आफ्नो चरित्र समाजमा बन्धकी राखेर अनि आमाबुबाको इज्जत लिलाम गरेर जन्माएको मेरो प्यारो छोरा!
वर्षौंदेखि तिमीले सोध्न नसकेका तर तिम्रो अनुहारमा स्पष्ट देखिने ती हँसियाजस्ता प्रश्नहरूको ठुँगाइ अब म धेरै सहन सक्दिनँ। मनबाट निस्किएर ओठहरूमै अल्झिएका तिम्रा ती प्रश्नहरूको जवाफ आज दिने कोसिस गर्दैछु।
हो, यो समाजले, यी छरछिमेकले, तिम्रा साथीभाइले तिमीलाई भनेको र सुनाएका कुरा सही हो। तिमी बाबुबिनाकै छोरा हौ। किनभने तिमी मेरो मात्र छोरा हौ। एउटी स्त्रीको पाठेघरमा वीर्य स्खलित गर्दैमा कोही पनि बाबु हुँदैन। मैले पनि तिमीलाई जन्मनुअघि नै मारिदिएकी भए वा जन्माएर कतै झाडीमा फालिदिएकी भए मलाई पनि तिम्री आमा भन्ने हैसियत हुँदैन थियो।
त्यसैले मेरो पाठेघरमा तिम्रो संरचना निर्माण हुँदैछ भन्ने थाहा पाएपछि फरार हुने त्यो व्यक्तिलाई म तिम्रो बाबु भन्न लायक ठान्दिनँ। मेरो विश्वासको चीरहरण गरी मलाई समाजसामु चरित्रहीन बनाएर फरार कुनै नामर्द तिम्रो बाबु हुनै सक्दैन। त्यसैले तिमी मेरो मात्र छोरा हौ।
तेस्रो पटकसम्म त उसको शारीरिक सम्बन्धको प्रस्तावलाई अस्वीकार गरेकै हुँ। तर चौँथो पटक भने ऊ सफल भयो- विश्वासको शब्दजालमा मलाई अलमल्याउन। अर्थात्, ऊ आफ्नो प्यास मेट्न सफल भयो तर म भने त्यही पल असफल भएँ आफ्नो कुमारीत्व बचाउन।
'मेरो विश्वास लाग्दैन र?' भन्ने उसको वाक्यले ढुक्क बनाएको थियो मलाई। 'हामी श्रीमान-श्रीमती बनिसक्यौँ मनले, वचनले अनि विश्वासले। सिन्दुरै हाल्न त बाँकी हो' भन्ने उसको वचनले निर्धक्क बनाएको थियो।
हुन पनि हो प्रेम गरेकी थिएँ, ऊसँगै जिन्दगी बिताउने सपना देखेकी थिएँ। सिङ्गै जिन्दगी दिन तयार भएकी मैले उसले मागेको केही समय मात्र त दिएकी थिएँ उसलाई। जिन्दगी बर्बाद हुन आखिर त्यही भ्रम काफी भयो।
जब मेरो आफ्नै शरीरमा एउटा अर्को शरीरको संरचना बन्दैछ भन्ने थाहा पाएँ, मलाई अझै याद छ म कति खुसी भएकी थिएँ। मलाई आत्मैदेखि कति गर्व महसुस भएको थियो। आमा बन्ने खुसीले छाती चौँडा र कति फराकिलो भएको थियो।
अब उसले सामाजिक रुपमा मलाई आफ्नो बनाउला, सबथोक उसैलाई सुम्पिसकेकी म बाँकी रहेको मेरो खाली सिउँदो पनि उसैलाई सुम्पिदिन्छु। सिन्दुरै हाल्न त बाँकी थियो नि, अब त्यो पनि हालिदेला उसले भन्ने सोचेकी थिएँ। तर मेरो खुसी कर्कलाको पातमा अडिएको पानीका थोपा जसरी क्षणभरमै विलीन भयो।
जब मैले यो कुरा उसलाई सुनाएँ र विवाहका लागि प्रस्ताव गरेँ ऊ विवाहका लागि आफू तत्काल योग्य नभएको भन्दै पछि हट्यो। एउटी कुमारी युवतीलाई आमा बन्न योग्य बनाउन सक्ने र जान्ने मान्छेले विवाहका लागि भने कति सहजै आफू योग्य नभएको बहाना बनायो।
मेरो प्रेम उसको जस्तो स्वार्थी थिएन, त्यही प्रेमका लागि नै हो म उसको झुटो आश्वासनमा फसेको। मेरो शरीरसँग खेल्ने स्वार्थ पूरा भएपछि उसको मन मबाट भरिँदै गयो। यता मेरो शरीरभित्र तिम्रो आकृति झन्-झन् बढ्दै गयो। त्यही आकृति हेरेर ममाथि औंला ठड्याउनेहरूको संख्या पनि दिनदिनै बढ्दै गयो। कुमारी आमा बन्न लागेकोमा उनीहरूले मेरो चरित्रमा अनेक खोट देखे तर प्रेमको नाममा एउटी कुमारी युवतीको अस्मिता र भावनासँग खेलवाड गर्ने उसलाई भने त्यही समाजले दोषी हो सम्म भनेन।
