ब्रह्माण्डको कुनै एउटा सानो कुनाको सानो ग्रहमा निकै चहलपहल थियो। मानिसले विज्ञानका उपन्यासहरूमा कल्पनामात्र गर्न सकेका विभिन्न रुप, रङ्ग र किसिमका जन्तुहरू त्यो रहस्यमय ग्रहको एउटा सानो भूभागमा भेला भएर होहल्ला मच्चाउँदै थिए।
२१ औँ सदीको साधारण व्यक्तिको भाषामा भन्नुपर्दा ती सबै एलियनहरू थिए। आ-आफ्ना ग्रहबाट उक्त सभामा प्रतिनिधित्व गर्नका निम्ति जम्मा भएका एलियनहरू एउटा यस्तो विषयमा छलफल गर्दै थिए जसको कारण उक्त सभा दुई खेमामा विभाजित हुनपुगेको थियो। त्यसैको फलस्वरुप मच्चिरहेको कोलाहललाई चिर्दै एउटा एलियन कराउन थाल्यो।
'निकट भविष्यमै पृथ्वी रहेको सौर्यमण्डलको सूर्य विस्फोट हुँदैछ। यस विस्फोटका कारण पृथ्वीसहित त्यहाँ रहने सम्पूर्ण मानव समुदायको विनाश हुनेवाला छ। पृथ्वी एउटा अविकसित ग्रह भए तापनि त्यहाँ बसोबास गर्ने मानवहरूमा अत्यन्तै सम्भावना रहेको कारण यो ग्रहलाई विनाश हुन दिनुहुँदैन!'
सो एलियनको तर्कको प्रतिकार गर्दै अर्को एलियन बोल्न थाल्यो, 'उक्त सौर्यमण्डलको सूर्य विस्फोट हुनु दुखद् समाचार हो तर हामी विवश छौँ। ब्रह्माण्डको कानुनअनुसार कुनै पनि अविकसित ग्रहमाथि हामी हस्तक्षेप गर्न सक्दैनौँ। हामी सबैको इच्छा सो ग्रहलाई प्रतिस्थापित गरी अन्य सौर्यमण्डलमा लाने नै छ। तर त्यसो हुँदाहुँदै पनि हाम्रो कानुनले यो गर्न दिँदैन।'
सभाको मूल बहस यसै विषयमा केन्द्रित थियो। एकपछि अर्को गर्दै सबै आफ्नो तर्क प्रस्तुत गर्दै थिए तर कुरा आखिर कानुनमै आएर अड्किएको थियो। अन्ततः ब्रह्माण्डमा सबैभन्दा बुद्धिमान् कहलिने एक एलियन प्रजातिको प्रतिनिधिले उपाय सुझाए।
'कानुनले ग्रहमाथि ठाडो हस्तक्षेप नगर्न भनेको छ। तर ग्रहवासीहरूको बारेमा भने कानुन मौन छ। तसर्थ, हामी सबै मिलेर पृथ्वीका केही व्यक्तिहरूलाई पृथ्वीजस्तै अन्य कुनै ग्रहमा स्थानान्तरण गरौँ। यसो गर्दा कानुनको मर्म पनि रहिरहने छ र मानव सभ्यताको निरन्तरता पनि हुनेछ।'
उक्त प्रतिनिधिको सुझाव सबैलाई मनपर्यो। त्यसपश्चात् सभाको बहस पृथ्वीबाट क-कसलाई लैजाने त भन्ने विषयमा केन्द्रित हुन थाल्यो। यस्तै किसिमको ओसारपसारमा दक्ष रहेका एलियनको एउटा प्रजातिको प्रतिनिधिले सुझायो,
'पहिले त, यति छोटो समयमा स्थानान्तरण गर्ने हो भने हामी केवल १०० जना जति व्यक्ति मात्र अटाउन सक्छौँ। र दोस्रो कुरा, ती १०० जनाको भाषा र रहनसहन मिल्नुपर्ने हुनाले कुनै एउटा देशको जनतामात्र लान उपयुक्त हुन्छ।'
उसोभए कुन देशबाट १०० जना छान्ने त भन्ने प्रश्नमा बहस हुँदा निम्नानुसारको सर्तहरू तोकिएः
