मैले नजन्माएको मेरो प्रिय छोरो, तिमी यो संसारमा आएको दिन हामी निकै खुसी हुनेछौँ। नौ महिना तिमीलाई अनेकौं पीडा सहेर जन्माएकी तिम्री आमा तिम्रो जन्ममा हर्षले गद्गद् हुनेछिन्। मृत्यको मुखमा पुगेर आउनुपर्ने प्रसव वेदनालाई एक निमेषमै भुलिदिने छिन्। तिमीले यस ब्रह्माण्डमा कदम टेक्नेछौ, तिमी सौभाग्यशाली हुनेछौ, तिमी संसारकै सर्वोत्कृष्ट प्राणीका रुपमा जन्मनेछौ, मानवको रुपमा।
तर प्रिय छोरा, तिमी जन्मिने कुराले मलाई कता-कता चसक्क पोल्छ। तिमी जन्मिने कुराले मलाई निकै त्रासित बनाउँछ। तिमी जन्मिने कुराले मलाई आलो घाउमा कतै नुन पो हुन्छ कि भन्ने कुराले पिरोल्छ। किनकि प्रिय छोरा, तिमी नेपालमा जन्मिनेछौ अनि नेपाली समाजमा हुर्किनेछौ।
तिमी यस्तो समाजमा पाइला टेक्नेछौ जहाँ पाइलै पिच्छे विभेद छ, तिरस्कार छ, भेदभाव छ। तिमीलाई तिमी भनेर होइन, तिम्रो थरले व्यवहार गरिनेछ। तिमीलाई तिम्रो कामले होइन, तिम्रो जातले व्यवहार गरिनेछ। तिमीलाई तिम्रो आचरण होइन, तिम्रो वर्गले चिनिनेछ।
प्रिय नजन्मिएको कामी छोरो, तिमी जब जन्मिनेछौ म तिमीलाई अन्तर्राष्ट्रिय नाम दिउँला तर यो समाजमा सम्मानित जात दिन सक्नेछैन। तिम्रो नाम जोन राखौँला तर जात कामी नै राखिनेछ। तिम्रो नाम पिटर राखौँला तर जात कामी नै रहनेछ। तिमी आफ्नो नाम परिवर्तन गर्लाऊ तर जात कामी नै राख्नुपर्नेछ। किनकि तिम्रो बुवाको जात कामी नै हो। तिम्रो बाजे, परबाजेदेखिको जात त्यही कामी नै हो।
प्रिय मेरो नजन्मिएको छोरो, तिमीलाई सुरुका केही वर्ष यस समाजमा केहीको प्रवाह हुनेछैन, जब केही शब्द बुझ्ने हुन्छौँ, तिमीलाई तिम्रो साथीले बताइदिनेछ तिम्रो अस्तित्व, तिमीलाई तिम्रै मित्रले होच्याउनेछ, तिमीले पछि आएर मलाई सोध्नेछौ, कि बाबा हामी सानो जात हो र?
प्रिय मेरो नजन्मिएको कामी छोरो, त्यो क्षण मेरा लागि निकै नै ऐठनको क्षण हुनेछ। छाती पोलेर आउनेछ, मन भक्कानिनेछ, आँखाबाट आँसुका धारा बग्नेछन्, हृदय छियाछिया हुनेछन्। त्यसबेला मलाई तिमीलाई दिने कुनै जवाफ हुनेछैन।
म भनौंला- 'होइन छोरा, मानिस सबै एकै हुन्।' तर तिमी प्रश्न गर्नेछौ, 'मलाई साथीहरूले किन त कामी भनेर हेला गरेको? अनि कामी, दमाइ, सार्की सानो जात भनेर किन मेरो साथीहरूले भन्छन्?'
म फेरी सम्झाउने कोसिस गरौँला, 'बाबु, तिनीहरू जिस्केको होला, उनीहरूलाई थाहा छैन उनीहरू त बच्चै होनि।'
तर तिमी फेरी कौतुहलताका साथ सोध्लाऊ- 'बाबा उनीहरूलाई उनीहरूको बाबाआमाले किन यो कुरा नसिकाएको? अस्ती मलाई सागरको घरमा उसकै आमाले छिर्न दिइनन् अनि सागरको बर्थडेमा पनि सबैलाई बोलायो, मलाई बोलाएनन्? किन बाबा?'
तब मेरो मन छन भक्कानीनेछ, मसँग तिमीलाई दिनलाई कुनै जवाफ हुनेछैन। म निःशब्द हुनेछु।
प्रिय मैले नजन्माएको मेरो कामी छोरो, मैले तिमीलाई यस्तो समाजमा जन्म दिनेछु कि जहाँ तिमीले पाइलैपिच्छे विभेद महसुस गर्नेछौ। तिमीलाई तिम्रो नाम पछाडि झुण्डिएको थरकै कारण अनेकौ चुनौती सामना गर्नुपर्नेछ। तिमी आफ्नो थरलाई धिक्कार्नेछौ। तिमी यो संसारमा जन्म लिएकोमा दिक्दार मान्नेछौ।
तिमी भन्नेछौ, 'म त बरु अरु देशमै जन्म लिएको भए हुने थियो।'
अरुले आफ्नो देशका बारेमा राष्ट्रभक्त गीत गाउँदा तिमीलाई गर्वले जाति फुल्नेछैन। तिमीलाई हुनेछ त केबल आत्मग्लानी। अनि अनेकौ कुण्ठाले भरिनेछौ। मजस्तै विद्रोही बन्नेछौ, मजस्तै असामाजिक बन्नेछौ अनि मेरै उमेरमा तिमी पनि आफूपछि आउने पुस्ताका बारेमा यही कुरा सोच्नेछौ।
अनि लेख्नेछौ- 'मैले नजन्माएको कामी छोरा, म यो समाजमा जबसम्म जात व्यवस्था अन्त्य हुँदैन, यो समाजमा जबसम्म विभेदको जरो उखेलिँदैन, तँलाई जन्म दिनेछैन। तँलाई म यस्तो समाजमा जन्म दिनेछु जुन समाजको मैले परिकल्पना गरेको छु।
प्रिय मैले नजन्माएको मेरो कामी छोरा।'