आमा बन्न मैले मेरी आमा त्यागेँ, समाजमा बेइज्जती सहेँ, वचन सहेँ र आफैँले सबै जुटाएर नयाँ संसार सिर्जना गरेर तिमीलाई जन्माएँ। सबैका वचन र बेइज्जती सुनेरै पनि तिमीलाई हुर्काएँ।
सानो हुँदा खुब सोध्थ्यौ तिमीले 'आमा, मेरो बुबा खै?' भनेर। म सधैँ अनेक कुरा गरेर टारिदिन्थेँ। सोचेकी थिएँ, एकदिन तिमी ठूलो हुन्छौ, कुरा बुझ्ने हुन्छौ अनि सबैकुरा भनौँला। तर तिमी जति ठूलो हुँदै गयौ, उति टाढा हुँदै गयौ। साथीभाइ, छरछिमेक सबैले आफूलाई बाबुबिनाको छोरो भनेको सुनेर सायद तिमीलाई नराम्रो लाग्थ्यो होला।
जति बुझ्दै गयौ, तिमीले विस्तारै मसँग बोल्नै छोड्यौ। आवश्यकताभन्दा बाहेक केही कुरै गर्न छोड्यौ। सुन्छु आजभोलि त आमाबुबा आवश्यक पर्ने ठाउँमा पनि मेरो कोही छैन भनेर टारिदिन्छौ रे। साथीभाइ माझ आमाबुबा नै मरिसके भन्छौ रे। छोरा, तिमी बुझ्ने त भयौ तर बुझ्नुपर्ने धेरै विषय बुझ्नै नचाहने भइसकेछौ।
छोरा, आज तिमी त्यही मानिसको परिचय नपाएर मसँग टाढियौ जुन मान्छेले तिमी यो धर्तीमा आउनुअघि नै तिमीलाई मार्न मलाई बारम्बार दबाब, प्रभाव र धम्कीसम्म दिएको थियो। दुःख लाग्छ तिमीले त्यही मान्छेको परिचय नपाएर आफ्नी आमाको परिचय पनि लुकाउन थालेछौ।
जुन मान्छे म मेरो गर्भलाई जसरी पनि जन्माउँछु र आमाको दायित्व पूरा गर्छु भन्ने मेरो अठोट सुनेर फरार भएको थियो, त्यही मान्छेको विषयमा चित्त दुखाएर तिमी आज मसँग टाढिएका छौ। तिमी टाढिँदा र म आफू एक्लो हुँदा आज खासै दुःख लागेको छैन। किनभने म त कहिले पो कसको नजिक थिएँ र? चाहिएको समयमा मैले कसको साथ पाएकी थिएँ र? न पहिले उसको, न त आज तिम्रो।
६ महिनाअघि नयाँ बसपार्कमा अचानक भेट भएको थियो त्यो मान्छेसँग मेरो। म त बोल्न चाहन्न थिएँ, उसैले बोलायो। हातको कान्छी औँला समाएर तानिरहेकी एउटी ७, ८ वर्षकी बच्चीले बाबा जाम न भन्दै थिई। उसैको बोली फुट्यो पहिले- 'छोरो छ रे, भेट्न मन थियो। ठेगाना नपाएर भेट्नै सकिनँ' भन्दै थियो।
जसको नाम नपाएर समाजले थुक्यो, परिवारले घरबाट निकाल्यो, बाबुबिना एउटा बच्चा जन्माएर २० वर्षको बनाएपछि आज आएर भेट्न मन थियो भन्नेलाई मेरो छोरो किन भेटाउँछु म? भन्ने लाग्यो र निःशब्द बनिदिएँ।
छोरा, मैले तिमीलाई रोजेर उसलाई छोडेकी हुँ। तर आज तिमी उसको नाम नपाएर मलाई छोड्ने भयौ। नियतिको यो कस्तो चक्र!
नयाँ बसपार्कको पछाडिपट्टि होटल खोलेको छ रे। यो चिठी भएकै ठाउँमा एउटा भिजिटिङ कार्ड राखेकी छु। फोन नम्बर र ठेगाना त्यहीँ कार्डमा होला। मेरो लोग्ने त हैन तर तिम्रो बाबु चाहिँ त्यही मान्छे हो, गएर भेट्नू।
म त कुमारी नै भए पनि तिम्री आमा हुँ। तर मैले त तिम्रो मुखबाट आमा भन्ने शब्द सुनेको तिमी सानो र मेरो काखमा हुँदा मात्र हो। जब तिमी हुर्किंदै गयौ, तिम्रो मुखबाट आमा भन्ने शब्दको पनि अभाव हुँदै गयो। अब त तिम्रो मुखबाट आमा शब्द नसुनेको पनि वर्षौं भइसक्यो।
मेरो आमा मनले भन्छ, तिम्रो मनमा पनि मेरो लागि थोरै माया त पक्कै होला। त्यसैले भन्दैछु, तिम्रो मनले मेरी आमा हो भन्ने लाग्छ भने आजकै दिन प्रत्येक वर्ष मेरो नाममा संस्कार पूरा गरिदिनु है!
तिम्री,
कुमारी आमा।