मलाई सम्झना छ
आमाले पिठ्यूमा घासँको भारीसँगै कम्मरमा भाइलाई बोकेको
खाली खुट्टा भिरपाखामा उकाली अनि ओराली गरेको
झमक्क साँझमा जीउभरि टाँसिएका जुका टिप्दै गर्दा
बाहिरबाट ढोकाको आग्लो बजेको।
मलाई सम्झना छ
प्रदेशबाट घर फर्केका बा पसिना पुछ्दै भित्र पसेको
पिठ्यूको भारी भुइँमा बिसाउँदै लामो श्वास फेरेको
थोत्रा लुगा भित्रबाट चिहाएको रेडियोले गीत गाउँदै गर्दा
दादा र दिदी नाचेको अनि नयाँ नाना लगाई भाइले बुर्कुसी मारेको।
मलाई सम्झना छ
भोलिपल्ट घाम नझुल्किँदै घर वरिपरि पसलेहरू झुल्केको
कम्मरबाट सुर्केथैली निकाल्दै बाले साहुको ऋण तिरेको
बाका हातका फाटेका जाली आमाले काट्दै गर्दा
छोरो ठूलो भएर सुख दिनेछ भन्दै सान्त्वना दिएको।
मलाई सम्झना छ
कहिल्यै नथाक्ने मेरी आमाको फाटेको चोली नफेरिएको
भात खान चाडपर्व अनि मासु खान दशैँ कुरेको
घाँस-दाउरा गर्दै तल्लाघरे आन्टीले पश्चिमी गीत गाउँदै गर्दा
ठूलो भएर सहरमा घर बनाएस् भन्दै भाइलाई उपदेश दिएको।
मलाई सम्झना छ
झरी पर्दा चुहिने घरको छानो नफेरिएको
बाको परदेशी जीवनको समाप्ती नभएको
राष्ट्रको सत्ता फेरिँदै गर्दा गरिबीको नीति नफेरिएको
करोडौँको बजेट बिनियोजन हुँदा साहुँको ऋणले उकाली चढेको।
मलाई सम्झना छ
आज पनि ओभाउन नसकेका बाका पसिनाहरू
मुस्कुराउन नसकेका आमाका मुहारहरू
ठडिन नसकेका सहरका महलहरू
विलीन हुँदै गएका आफ्ना सपनाहरू।