- नयाँ ठाँउमा बस्ती विस्तार गर्नको लागि मिलिजुली काम गर्नुपर्ने हुन्छ, तसर्थ देश शान्तिप्रिय हुनुपर्ने।
- विसम परिस्थितिमा बाच्नका लागि शौर्य चाहिन्छ। तसर्थ, देशबासीहरू बहादुर हुनुपर्ने।
- स्थानान्तरण गर्न लागिएको ग्रहमा हिमालहरू भएको हुँदा हिमाली भूभागको अनुभव भएको हुनुपर्ने।
भाग्यवश केही समयअघि पृथ्वीमै सोध गरेको एउटा एलियन प्रतिनिधिले सुझायो, 'सबै सर्तहरू हेर्दा नेपाल भन्ने देश उत्तम देखिन्छ। यो देश शान्तिप्रिय छ, यो देशका 'गोर्खाली' समुदायका व्यक्तिहरू पृथ्वीभरि नै बहादुर कहलिएका छन् र यो देशमा पृथ्वीकै सर्वोच्च शिखर सगरमाथालगायत निकै हिमालहरू पनि रहेका छन्।'
यसरी देश त टुंगो लाग्यो तर व्यक्तिहरू को त भन्ने प्रश्नको उत्तर बुद्धिमान् कहलिएको एलियनले सजिलै दियो।
'मानव सभ्यताको पुनर्स्थापनाजस्तो गम्भीर अभिभारा बोक्न को-को उपयुक्त हुन्छन् भन्ने कुरा हामी असंलग्न प्रजातिहरूले ठम्याउन सक्दैनौँ। मेरो विचारमा यो जिम्मेवारी उक्त देशका निर्वाचित प्रतिनिधिहरूमाथि नै छाडिदिऔँ।'
यति भनिसकेपछि अन्य स-साना कुराहरू पनि सजिलै टुंगो लागिहाले। अब बाँकी थियो उक्त देशका प्रतिनिधिहरूसित संवाद स्थापित गर्न र पृथ्वीमा हुनगइरहेको प्रलयको भयानक समाचार र स्थानान्तरणको कार्यक्रमको सूचना दिन। केही पनि ढिलासुस्ती नगरी एलियनको एक टोली पृथ्वीमा पुग्यो र उच्च प्रविधिको प्रयोगमार्फत् नेपालका विभिन्न क्षेत्रका प्रतिनिधित्व गर्न निर्वाचित भएका कुशल व्यक्तिहरूको मस्तिष्कमा एकैसाथ गुञ्जन गराउन थाल्यो-
'नेपालका निर्वाचित प्रतिनिधिहरू हो। पृथ्वीको समयानुसार अबको एक महिनामा सूर्य विस्फोट हुँदैछ। यसबाट सम्पूर्ण पृथ्वीको विनाश निश्चित् छ। तर मानव सभ्यताको संरक्षण र निरन्तरताका लागि हामी एलियनहरूको सभाले नेपालबाट १०० दक्ष व्यक्तिहरूलाई जोगाइ अन्यत्रै स्थानान्तरण गर्ने निधो गरेका छौँ। यसको जिम्मा हामीले जनताको मत प्राप्त तिमी प्रतिनिधिहरूलाई दिइरहेका छौँ। आजको एक महिनापश्चात अपरान्ह १२ बजे टुँडिखेल नामक स्थानमा १०० उपयुक्त व्यक्तिहरू जसले मानव सभ्यताको पुनर्उत्थान गर्न सक्छन् तिनलाई छानेर उपस्थित गराउनू। यो सूचना सबैलाई थाहा भए कोलाहल मच्चिने हुँदा तिमीहरूलाई मात्र दिइएको छ। तसर्थ, गोप्यता र गम्भीरताका साथ यस जिम्मेवारीको परिपालना गर्नू।'
पहिले त सबै अलमल्ल परे। यो के भयो भनेर कसैले थाहा पाउन सकेनन्। केही मलाई मानसिक रोग त भएन भन्ने शङ्काले अस्पताल हान्निए। केही भूतप्रेतको असर पो भयो कि भनेर आतंकित हुँदै धामीझाक्री खोज्नतिर लागे। अन्ततः एकआपसमा कुरा गर्दैजाँदा निर्वाचित प्रतिनिधिहरू सबैले यही सुनेका रहेछन् भन्ने थाहा भयो। धन्न मानसिक रोग वा भूतप्रेतको बाधा त रहेनछ भनेर सुस्केरा हाल्न नपाउँदै उक्त सन्देशको यथार्थता र आशयको भान हुन थाल्यो। यो केवल सूचना मात्र थिएन, यो प्रलयको सूचना थियो।
