गन्तव्य क्षितिज भइदियो
धैर्यता निर्विकल्प
समय अनियन्त्रित
अनि असान्त यो मनमा
केवल तिम्रो याद बसिदियो।
लव-डव आवाज बुलन्द भइदियो
उदाइरहेको किरण
प्रेमको अनुभूति
अनि काडाँको यो गोरेटोमा
केवल तिम्रो साथ आश बनिदियो।
नीतिले रचेको स्वयमको गोरेटो बनिदियो
लर्बराउँदै हस्त
भरियाको भारी
अनि तिम्रो पिठ्यू नै
भञ्याङ बनिदियो।
नियम जीवनको बबण्डर भइदियो
भावसागर अकल्पनीय
विकराल एक्लोपना
अनि तिम्रो स्पर्श नै मेरो
संघर्षको दृष्टि बनिदियो।
गुणानको चौतर्फी मैदान भइदियो
भोगाइ अविस्मरणीय दुःखका
जमातका बिगुलहरूका बीच
केबल तिम्रो बुझाइ नै
मेरो सोचाइ बनिदियो।
निःशब्दताको खुला आकाश भइदियो
निमेषका चडावहरू
न्यानो अंगालोमा बेरिँदै
मानचित्रमा केवल प्रश्न
को हौ तिमी मेरो?