काठमाडौं, रहरहरूको सहर। उहिलेको समयमा काठमाडौं पुग्न पाउनु भनेको सबैको पहुँचभन्दा बाहिरको कुरा थियो। म पनि त्यस्तैमा एक थिएँ।
आखिर कस्तो होला त्यो सहर जहाँका 'अग्ला भवनहरू हेर्दा टाउकोको टोपीसम्म खस्छ रे' भन्नुहुन्थ्यो पल्ला घरका काका। मलाई पनि काठमाडौं जाने धेरै इच्छा थियो तर घरमा आमाले जेनतेन गरेर मलाई र सानो भाइलाई पढाइराखेकी थिइन्।
बुवा त सानो भाइ एक वर्षको हुँदा नै परलोक जानु भएको रे। म त्यो बेला तीन वर्षकी थिएँ होला। त्यसैले काठमाडौं सहर पुग्नु मेरो लागि कुनै परिलोकको कथाभन्दा कम थिएन, जसको बारेमा सुनेको त सानैदेखि छ तर जहाँ जाने बाटो थाहा छैन।
यस्तै सपनाहरू बुन्दाबुन्दै म पनि १२ पास भएँ। गाउँमा १२ सम्मको मात्र स्कुल थियो। मैले आमालाई भनेँ, 'आमा, म अझै पढ्न चाहन्छु, मलाई काठमाडौं पढ्न जानदिनुस् न। मेरा अरू साथीहरू नि काठमाडौं जाने रे।'
मलाई घरको अवस्था थाहा नभएको होइन तर पनि मैले त्यस्तो इच्छा व्यक्त गरें। आमाले मतिर भावुक नजरले हेर्नुभयो र एकछिन टोलाइराख्नु भयो। उहाँलाई लाग्यो होला कि, अहिले बुवा जिउँदो हुनुभएको भए सायद उहाँले नै छोरीको यो इच्छा जसरी पनि पूरा गर्नु हुन्थ्यो होला।
अर्को दिन बिहानै आमा कतै जानुभयो र फर्केर आउँदा केही पैसा लिएर आउनु भयो। भन्नुभयो, 'छोरी, तिमीहरूको पढाइको लागि मैले धेरैचोटि कर्जा मागिसकें। अहिले नि धेरै बिन्तीं गरेर यति पैसा मागेर लिएकी छु। यसैमा काम चलाउनू। अरू पैसा विस्तारै पठाउँला।'
यत्ति सुनेर म धेरै खुसी र अलिअलि दुखी पनि भएँ। भोलिपल्ट बिहानै रहरहरूको सहर काठमाडौं जाने खुसीले राति निद्रा नै लागिरहेको थिएन भने आफ्नी प्राणभन्दा प्यारी आमाबाट छुट्टिनुपर्ने दुःखले आँखाबाट अनयासै आँसु बग्दै थिए।
गाउँकै छिमेकी एकजना दाइ र दिदीसँगै जसोतसो काठमाडौं पुगेँ। हाम्रो गाउँभन्दा एकदमै भिन्न रहेछ। ठूलठूला घर, चिल्ला रोड, अर्कै किसिमका गाडी मोटर, बिजुली, होहल्ला, भिड आदि देखेर मन आश्चर्यचकित भयो। सुरूमा त धेरै रहर लाग्यो त्यहाँ बस्न तर त्यहाँ पैसावालाले मात्र टिक्न सक्छन् भन्ने कुरा पनि छिट्टै थाहा पाएँ।
सँगै आएका दाइलाई जागिर खोजिदिन अनुरोध गरेँ ताकि म आफ्नो पढाइको खर्च आफै तिरेर आमालाई थोरै भए नि सहयोग गर्न सकुँ।