सुरुआती दिनहरूमा सूचना प्राप्त गरेका सबै रुन कराउन थाले। छिटै नै हुनगइरहेको विनाशले ती व्यक्तिहरूलाई अत्यन्तै व्यग्र बनायो। तर दिनहरू विस्तारै बित्दै गर्दा यो प्रलयको समाचारको दोस्रो भागको बारेमा बहस हुन थाल्यो। मन्त्री निवास, प्रधानमन्त्री निवास, सांसद निवास, पार्टी कार्यालय, सबैतिर चहलपहल ह्वात्तै बढ्न थाल्यो।
पत्रपत्रिकादेखि अनलाइनसम्म सबैले टीकाटिप्पणी गर्न थाले। यो के भइरहेको छ? नयाँ गठबन्धन बन्दै छ कि पुरानो ढल्दै छ भनेर अड्कलबाजी हुन थाल्यो। मानिसहरू सरकार ढल्ने पो हो कि भनेर सशंकित हुन थाले। केही त संसद नै विगठन पो भइरहेको हो कि भनेर जिकिर गर्न थाले। पानपसलदेखि चियापसलसम्म एउटै चर्चा थियो, यी जनप्रतिनिधिहरूलाई अचानक के भयो?
दिन बित्दै जाँदा पनि यो क्रम जारी नै रहेपछि भने आम नागरिकको मनभित्र पनि चिसो पस्न थाल्यो। पत्रपत्रिका तथा युट्युबहरूमा केही जनप्रतिनिधिहरू अचानक रुँदै, कराउँदै गरेका दृश्यहरू देखा पर्न थाले। कसैले चाल नै नपाएको पनि होइन तर प्रलय आउँदै छ भनेर छापिएका फाट्टफुट्ट समाचारहरू कसले पत्याओस्? समग्रमा के भइरहेको छ भन्ने थाहा हुने व्यक्तिहरू सीमित मात्र थिए र यिनको आफ्नै व्यथा थियो।
दिनानुदिन बैठक बसिरहे पनि १०० जना व्यक्तिहरूको टुंगो लागिसकेको थिएन। भित्रभित्रै कैयन समितिहरू बन्दै थिए, ती समितिहरूले हजारौँ मापदण्डहरू निर्माण गर्दै थिए र ती मापदण्डमा रहेका सर्तहरूमा घमासान छलफल भइरहेको थियो। विस्तारै विस्तारै यी घमासान छलफलहरू साँच्चीकै घमासानमा परिणत हुँदै थिए। डर, त्रास, धम्की, गाली-गलौज, हातापाइ, कुर्सी तोडफोड आदि केही पनि बाँकी नरहे पनि भाग्यवश ठूलो क्षति भने केही भएन। आखिर सबै अनुभवी नै थिए।
अन्ततः एक महिना बित्यो। अन्तिम घडीमा पृथ्वीको प्रलयको समाचार रोकेर पनि रोक्न सकिँदैन भन्ने थाहा पाएर टुँडिखेल वरिपरि रातारात ठूला ठूला पर्खालहरू ठड्याइएका थिए र त्यतिले पनि पुग्दैन भन्ने जानेर बाहिर हजारौँ सेना र प्रहरी आदि तैनाथ गरिएका थिए। यो निर्णय सही नै ठहरियो किनभने राष्ट्रिय मिडियामा आएका प्रलयका गाइँगुइँसम्म त नेपालीहरूले वास्ता गरेका थिएनन् तर नासा, इस्रो, रसकोस्मस् आदिजस्ता अन्तर्राष्ट्रिय संस्थाहरूबाट पनि सूर्यमा अस्वभाविक गतिविधि भइरहेको र यो प्रलयको सूचक रहेको भन्ने खबर आउन थालेपछि भने हाहाकार मच्चिसकेको थियो।
