सन्तानले डाँडाकाँडा ढाकून्
यो आशीर्वाद
यो आशिष
यो कामना
मेरो बाजे बज्यैलाई लाग्यो
बा-आमालाई लाग्यो
दाजु भाउजू
काका काकी
भाइ, भतिजा सबैलाई लाग्यो
गाउँको झन्डै आधा हिस्सा
अनि दूरदराजसम्म
जरो फैलिएको छ
नाता जोडिएको छ
पराईलाई ईर्ष्या लाग्नेगरी
दुश्मनलाई जलन हुनेगरी।
कसैको सफलतामा
कसैको वीरतामा
प्रसंशाको के कुरा
शुभकामनाको के कुरा
चाकडी भरिएका शब्दहरू
सामाजिक संजालमा
म्यासेज अनि कलहरू
दुनियाँ तीनछक पर्ने गरी
आत्मीयता साटिएको हुन्छ
सम्बन्ध परिभाषित हुन्छ
त्यो त सब देखावटी मात्र
ईर्ष्या लुकाउन
कुन्ठा छिपाउन
पित्तलमा सुनको जलप लगाएजस्तो
कलुशित भावना ढाकछोप गर्न
पस्किएका कुटिलताका पोकाहरू।
बलिदानीको बलिवेदीबाट
असफलताको आहालबाट
पीडाले भरिएको मरुभूमिबाट
उन्मुक्तिको आशा लिएर
जब चाहार्छु आफन्तका दैलोहरू
देखावटी सहानुभूति
देखावटी वेदना
तीभित्र लुकेर बसेका
अव्यक्त खुसीहरू
खाइस् केटा बल्ल खाइस्!
यस्तै-यस्तै भावभङ्गी
लुकाउँदा लुकाउँदै
जब व्यक्त हुन्छन्
तिखो वाणले घोचेजस्तो
चस्स चस्किन्छ हृदय
बोझिल मन लिएर
फेरि एक पटक
हृदयका भित्ताहरू
लिपपोत गर्दै
आफैलाई सान्त्वना दिँदै
भन्ने गर्छु
हेर केटा!
यस धर्तीका सबै सम्बन्ध
सबै नाता
सबै मित्रता
स्वार्थको धरातलमा
भावनाको बन्धनभित्र
अस्थायी मात्र हुन्
आफ्नै पैतलामा
आफ्नै पाखुरीमा
आफ्नै पौरख र मेहनतमा
भरोसा गर
विश्वास गर
यात्रा कठिन छ
बाटो आफै खन।
प्रतिज्ञा गर्छु
कहिल्यै नथाक्ने
कहिल्यै नझुक्ने
हृदयलाई दह्रो पार्दै
सुनौलो गन्तव्य
जीवनको घुम्ती र मोडहरू
छिचोल्दै कठिन कालरात्री
अविरल कर्णाली बगेजस्तो
चलिरहेकै छ जिन्दगी
प्रकृतिको पदचालसँगै
जिन्दगीलाई बुझ्न नपाउँदै
खै कुन घुम्तीमा
खै कुन प्रहरमा
निरीह यात्रा
अजम्बरी खै को छ र?