ऊ लोक सेवाकी विद्यार्थी हो
उसलाई थाहा छ
उत्तम विकल्पको महत्त्व
र नकारात्मक अंकको
महत्त्व पनि थाहा छ।
मेरो जिन्दगीको उत्तम
विकल्पमा पर्नु भएन
छनोट गरेर
गल्ती गरें भन्दै गएकी हो
हिजो उसलाई उत्तम
लागेका ती विकल्पहरू
साँच्चीकै उत्तम थिएनन्
जसले उसलाई
नकारात्मक अंक बढाइरहेको छन्।
एकदिन यस्तै
नकारात्मक अंकले
जिन्दगीदेखि असफल हुनेछौ
उत्तम विकल्पहरूको खोजीमा
छनोट गर्दै छाड्दै गरेका
यी विकल्पहरूले तिमीलाई
असफल बनाउन
महत्त्वपूर्ण भूमिका खेल्नेछन्।
तिमी लोक सेवाकी अब्बल विद्यार्थी
जिन्दगीमा अब्बल बन्न सकिनौ
सायद तिमीले
उत्तम विकल्प नभेट्दा
प्रश्नहरू छाडेर पनि
अगाडि बढ्न सकिन्छ बिर्सियौ
यदि तिमीले
मजस्तै विकल्प छान्नुको साटो
प्रश्नहरू छाडेको भए
आज तिमीसँग नकारात्मक अंक
हुँदैन थियो
जसले जिन्दगीको परीक्षामा
सफल हुन सहज हुन्थ्यो।