कविता
पैसा,
एक साँझ
अलि अबेर गरेर
बिस्तारै - बिस्तारै
अलि अल्छि गर्दै गर्दै
अलि थकित मुद्रामा
दुखित भाव झल्काऊने गरी
निराश भए जस्तो गरी
टाउको निहुराउँदै
खुट्टा खोच्याउँदै
लठ्ठी टेक्दै -टेक्दै
पिठ्यूँमा खै के को भारी जस्तो थियो
अलि परै बाट देखेँ
ऊ सानो घुम्ती पछि उकाली लाग्दै थियो।
को होला त्यो?
आखाले - दिमाग
दिमागले - मन
र मनले - मलाई सोधै थियो
कता-कता चिने जस्तो लाग्यो
ऊ नजिकै आइपुग्यो र प्रष्ट ठम्याए
पैसा पो रहेछ!
मैले उसलाई बोलाएको अलि अगाडि नै हो
झनक्क रिस पनि ऊठ्यो
आफूलाई अभर परेको अहिले होइन!
ऊ चै यति खेर!
मज्जाले गाली गर्न मन लागेको पक्कै हो
तर केही भनिनँ, किनकि ऊ बिचरा अवस्थामा थियो
ऊ आइपुग्यो, मैले भने निकै थाके जस्तो छौ मुढामा बस
ऊ खुइँ ...खुइँ दुई चोटि गरेर थपक्क बस्यो।
मैले भनें : किन यति ढिला ?
जाने बेला त! कत्ति छिट्टो जान्छौ
कहिलेकाहीँ त ! पत्तो पनि हुँदैन
त्यहीँ छिमेकी, साथीभाइ, आफन्तकोमा त हो नि!
त्यति नजिकबाट आउन पनि यत्ति ढिला ?
ऊ बिलौना गर्छ : हजुर मेरो त नियति पनि कस्तो
एकै ठाउँ, एकै जनाको मा बस्नै नपाउने
म त कत्ति अभागी, कसैको भएर बाँच्नै नपाउने
कहिले यता को त कहिले उता को
कहिले कसको त कहिले कसको
न भोक - न निन्द्रा
न थाकेको भन्न पाउने - न बिरामी नै
मेरो त कर्मै खोटो ।
उसको वेदना सुन्दै थिएँ ,
तल्लो घरे बडीआमा आइपुग्नु भयो
'भोलि बिहानै कान्छा जाने रे भिसा पेस्न काठमाडौं'
तँ सँग पैसा छ कि ! भनेर आएको अभरै पर्यो'।
पैसाले म तिर एक पटक कर्के नजर लगायो
उफ् ! फेरि ... भन्ने मिश्रित भावका साथ
मैले सोचेँ - मान्छेको अभर टार्न नसक्ने पैसा
जत्तिनै भए पनि के पैसा ?
मैले आँखाकै इसाराले जाऊ न त भने
अनि आधा जति भारी म कहाँ छोडेर
ऊ बढीआमा सँगै पछि लाग्यो
त्यतिकै मा भान्सा बाट ममीले बोलाउँदै हुनुहुन्थ्यो
खाना पाक्यो लु आइज भनेर
अनि पैसाको दु:ख बाहिरै राखेँ
र भान्सा तिर उक्लिएँ ।