आजकाल म आफैंलाई आफूदेखि टाढा पाउँदैछु।
म आफैले चुँडाएको मनको तार र आफैंलाई बेसहारा पाउँदैछु।
म आफ्नै मायादेखि वञ्चित छु।
म आफ्नै प्रबलतादेखि शोषित छु।
म आफैंदेखि घृणित छु।
म आफैंले आफैंलाई बिरानो पाउँदैछु।
'तपाईंलाई त मैले झन्डै चिन्नै सकिनँ, कस्तो फरक देखिनु भएको! तपाईंले फेसबुकमा राखेका फोटोहरूसँग तपाईं कत्ति पनि मिल्दैन, धेरै नै दुब्लाउनु भएको हो र समिरजी?'
म कतै टोलाइरहेको थिएँ, उसको कुराले झस्किएँ, 'हैन, म पहिलेदेखि यस्तै हो। खासै दुब्लाएको छैन। तपाईंलाई त्यस्तो लागेको मात्र हो।'
हाम्रो यो पहिलो भेट थियो, मैले उहाँलाई धेरै अनुरोध गरेर कफी पिउने समय मागेको थिएँ।
'तपाईंको कफी सेलाउन लागिसक्यो समिरजी! किन मौन हुनुहुन्छ? बोल्नुस् न, मैले के गर्नु पर्यो तपाईंको लागि भन्नुस्।'
तपाईंलाई मेरो कारणले केही असहज महसुस भएको भए म माफी माग्न चाहान्छु। मेरो मनोस्थिति हजुरलाई सताउनु अथवा दुःख दिनु होइन। संयोगवश भेटिन पुगेको अन्जान मान्छे जुन मान्छेको उपस्थितिले मेरो जीवनमा तरङ्ग उत्पन्न गर्यो। स्थिर मनलाई हलचल गराएर आतंकित बनाई आजको दिनसम्म आइपुग्दा कस्ता-कस्ता परिस्थितिको सामना गर्नुपर्यो, त्यो आफै कल्पना गर्न सक्नुहुन्छ सरुजी मेरो यो हालत देखेर।
मैले हजुरलाई हामी बीचको त्यो सबै कुरा भन्न जरुरी थियो वा थिएन मलाई थाहा भएन तर खै! मनले नै तपाईंलाई विश्वास गर्यो र आफ्नो मान्छेझैँ लागेर केही मनका भावनाहरू पोख्न मन लाग्यो। यो हुनमा सायद नितुसँग तपाईंको प्रगाढ सम्बन्ध नै होला। उसकै कारणले नै म तपाईंसँग जोडिन पुगेँ। मलाई लाग्छ तपाईंले मलाई बुझ्ने कोसिस गर्नुहुनेछ। मेरा यी अस्वभाविक क्रियाकलाप देखेर बौलाहाको संज्ञा दिनुहुने छैन भन्ने आशा राखेको छु।
हुन त मैले केही समययता सामान्य जीवनभन्दा पृथक भूमिका निर्वाह गर्दै आएको छु। मैले कतिपय ठाउँहरूमा त म को हुँ भन्ने सम्मको ख्याल नराखी अस्तित्वसम्म भुन्न थालिसकेको थिएँ। तर कहिलेसम्म आफूलाई पीडा दिएर यस्तो हालत बनाइराख्नु आखिर? सम्हालिनु त छ कुनै दिन भन्ने लाग्यो तर आश भने श्वास रहुन्जेल हुँदोरहेछ सरु जी।
अब म हजुरलाई त्यति लामो कथा र व्यथा सुनाउन चाहँदिनँ। सायद तपाईं बोर हुनुहुन्छ होला किनकि नितु र मेरो सम्बन्ध नै त्यस्तै खालको थियो। उसले कहिले स्वीकार्न नसकेको मेरो माया र मैले कहिले बिर्सन नसकेको उसको माया। मैले कहिले सोचेको थिइनँ अन्जानबाट सुरु भएको मरो माया ज्यानभन्दा नि प्यारो हुन्छ होला भनेर तर उसका लागि म कहिले महत्त्वको विषय भइनँ।
भएँ पनि हुँला कुनै समय तर प्रस्तुत भने उसले कहिले गरिनँ सरुजी! अब तपाईं आफैं भन्नुस् त, यसमा उसलाई दोष लगाउने मसँग कुनै आधारहरू पनि छैन! फेरि ऊ त पहिलेदेखि स्पष्ट थिई। सुरुमै भनेकी थिई- 'यो सम्बन्ध तिम्रो लागि नै घातक हुनसक्छ, तिमी मसँग नजिक हुने कोसिस नै नगर।'
'अनि तपाईंले मान्नु भएन? सबै थाहा रहेछ त जानीजानी किन गल्ती गर्नु भएको?'
