कोभिड- १९ को प्रथम चरण चलिरहेको थियो। हाम्रो मायाको नि सुरुआत हुँदै थियो। आज चौथो चरण चल्ने बेलासम्म यथावत छ। अनेक उतरचढावका बीच त्यही पुरानै मायामा अनि ती सुरुआती दिनहरूमा झैँ माया अगाडि बढिरहेको छ।
जताततै बन्दाबन्दीको समय थियो। एउटा कोठाको मान्छे अर्को कोठाको सँग भेटघाट बन्द थियो। त्यो पल जताततै संक्रमितको संख्या बढिरहेको थियो। मृत्युको खबर दिनदिनै बढ्दो क्रममा थियो। कति आफन्तहरू मृत्युको मुखमा पुगेर फर्किएका थिए।
अनि कति जना मृत्युका प्यारा बनेर गए। सम्झिँदा अहिले पनि मुटु नै सिरिङ्ग भएर आउँछ। कोठाभाडामा बसाइ न त आफूसँग मिल्ने कोही थियो न त बोल्ने कोही। बाहिर निस्केर हिँड्ने अवस्था थिएन। बजार सबै सुनसान भएको थियो। सहरका यतिका मान्छे कुन्नी कता गायब भएका थिए। आफू बसेको कोठा नि मसानघाटभन्दा कम थिएन।
त्यो समयमा न त यहाँ मेरो कोही आफ्नो थियो न त परिवारसँग भेट नै हुन्थ्यो। कतिबेला कहाँबाट कस्को मृत्युको खबर आउने हो, केही टुङ्गो थिएन। एक्लै-एक्लै बिताएका ती पलहरू सम्झिँदा अहिले पनि मुटु कामेर आउँछ। भाडाको बसाइ थियो। घरबेटी पनि दिउँसोको समयमा खेतीपाती गर्न गैहाल्थे। बन्द घरको बन्द कोठामा आफू एक्लै अनि चैतको त्यो गर्मी कहाँ बिर्सन सक्छु र म!
बिरक्तिएर पीडामा थिएँ। फेसबुक चलाउँदै गर्दा अचानक एउटा नयाँ मान्छेको फ्रेन्ड रिक्वेस्ट आउँछ, मैले नि याद नै नगरी एसेप्ट गरिदिएँ। त्यहीबाट सुरु हुन्छ हाम्रो माया।
हाई-हेल्लोबाट सुरु भएको सम्बन्ध यति गहिरो रुप लिन्छ भन्ने हामी दुवैले सोचेका थिएनौँ। दिनदिनै कोभिड बढ्दो दरमा थियो। हाम्रो बोलचाल र एसएमएस पनि। उसको त्यो मलिन अनुहार, निःस्वार्थ माया र उसले मप्रति गर्ने व्यवहारले मलाई ऊबाट टाढा हुन दिएन।
मैले पनि मेरो घरपरिवार, आफन्तबाट पाउने माया र केयर ऊबाट नै पाउन थालिसकेकी थिएँ। जसरी सूर्यको किरणले हरेक दिनको सुरुआत गर्छ त्यसरी नै उसको फोन र एसएमएसले मेरो दिनको सुरुआत हुन थालेको थियो।
हरेक दिनको बिहानीसँगै हाम्रो माया पनि निकै अगाडि बड्न थालिसकेको थियो। हामी एकअर्काको एकदमै केयर गर्न थालेका थियौं। एकअर्कालाई साथ र सपोर्ट गर्नको लागि हामी कहिल्यै पनि पछाडि परेनौं। त्यो समय मेरो लागि ऊ सबैभन्दा खास व्यक्ति थियो। उसको लागि म।
कोभिडसँगै पलाएको हाम्रो प्रेम पनि थियो। प्रेमलाई हामीले त्यही समयको लागि मात्र सीमित हुन नदिई पहिलो मायाको वार्षिकउत्सव पनि मनाइसकेका थियौं।
आज पनि मप्रति उसको माया त्यति नै छ।
मौनताबाट सुरु भएको यो मायामा झगडा गर्ने प्रमुख पात्र चाहिँ सधैं म नै हो। जति रिस उठे पनि उसले कहिलै मेरोसामु मप्रति रिस देखाउन चाहेन, बरु मलाई सम्झाउन बुझाउन सकेन भने ऊ आफै रोइदिन्थ्यो। म पनि उ रोएको हेर्न कहाँ सक्थेँ र? अनि म नि रोइदिन्थेँ।
त्यसपछिको केही समय मौनता भङ्ग गर्दै फेरि हामीलाई के कुराले यति रुवायो भन्ने प्रश्नको उत्तर खोजी हुन्थ्यो। रुवाइको बीउ पटक लगाएर छोडिन्थ्यो। फेरि गल्ती नगर्ने सर्तहरू हुन्थे।
