एकपछि अर्को
लासहरू चितामा
दनदनी जलिरहेका
मानौं यस्तो लाग्थ्यो
आर्यघाटमा आगो
कहिल्यै निभ्दैन।
एकनासले बलिरहेको आगो
र त्यही अग्निकुण्डमा अनगिन्ती आत्माहरू
बिना सङ्कोच बिना रोदन
चुपचाप आफूलाई समाहित गरिरहेका
जिन्दगी भरका लोभलालच
राम्रा-नराम्रा कर्तुत सबै
चिताको अग्निमा शुद्धीकरण गर्दै
अन्तिम गन्तव्य हिँडेका असङ्ख्य मृतात्माहरू।
अनि हुलका हुल मानिसहरू
छेउको पेटीमा आड लाउँदै
ती मृतात्माका अन्तिम यात्राको
साक्षी बसेका।
कोही डाँको छाडी रुँदै
कोही खासखुस गर्दै
अनि कोही मन भित्रभित्रै
श्रद्धाञ्जलीका फूलहरू
चितामाथि अर्पण गर्दै।
लामो धुवाँको मुस्लो
मृतात्माहरूलाई
तिनका गन्तव्यतिर
पथ प्रदर्शन गरेजस्तो लाग्थ्यो।
हुन त धुवैँ धुवाँ
यत्रतत्र सर्वत्र
मात्र अलिकति धुपको सुगन्ध
अन्यत्र दुर्गन्धै दुर्गन्ध।
सायद मृत शरीरका
शूक्ष्म कणहरू
पवनरुपि यानमा
तैरिरहेका पनि होलान्
अनि कैयौं कणहरू
हामी साक्षी बसेकाहरूका
श्वास नलिभित्र पनि त
प्रवेश गरे होलान्।
यसमा आश्चर्य के मान्नु र
हामी पनि त त्यही यात्रामै छौ
फरक यति मात्र हो
कोही गन्तव्य पुगिसके
कोही पछि-पछि।
मान्छेको जीवन
एउटा अपरिवर्तनीय गोरेटो
सबैले हिँडनै पर्छ
अनि सबैको गन्तव्य
एउटै अकाट्य र निश्चित।
तर हामी मान्छे अति अनौठा
कति चतुर, कति बाठा
गन्तव्य अगाडि देख्दा देख्दै पनि
नदेखेझैँ गरिरहन्छौं
लोभलालच ईर्ष्यामा मरिरहन्छौं।
जबसम्म हामी जिउँदो हुन्छौं
हामीलाई लाग्छ
हामी अजम्मरी
तर देखावटी लोकलाज
अनि दुई थोपा आँसु
दुई शब्द समवेदना
त्यो जलिरहेको आत्मालाई
हाम्रो ठूलो श्रद्धाञ्जली।
हामीलाई लाग्छ
हामीले सम्मान गर्यौं
हामीले बिदाइ गर्यौं
चिताको धुवाँ बन्द भयो
त्यो मृतात्माले शान्ति पायो।
तर हामीले बिर्सने छौं
त्यो चिता कसको थियो
त्यो धुवाँ कस्तो थियो
तर मित्रहरू
त्यो चिता पनि आफ्नै हो
त्यो लास माथिको गीता पनि आफ्नै हो
त्यो धुवाँको मुस्लो पनि आफ्नै हो
त्यो अन्तिम यात्राको लाम पनि आफ्नै हो
गन्तव्य पनि आफ्नै हो
केबल यतिमात्र फरक छ
कोही बटुवा अघि-अघि
कोही बटुवा पछि-पछि
गोरेटो पनि आफ्नै हो
केबल यतिमात्र अलग छ
कोही बटुवा अघि-अघि
कोही बटुवा पछि-पछि।
साँच्चै अविस्मरणीय आर्यघाट
भगवान भोलेनाथको साथ
केबल एक पाइला टेक्दैमा गीता सरि ज्ञान
जिन्दगी अरु केही रहेनछ तिम्रै कृपा भगवान।
हो, मात्र एकदिन आर्यघाट
तर मिल्यो सहस्र जीवनको सार
अरुको अन्तिम यात्रामा सहभागी बन्दै गर्दा
आफ्नै जीवनको सत्यसँग साक्षातकार
कसैको अन्तिम यात्राको साक्षी बस्दै गर्दा
आफ्नै जीवनको सत्यसँग साक्षातकार।