यस्तै लगभग सबैजसो राष्ट्रिय दैनिकहरूमा अन्य ग्रहमा लैजान नेपालबाट १०० जना छानिने अरे भन्ने कुरा समेत सार्वजनिक भइसकेको थियो। करोडौँ व्यक्तिहरू रुँदै, कराउँदै र बिलौना गर्दै थिए भने केही मृत्युको भयमाथि विजय प्राप्त गरेकाहरू कमसेकम मानव सभ्यता त रहिरहने भयो भनेर भित्रैबाट हर्षित भई चुनिएका १०० कर्णधारहरूलाई मनमनै शुभकामना र आशिष दिँदै थिए।
इतिहासमै सबैभन्दा कडा सुरक्षा घेराको बीच टुँडिखेलमा १०० जना मानव सभ्यताकै प्रतिनिधि गर्ने व्यक्तित्वहरू जम्मा भए र अपरान्हको १२ बज्नासाथ सबै एकैसाथ अन्तर्धान भए। त्यसको केही बेरमै सूर्यको विस्फोट भई सयौँ करोडौँ वर्षको अस्तित्वपश्चात अन्ततः पृथ्वी पनि समाप्त भयो।
सो विस्फोटभन्दा टाढा ब्रह्माण्डको अर्कै कुनामा रहेको एउटा पृथ्वीजस्तै वातावरण भएको ग्रहमा अकस्मात् १०० व्यक्तिहरू प्रकट भए। तिनलाई स्वागत गर्नका निम्ति एलियनहरूको एक टोली पहिलेबाट नै त्यहाँ उपस्थित थियो। सो टोलीको एक एलियनले मानवहरूलाई लक्षित गर्दै भन्यो-
'मानव प्रजातिका प्रतिनिधि पात्रहरू हो, तिमीहरू सबैलाई यहाँ स्वागत छ। तिमीहरू यहाँ आउँदै गर्दासम्म पृथ्वी र त्यसमा रहेका सम्पूर्ण व्यक्तिहरूको विनाश भइसकेको छ। तसर्थ, यो ब्रह्माण्डभरि मानव प्रजातिका केवल तिमी सय जनाहरू मात्र बाँकी छौ। यो ग्रहमा प्राकृतिक श्रोतहरू पर्याप्त रहेका छन्। आशा छ तिमीहरू मिलेर छोटो समयमै यो ग्रहभरि पुनः मानव सभ्यताको विस्तार गर्नेछौ।'
यति भनिसकुञ्जेल पनि सो एलियनले त्यहाँ उपस्थित व्यक्तिहरूलाई राम्ररी नियालिसकेको थिएन। तर जब नियाल्यो ऊ र उसको टोलीमा रहेका अन्य एलियनहरू सबै आश्चर्य चकित भए, किनभने सो मानवको भिडमा उनीहरूले सोचेजस्तो कोही पनि थिएन। अक्क-न-बक्क हुँदै त्यो एलियन मानवहरूको जमातमा अगाडि रहेको एउटा व्यक्तिको नजिक गइ सोधपुछ गर्न थाल्यो-
'हे मानव, तिमीहरूले कसरी १०० जना प्रतिनिधिहरू चुन्यौ भन त?'
आफ्नो जीवनमा पहिलो पटक एलियन देखेर भयभित भएको सो मानिसले विस्तारै संयमित हुँदै भन्यो, 'सजिलो त पक्कै पनि भएन, साह्रै नै समय लाग्यो यति मान्छे चुन्न। अब नेपालमा भएका तिनै ४-५ वटा पार्टीहरू हुन्। तिनका अध्यक्षहरू पर्ने भई नै हाले। त्यसपछि महामन्त्रीहरू, महासचिवहरू, अनि केन्द्रीय कमिटिका सदस्यहरूबाट घटाउँदा-घटाउँदा बल्लबल्ल ७०-८० बनाइयो। बाँकी अब उद्योगपतिहरू, सेना प्रहरी प्रमुख एताउता गरेर १०० पुगिहाल्यो! पछि-पछि त कुटाकुट नै भयो नि म जाने कि तँ जाने भनेर। मैले आफै कति हो कति पैसा खर्च गरेर अरुलाई उछिन्दै यहाँसम्म आइपुगेको। झन्नै मलाई पनि हटाइसकेका थिए!'
