अलिकति चिच्याउँदा माया मिसिने भए
थोरै ठुस्किँदा प्रेम चिसिने भए
आँखाको रोशनीसँग
उसको प्रेम कसरी हुन्थ्यो
नजरको दोष हो या
मुटुको निर्णय
कसम यो दिमागलाई थाहा छैन
पर्खालमा सजिएको तस्बिर हेरेर
मुसुक्क मुस्कुराउनु पर्ने
मौनतामा जिन्दगीको खुसी खोज्नु पर्ने
कसम आजकल
ती सपनाहरू सम्हाल्न नै गाह्रो हुन्छ
आज पनि हिजो जस्तै मन भएको भए
आँखा चिम्लिएर नै भनिदिन्थेँ
कि वरिपरि के चलिरहेछ
अनि तिम्रो मुटुको धड्कन
किन बढिरहेछ
तर फेरि पनि भन्छु
मलाई नसोध हिजो कस्तो थियो
नजिकैको घाटलाई यो पनि नसोध कि
जति नै शृंगार गरे पनि
ऊ सँधै किन मौन छ
आशा नगर ऊ बाट कुनै
मुठीको सास खोसिए पछिको लासमा
ऊ धेरै के नै गर्न सक्छ र तिम्रो लागि
बरू आतुर छ ती आँखै अगाडिका
निसानी मेट्न
बगेका तिम्रा आँखाका आँशु सुकाउन
उडेको धुँवाको आकार बिलाउन
जलेको बाँकी खरानीलाई
सङ्लो पानीमा घोल्दै धमिल्याउँदै बगाउन
कसम यो दिलले भन्छ
ऊ हिजो र म भोलि
आखिर बाटो त उही न हो
हिँड्दा हिँड्दै थाकेर
बाटैमा पर्खिने चेष्टा नगर्नू
कतै म अल्मलिन पनि सक्छु
एकैछिन भए पनि
मेरो आँखाको निर्दोष प्रेमसँग
जतिबेला तिमीलाई ढिलो हुनसक्छ
त्यो अनन्त यात्रामा जान
फेरि पनि भन्छु
कसम म बाधा होइन
शुभकामना दिन्छु तिमीलाई
बिन्ती गर्छु हजार बार
अर्कोपटक भेट्दा फूलबारीमा भेट होस्