उसको स्वाभाव नै अलि फरक थियो। हामी सँगसँगै पढ्दादेखि नै उसले कसैको कुरा सुन्दैन थिई। उसलाई जे मन लाग्छ त्यहीँ गर्थी। त्यसैले उसको साथीहरू पनि धेरै छैनन्। कलेजको साथी सायद म मात्रै होला।
ठिकै छ, जे नहुन थियो भइसक्यो अब बितेका कुराहरूलाई सम्झेर पश्चाताप गर्नुभन्दा आगामी दिनहरू कसरी सहज बनाउन सकिन्छ भन्ने मेरो धारणा हो। तर मैले पनि त जानेर यो सब परिस्थिति सृजना गरेको होइन। अनि यो माया भन्ने चिज किन, कसरी, कोसँग र कतिबेला हुन्छ भन्ने नै कहाँ थाहा हुँदो रहेनछ। मैले नितुसँगको पहिलो भेटदेखि अन्तिम भेटसम्मको सबै सम्झनाहरू मेरो ह्रदयमा सजाएर राखेको छु। अबको बाँकी जीवन त्यसैसँग बिताउनु पर्यो भने पनि मलाई कुनै गुनासो हुनेछैन।
मैले उसको हरेक परिस्थिति बुझ्ने कोसिस गर्थें तर कति सफल भएँ थाहा भएन। उसको पछिल्लो क्रियाकलापले मलाई एकदमै ठूलो चोट पुगेको थियो। उसको स्पष्ट धारणा र चित्तबुझ्दो कारण केही थिएन मसँग एकाएक सम्पर्क विहीन हुनुमा। उसको भनाइ यति मात्र थियो- 'म डिस्टर्ब्ड छु, मेरा आफ्नै केही व्यक्तिगत समस्याहरू छन्। केही समय म कसैसँग पनि सम्पर्कमा हुनेछैन।'
मैले नितुसँग कुरा गर्न थालेको दुई वर्षभन्दा बढी भयो। हामी कुरा गर्ने थालेपछि १/२ दिन बाहेक बाँकी कुनै पनि दिन फोन नगरेको रेकर्ड नै नहोला। अनि उसको यो निर्णयले मलाई कति विचलित पार्यो होला सम्झनुस् त। मलाई उसको लत नै लागिसकेको थियो सरुजी। तर पनि केही समय प्रयास गरेँ। अहँ! पटक्कै सकिनँ। पछि मैले उसलाई फोन गरेर यतिसम्म सताइएछु कि उसले नम्बर समेत परिवर्तन गरी।
त्यसपछि पनि मैले धेरै कोसिस गरेँ उसलाई सम्झाउन, बुझाउन समस्याको समाधान त्यो हुन सक्दैन है भनेर तर उसले मेरो कुरा सुन्नै छोडी। पछि त धम्की समेत दिन थालेकी थिई, 'तिमीले अबदेखि यस्तो गर्यौ भने मैले बिर्सने छु कि कुनै समय तिमी मेरो साथी मात्र पनि थियौ भनेर' रे। मैले अनेक उपाय लगाएको थिए ऊसँग सम्पर्क गर्न, मसँग उसको बहिनीको नम्बर पनि थियो। मैले उसको बहिनीसँग उसको बारे सोधेको मात्रै थिएँ। उसले पनि नम्बर ब्लकमै राख्दी।