यति सुनिसकेपछि सशंकित हुँदै त्यो एलियनले गोजीबाट एउटा उपकरण निकाल्यो र अन्य एलियनहरूसँग मिलेर त्यो उपकरणमा देखिएको तथ्यांक अध्ययन गर्न थाल्यो।
'मानवको औषत प्रजनन् योग्य आयु कति हो अरे?' एउटा एलियनले आत्तिदै सोध्यो।
'५० वर्ष,' अर्कोले जवाफ दियो।
'यिनीहरू त कोही पनि ६० वर्षभन्दा मुनिका छैनन् त!' अर्कोले आतंकित हुँदै भन्यो।
त्यो एलियन पुनः त्यही व्यक्ति नजिक गएर सोध्यो, 'हे मानव! मानव प्रजातिको निरन्तरताका लागि प्रजनन् योग्य युवाहरू खै त?'
'अँ, खै.. एक/दुईजना युवा नेताहरू त हुनुहुन्थ्यो, का जानुभो.. उ त्याँ! ऊ त्याँ हुनुहुन्छ हेर्नु त,' त्यो व्यक्तिले भन्यो।
'मानव, तिनको उमेर त ६० कटिसकेको छ त!' एलियनले तिनलाई हेरिसकेपछि सोध्यो।
'खै, अब साथीहरू आफूलाई युवा नेता नै हुँ भन्छन् के रे।'
'अनि मानव सभ्यताको विकासका लागि आवश्यक सीप के-के छ तिमीहरूसित? के तिमीहरूलाई कृषि, चिकित्सा, धातुकर्म, विज्ञान आदि आउँछ त?'
'जमानामा साइन्स पढेको त हो तर त्यही विद्यार्थी राजनीति गर्ने बेलामा। अहिले त याद छैन। अब कृषि नगरेको त कति भयो कति, राजनीतिमा लागेपछि को जाने खेतबारी खन्न! चिकित्सा चैँ… एकजना डाक्टर साब त थिए कि क्या हो कि खै आएनन् कि? जे होस भाषण गर्न ओर्न पर्यो भने चैँ म सक्छु।'
यति सुनिसकेपछि सबै एलियनहरूमा अकस्मात् निराशा छायो। सभ्यता विकासका लागि आवश्यक व्यक्तिहरू स्वस्थ, उर्जावान्, विभिन्न सीप जानेका प्रजनन योग्य युवाहरू हुनुपर्ने थियो तर तिनका अगाडि केश सेताम्मे भएका वयोवृद्धहरू मात्र थिए। ती एलियनहरू शीर हल्लाउँदै एकपछि अर्को गरी फर्किन थाले। फर्किन लागेको अन्तिम एलियनको मनमा अर्को जिज्ञासा पलायो र उसले त्यो व्यक्तिलाई अन्तिम प्रश्न सोध्यो।
'मानव, तिमीहरूको जमातमा कुनै स्त्री किन छैनन्? प्रजननका लागि त पुरुष र स्त्री दुवै चाहिन्छन् त।'
त्यो व्यक्तिले रिसाउँदै भन्यो, 'अब ३३% त करैले मात्रै पो दिइन्थ्यो त, मौका परेको बेला हामीलाई नै त पुग्या छैन याँ। खासमा दोष तिमीहरूको हो। १०० को साटो कम्तीमा पनि ५००-१००० सिट राख्न पर्दैन भन्या? भर्खर-भर्खर पार्टी प्रवेश गरेका २५-३० वर्षे फुच्चेहरू पनि एक/दुई वटा परी नै हाल्थे, २०-३० जना महिला पनि अटाइन्थ्यो होला। हो, यो सबै खास तिमीहरूकै दोष हो!'
वरिपरि सुनेर बसेका अरु मानवहरूले पनि हो-हो भन्न थाले। केहीले एकअर्कालाई गालीगलौच गर्न थाले। अन्यले पाँच/दश जना बटुलेर गफ लडाउन सुरु गरे। त्यो अन्तिम एलियन पनि अन्ततः फर्कियो। तत्पश्चात् सूर्य पढ्किए पनि वा ब्ल्याक होल नै बने पनि सबै एलियन समुदायले अविकसित सभ्यतामाथि कुनै पनि किसिमको हस्तक्षेप नगर्ने प्रण गरे।