साँच्चीकै प्यारो र सुमधुर थियो हाम्रो सम्बन्ध अनि माया।
भेट भएको यतिका समयपछि सानो-सानो कुरामा झगडा गर्दै बिताएका ती पल, म रिसाएर नबोल्दा पनि तिमीले फकाएका ती क्षणहरू आज पनि कति प्रिय बनेका छन्। त्यही दिनको याद अनि तिनै पलहरूको सम्झनामा सानु आज पनि पूरै दिन र रातहरू बिताइरहेकी छु।
म बोलेर नथाक्ने अनि तिमी मेरो बोली सुनेर नअघाउने मान्छे। आज तिम्रो त्यो मन कति दुखेको छ भनेर अन्दाज लगाउन सक्छु। तर के गर्ने? अब पहिलाजस्तो माया रहेन, पहिला जस्तो विश्वास रहेन। हाम्रो मायामा बिँझेको काँडालाई न त तिमीले नै निकालेर फाल्न सक्यौ, न त मैले नै निकालेर मिल्काउने आँट गरेँ। यो बन्द कोठाभित्र एक्लै छटपटीको पीडा भोगेर, तिम्रो मायामा हराएर मुस्कुराउने मलाई अब तिमी कहिल्यै बुझ्न सक्दैनौ माया।
के कुरामा मेरो गल्ती भयो? तिमी आफै भनन। तिमीसँग सत्य बोलेँ, मेरो विगत र वर्तमानमा भएका सबै कुराहरू तिमीसामु प्रकट गरेँ। मैले मायामा कसरी धोका पाएकी थिएँ, कसरी म ठगिएँ, कसरी म लुटिएँ, यही सत्य त तिमीलाई भनेकी थिएँ नि! केही बनावटी थिएन, केही झुट थिएन, मनमा गह्रौ भारी बोकेर हिँडेकी थिएँ। तिमीसामु सबै कुरा प्रकट गरेपछि मेरो मन त हलुका भयो सानु तर मेरो कहानीले तिमीलाई कठोर बनायो। सम्बन्ध सकिन्थ्यो भने झुट बोल्थेँ नि।
साँचो र सत्य बोलेर सम्बन्धमा कहिल्यै मिठास आउँदैन भन्ने सुनेकी थिएँ, आफैमा यो कुरा लागु हुन गयो। साँच्चीकै सत्य कुरा नै सुनेकी रहेछु। आज यो एउटा भएको मन नै बाँडिएर दुई वटा हुन पुगेको छ। सबै कुरा चटक्कै छोडेर, भुलेर तिमीसँगै रमाउँ भन्ने एक मन अनि नाई अब परिस्थिति कहाँ पहिलाजस्तो छ र? तिमीसँग टाढा भएकै ठिक लाग्ने अर्को मनबीच अल्झेर बितेका यी दिनरातहरू, एउटा निर्णयमा पुग्न नसकेर पिल्सिएका यी भावनाहरू, तिम्रो नजरमा नजर मिलाएर बोल्न नसकेका यी शब्दहरू अनि यो मनमा आँधीबेरीझैँ चलेका पुराना यादहरू।
उफ! म सोच्दासोच्दै कहाँ पुग्छु, के गर्छु थाहा नपाउने भैसकेकी छु। किन-किन मलाई यो सम्बन्धबाट टाढा हुनु छैन। तिम्रो त्यो मायालाई लत्याएर हिँड्न सक्ने आँट पनि आउँदैन। तिमीप्रतिको विश्वास गुमाउन मनै छैन।
आज पनि मैले तिमीलाई गर्ने मायामा कमी आएको छैन। तिम्रो भरोसा तोडेर हिँड्ने हिम्मत आएको छैन। जब तिमीसँग कुरा गर्न थाल्छु, तिमी त्यही पहिलाको मेरो तिमी हौ तर फेरि लाग्छ म गलत छु। तिमी अब त्यही तिमी रहेनौ।
म पनि त्यही म रहिनँ। मनमा भएका इच्छा र चाहनाहरू अब मनमा नै रहँदा उचित सम्झिन्छु। फेरि तिमीसँगै प्रेम चाहन्छु। बाँकी प्रेमील सपना पूरा हुन चाहन्छु। तिमीसँग नभेटी मनैदेखि प्रेम गर्ने धोको छ।
आऊ न फेरि अन्जान बनेर। समालिदेऊ न सपनीमा छरिएका यी मेरा केशहरू। तिमीसँग त्यही प्रेम चाहन्छु। जुन प्रेमले मलाई माया सिकाएको थियो। तर सायद... यो मनको रहर अब यही मनमा सीमित रहने छ।