त्यसपछि मलाई हरेक दिन छटपटी हुन थाल्यो, कसरी म उसको बारेमा थाहा मात्रै पनि पाउन सक्छु? हो, त्यहीँ बेला तपाईंको नाम याद आएको थियो। सरु! मैले नितुको मुखबाट धेरै पटक सुनेको नाम थियो। घर बाग्लुङ, जागिर पनि बाग्लुङमै गर्छ कुनै एउटा हेल्थ पोष्टमा तर हेल्थ पोष्टको नाम भने थाहा थिएन। मैले लगभग धेरै समय लगाए फेसबुकमा खोजेँ सरु तर भेटिनँ। भेट्न असम्भवजस्तै थियो।
मलाई सरु पछाडिको कास्ट के हो थाहा नै थिएन। तर फोटो भने नितुले मलाई पठाएकी थिई। हामी धेरैजस्तो सबै कुराहरू सेयर गर्ने गर्थ्यौं। सायद आत्मियता र विश्वास अलि बढी नै गर्ने भएर होला। मैले तपाईंको फोटोलाई हरेक पटक फेसबुमा सर्च गर्दै चेक गरिरहेँ। सरु पछाडि कति वटा थर हानेँ होला आफैं सोच्नुस्। एकपटक होइन, पटक-पटक तर अन्तिममा मैले अनुमानमै सरु थापा टाइप गरेँ र भेट्टाएँ पनि।
त्यतिबेला म एकदमै खुसी थिएँ, मैले तपाईंलाई फेसबुकमा भेट्टाउँदा मात्रै पनि! तर कति प्रतीक्षा गरेँ होला तपाईंको प्रतिक्रियाको लागि। यसरी बन्न पुगेको हो म तपाईंको साथी। म तपाईंलाई अनुरोध गर्छु, कृपया मेरो राम्रो साथी बनिदिनुस्, जिन्दगी कति नै लामो छ र! कहाँनेर के हुन्छ कसैलाई थाहा नै हुँदैन।
मैले तपाईंसँगको मित्रता नितुको बारेमा जानकारी दिनलाई मात्र सीमित राख्न खोजेको हैन। नितु हाम्रो मित्रताको माध्यम त अवश्य हो तर नितु मरो लागि कहिले भएन भने पनि हाम्रो मित्रता सधैं रहिरहोस्- नितान्त, निःस्वार्थ, निश्चल। आशा छ तपाईंको र मेरो यो भेटले हाम्रो मित्रता अझै प्रगाढ बन्नेछ।
म अलि जिद्दी स्वभावको छु, तपाईंले समय छैन भन्दाभन्दै पनि धेरै कर गरेर यहाँसम्म बोलाएँ, पक्कै अन्यथा लिनुहुने छैन। बरु मलाई बुझ्ने कोसिस गर्नुहोला। मित्रताको धर्म निर्वाह गर्नुहोला। पछिसम्म पनि मैले तपाईंजस्तो साथी भेट्टाएकोमा गर्व गर्नेछु।
फेरि समय मिलेछ भने हामी धेरैबेर कुरा गर्ने गरेर भेटौँला। त्यो समयमा म र नितुको बारेमा लेखिएका थुप्रै अधुरा अप्रकाशित कथाहरू सुनाउँला, कथा पनि के भन्नु व्यथाहरू सुनाउँला। मैले यो भनिरहँदा जबर्जस्ती ओठमा हाँसो लिएर अब निस्कनु पर्छ होला सरुजी, तपाईं फेरि कता जानुछ भन्दै हुनुहुन्थ्यो।
'होनि, म न्युरोडसम्म पुग्ने काम छ। फेरि-फेरि भेट्दै गरौंला समिरजी, बाई-बाई।'
ऊ निस्किसकेपछि मैले सकिसकेको कफीको कपलाई हेर्दै जुन मान्छेलाई बिर्सन लाखौं कोसिस गरिरहेँ, त्यसैलाई सम्झन थालेँ। त्यही क्याफे, ऊ सँगसँगै हिँडेका त्यही गल्ली, त्यहीँ कफीको स्वाद सबै उस्तै-उस्तै!