलाई भन्नुभयो।
मलाई माया गरेको र बिहे गरेर लाने कुरा गर्नुभयो तर बुबाले 'तपाईंको परिवार लिएर आउनुस् नत्र हामी त्यत्तिकै बिहे गर्दिन्नौं' भन्नुभयो। उहाँको जिद्दी र जबर्जस्तीले मेरो केही लागेन। बिहे गरेरै जाने भए हिँड नत्र मर्छु भन्न थाल्नुभयो। म पनि धेरै माया गर्थें उहाँलाई, कहाँ मर्न दिन सक्थेँ र?
मैले उहाँको कुरामा हारेँ। हामी राति नै घरबाट भाग्यौं। भागेर काठमाडौं गयौं। नाइट गाडीमा गएका थियौँ, बिहानै काठमाडौं पुग्यौं। त्यो बिरानो सहरमा मेरो आफ्नो भन्नु सरोजबाहेक कोही थिएन। सरोजलाई हजुरको घरमा जाम न भनेँ। तर उहाँले 'अहिले तिमीलाई मेरो परिवारले स्वीकार गर्नु हुन्न, केही दिनमा जाने' भनेर टार्नु भयो।
हामीसँग धेरै पैसा पनि थिएन। जसोतसो एउटा सानो रुम लियौँ। बाबाममीलाई नभनी भागेर आउन मन त थिएन, सरोजको जबर्जस्तीले बाउआमा छोड्न बाध्य भएको थिएँ। सरोज सामान किन्न जानु भएको थियो त्यही मौका छोपेर मैले आमालाई कल गरेँ। आमाले रुँदै 'राम्रोसँग भनेर जान सक्थिस् नि नानी, तैँले भनेको कुरा हामीले कहिले नाई भनेको थियौं र?' भन्दै रुन थाल्नु भयो।
आमा रोएको सुन्न नसकेर मैले फोन काटिदिएँ। केहीछिनमा सरोज आउनु भयो। म रोएको देखेर सरोजले के भयो भनेर सोध्नुभयो। आमासँग बोलेको कुरा भनेँ। उहाँले 'तिमी नरुनू, म तिमीलाई धेरै माया गर्छु, तिम्रो आमाबुबाले बोलाउनु भएपछि हामी जाने घर' भन्नुभयो।
बिहे गरेको ६/७ दिन भएको थियो, बिहानै एउटा नयाँ नम्बरबाट कल आयो। सरोज सुतिरहनु भएको थियो, मैले उहाँको फोन उठाएँ। फोनमा 'बुढो किन हो र तपाईंले कल गर्नु नि हुन्न? मैले गर्दा नि उठाउनु हुन्न? छोरी बिरामी भएर हस्पिटल राखेको छ बुढो, आउनुस् न छिटो' भनेको आवाज आयो।
म एकहोरो सुनिरहेँ।
'किन नबोलेको? बोल्नुस् न' भन्दै गरेको सुनेको थिएँ सरोजले मेरो हातबाट फोन खोसेर काट्दिनु भयो। मैले उहाँलाई सोधेँ, 'किन मलाई साँचो कुरा भन्नु भएन? किन मलाई झुट बोलेर ल्याउनु भयो? तपाईंको बुढी, छोराछोरी रछन्' भनेर ठूलो-ठूलो स्वरमा कराउँदै सोधेँ। तर उहाँको जवाफ केही आएन।
म रोएको सुनेर धेरै जना जम्मा भए। कतिले उहाँलाई गलत भने त कतिले मलाई। भाग्यमै यस्तै रैछ भनेर उहाँलाई राम्रोसँग सोधेँ। उहाँको श्रीमतीसँग भेट्ने भनेँ। उहाँले जेठी श्रीमती लिएर आउनु भयो। उहाँहरूको नि प्रेम विवाह नै हो रे।
घरमा त्यति राम्री श्रीमती, छोराछोरी हुँदाहुँदै पनि मलाई मायाको नाटक गरी बिहे गरेर ल्याउनु भयो, अब मलाई उहाँको अगाडि एकपल बस्न मन थिएन। मलाई एकदमै टाढा जानु थियो। उहलाई गरेको माया एकैछिनमा घृणामा बद्लियो।
उसले 'बोल्दाबोल्दै तिमीलाई माया गर्ने पुगेँ, तिमी नि माया गर्न लाग्यौं। तिमीलाई छोड्न सकिनँ। मेरो बाध्यतालाई बुझ' भनी हाम्रो मायाको नाम बाध्यता दियो। उसको बाध्यता ले मेरो जिन्दगी सधैंको लागि आँसुमा परिणत भयो।