आकाशमा काला-काला बादलका समूह
बताससँगै पूर्वबाट पश्चिमतिर
मडारिन थालेपछि
खेतका भ्यागुताहरू ट्वार-ट्वार कराउँछन्
अनि ठूलो बर्खे झरी लाग्छ
महिनौंदेखि काकाकुल बनेको
बाँझो खेतले प्यास मेट्छ
मृतप्रायः बनेको दुबो फेरि मुस्कुराउँछ
खेतका आलीहरू कोदालीले ताछेर
चिटिक्क पारिन्छ
खेतका गराहरूमा माले र तारे गोरु नारिन्छ
अनौ समातेर एउटा वृद्ध किसान
दिउँसो अबेलासम्म खेत जोतिरहन्छ
आली लगाइरहन्छ
दिनभरिको कामले थाकेर ऊ साँझ नहुँदै भुसुक्कै निदाउँछ
बिहान झिसमिसेमै जुवा बोकेर ऊ
माले र तारे गोरु नार्छ अनि सोच्छ
आखिर किन आजसम्म ऊ यो पेशामा
निरन्तर लागिरहेको छ
न आत्मसम्मान न त आर्थिक उपार्जन नै
ऋण गरेर पनि किन ऊ यो व्यवसाय धानिरहेको छ
बिसौं वर्षदेखि एक मन धानको एक हजार
मूल्य तोकेर सरकार सबै आवश्यकता पूरा गर् भन्छ
कर्मचारीको तलब बढ्छ
सांसद, मन्त्रीको तलबभत्ता अनि सुविधा बढ्छ
तर ऊ न बेलामा मल बिउ पाउँछ न श्रमको मूल्य नै
सोच्दासोच्दै एउटा ठूलो गरो जोतेपछि
उसकी श्रीमती पटुकी कसेर गम्छामा खाजा झुण्ड्याउँदै लिएर आउँछिन्
असार १५ को दिन भएर होला
माली गाईको दही
आफ्नै खेतमा फलेको धानको चिउरा
आफ्नै बारीमा फलेको चिनीचम्पा केरा आलीमा बसेर दुवैले खान्छन्
अनि खुसी हुँदै असार १५ मनाउँछन्
उता सहरतिर अर्कै दृश्य देखिन्छ
प्रकृतिमा स्वतन्त्रतापूर्वक विचरण गर्न
नपाएका कलिला अबोध नानीहरू
हिलोमा धान रोपेजस्तै अभिनय गरेर तस्बिर खिच्छन्
अनि क्याप्सन लेख्छन् धान दिवसको शुभकामना
असार १५ हाम्रो पहिचान हो, हाम्रो मौलिकता हो भन्ने कुरा
नानीहरूले थाहै पाएनन्
असार १५ को नाम फेरेर धान दिवस भएको छ
मातातिर्थ औँसी- मदर्स डे, जन्मदिन- बर्थ डे, गुरुपूर्णिमा- टिचर्स डे भएजस्तै
भोलि हाम्रो मौलिक चाडपर्वको नाम फेरिन सक्छ
झरीमा निथ्रुक्क भिजेर
हलो जोत्नेहरूले असार १५
बुझेका छन्
घुम ओढेर धान रोप्ने रोपाहारहरूले असार १५ महसुस गरेका छन्
खुट्टाका कापमा हिलोले खाँदा बनेका घाउहरू निको पार्न
कदमको चोप र मोविल छल्नुपर्ने बाध्यता धान दिवश मनाउनेलाई थाहा छैन
धान रोप्दा हातका नङभित्र माटो पसेर फङ्गस इन्फेक्सन भएर
औंला कुरुप भएका आमा, दिदी, बहिनीहरूको पीडा एकदिन हात हिलोमा गाडेर
तस्बिर खिच्दै सामाजिक सञ्जालमा रोपाइमा व्यस्त भन्दै क्याप्सन हाल्नेले थाहा पाउँदैनन्
कृषि पेशालाई माया गर्नेले कामलाई सम्मान गर्नुपर्छ श्रमको मूल्य बुझ्नुपर्छ
भोक अनि अनिकालबाट गुज्रिनु पर्छ
पैसाले अन्न नपाएको दिन
पैसा कागजजस्तै मूल्यहीन भएको दिन
संसारले बुझ्नेछ
हामी सबैले बुझ्नेछौं
असार पन्ध्रको महत्व।