१२ कक्षा पास गरेकी हुनाले एउटा क्याफेमा वेट्रेसको जागिर मिल्यो। बिहान कलेज अनि दिनभरि क्याफेमा काम गर्दागर्दै समय गुज्रिन थाल्यो। क्याफेबाट आउने पैसाले कलेजको फी तिर्न र हामी (छिमेकी दाइ र दिदी) बस्ने कोठाको भाडा तिर्न ठिक्क हुन्थ्यो।
यस्तै दौडधुपमा बितिरहेको थियो जिन्दगी। क्याफेमा एउटा अन्दाजी २३/२४ वर्षको केटा आकाश सधैं आउने गर्थ्यो। सधैं मलाई हेर्दै मुस्कुराइरहन्थ्यो अनि केही नभनी जान्थ्यो। मलाई अचम्म लाग्थ्यो। एकदिन ऊ आएन। सधैं देख्ने बानी परेकोले ऊ नआउँदा अलिकति नरमाइलो लाग्यो।
ऊ अर्को दिन पनि आएन। एक हप्ता बितिसक्दा पनि अझै आएन। एउटा ग्राहकको लागि किन यति धेरै चिन्ता लिइरहेछु मलाई नै थाहा थिएन। आठौं दिन ऊ अचानक आयो। यति धेरै खुसी भएँ कि मानौँ हराएको धेरै मूल्यवान वस्तु भेट्टाएँ। मनलाई सम्हाल्नै सकिनँ र उसलाई हतारमा सोधिहालेँ, 'सर यतिका दिनसम्म कहाँ हराउनु भाको थियो?'
ऊ मेरो कुरा सुनेर मुसुक्क मुस्कुरायो र उल्टै मलाई सोध्यो, 'किन र? तपाईंलाई मेरो यादले सताउँदै थियो कि?'
म लाजले टाउको निहुराएर उसले अर्डर गरेको खानेकुरा ल्याउन गएँ। किन सोधेँ हुँला भनेर आफैलाई गाली गर्न लागेँ। विस्तारै हामी साथी भयौं। यो विरानो सहरमा ऊ एकदमै नजिकको आफन्तजस्तो लाग्थ्यो। हामी समय मिलाएर क्याफेभन्दा बाहिर पनि भेट्न थाल्यौं।
यसरी कतिखेर उसको मायामा डुब्न थालेछु पत्तै भएन। एकातिर कलेजको पढाइ सकिँदै थियो अनि उता गाउँमा भाइले पनि १२ को परीक्षा दिइसकेको थियो। उसलाई पनि यतै बोलाएँ। मेरो काँधमा भाइको अनि आमाको जिम्मेवारी थियो।
दौडधुपमै काठमाडौंको बसाइँ लम्बिएको थाहै भएन। यतिका वर्षसम्म सहरमै बसेर म पनि सहरकै रंगमा रंगिएछु। झन् आकाशसँग भेट भएपछि त म धेरै खुसी हुन थालेकी थिएँ। मेरो भाइसँग पनि आकाशको राम्रै सम्बन्ध बन्यो। भाइले आफ्नो खुट्टामा उभिने भएपछि मात्र हामीले बिहे गर्ने मेरो सर्तलाई आकाशले सहजै स्वीकार गर्यो।
पढाइ सकिएपछि मैले एउटा कलेजमा पढाउने जागिर पाएँ। अब मसँग एउटा राम्रो जागिर, आमा, भाइ अनि आकाश छन्। कुनै समयमा हामीसँग खानलाई पनि पैसा हुँदैन थियो। अब म हाम्रा दैनिक आवश्यकता पूरा गरेर केही रकम भविष्यको लागि समेत बचाउनको लागि योग्य भएँ।
यो सबै सम्भव भयो त केवल मेरी आमाको त्याग र तपस्याले गर्दा। उनले मलाई नपढाएर बिहे गराइदिएको भए कहाँ म यो सपनाको सहरमा आएर आफ्नो सपना पूरा गर्न पाउने थिएँ र! मैले सधैं मेरी आमाको मेहनतलाई बुझेकी थिएँ जसले गर्दा कहिल्यै पनि हार खाइनँ र सधैं अगाडि बढ्दै गएँ।