तिम्रा भिजेका आँखाहरूमा
आँखा जुधाएर हेर्ने हिम्मत मसँग थिएन
त्यसैले पर आकाश तिर हेर्दै
निकै बेर टोलाइरहेँ
सुक्क-सुक्कको आवाज मेरो कानमा नपरेको हैन
तर पनि बेसरम भएर त्यसलाई पूरै बेवास्ता गरेँ
थाहा थियो, तिमी छुन खोज्थ्यौ मलाई
मलाई पूरै आफ्नो अंगालोमा समेटेर
मेरो पूरै छाती भिजाउन चाहन्थ्यौ
तर कठोरताको मैले हद नै पार गरिदिएँ
तिमीसँग केही मिटरको दूरी निरन्तर बनाइरहेँ
माया अभिव्यक्ति हो भावनाहरूको
शब्द त जाबो नाथे एउटा नाटक मात्र
हजारौं शब्द पोख्नेहरूको भिडमा
तिमी भावना पोख्दै थियौ
म निर्मम त्यसलाई हेरी मात्र रहेँ
थाहा छ जुनेली
यो सपना बाँड्नेहरूको संसार हो
यहाँ शब्द किन्न मान्छेहरू अर्बौं अर्ब खर्च गर्छन्
तर भावना रक्सी खाएर फालिएको खाली बोतलजस्तै
त्यहीँ गल्लीहरूमा मिल्किरहेको हुन्छ।