'पाकेट पनि मार्न थालिस् केटी?'
थकित भावमा कोठामा पसेकी प्रिन्जु झोलालाई टेबुलमा फ्यात्त फालेर जगबाटै पानी घटघट पिउँछे। झोला त सानै हो तर उसलाई निकै भारी लाग्छ। के नै छ र त्यो झोलामा। काइँयो, सानो ऐना, लिपिस्टिक, केही पाकेट चुइगम, मोबाइलको चार्जर अनि प्याड। केही छैन भनौँ भने उसको सम्पूर्ण जिन्दगी छ झोलाभित्र, सबथोक छ भनौँ भने यत्ति मात्र हो।
सधैँजस्तो टेबुलमा एक्लै थचारिने झोलासँगै एउटा पुरुष पर्स पनि साथी थियो त्यो दिन। अनौठो पर्स टेबुलमा देखेपछि पिंकीले आँखा सन्काउँदै सोधेकी थिई प्रिन्जुलाई।
'ह्या केको पाकेट मार्नु। भाटभटेनी सुपर मार्केट अगाडि एउटा मुर्दारले खसाएको। पर्स खस्यो भन्दै थिएँ नसुनिकन मोटरसाइकलमा हुत्तिहाल्यो।' प्रिन्जुले ज्याकेट खोलेर झुण्डाउँदै भनी 'हेर्न पनि भ्याएको छैन कति पैसा छ कुन्नि।'
'खै हेरौँ न त, कति चुना लागेछ सोल्टाको' पिंकीले बोल्ने र पर्स खोल्ने काम सँगसँगै गरी।
'ए के हुनु र!' पर्सलाई दुई फ्याक बनाएर प्रिन्जुतिर देखाउँदै भनी 'आफ्नी प्रेयसीसँग टाँस्सिएको फोटो राखेको रहेछ बिचरा मजनुले।' ३५ वर्ष जतिको युवा ३० वर्षकी महिलासँग नारिएर उभिएको अर्धकदको फोटो। मुस्कुराइरहेको पुरुषको अनुहारतिर चियाउँदै लजाएकी महिला।
'अनि अर्कोतिर चाहिँ के छ नि पुक्क उठेको देखिन्छ त?' प्रिन्जुले पर्सलाई नियाल्दै सोधी।
'होला नि कण्डम। केटाहरुले पर्सको भित्रपट्टि लुकाएर अरु के राख्छन् र?' चेन खोलेर टकटक्याउँदै हाँसी पिंकी।
चालक अनुमति पत्र, दुईवटा पाँच सय रूपैयाँका पुराना नोटसँगै पचास रुपैयाँको चम्किलो नयाँ नोट, केही भिजिटिङ कार्ड अनि पेनड्राइभ खुत्रुक्क खस्यो टेबुलमा। एक पाना कागजलाई कविता अथवा गजल केही लेखेर पट्याएर कोचिएको रहेछ।
'सायद प्रेमिकाका बारेमा लेखेको होला गजल। पिंकीले दुई लाइन पढेर टेबुलमा राख्दै आङ तानेर भनी 'ह्या झ्याउ के सोल्टीले त पूरै सेन्टीफ्लाट भएर लेखेको रहेछ, केही पनि नबुझिने क्या।'
'केटाहरु पर्समा श्रीमतीको फोटो राख्छन् अनि प्रेमिकाका बारेमा लेख्छन् गजल। आफ्नो फोटो देखेपछि श्रीमती मख्ख। गजल पनि आफ्नै लागि लेखेको भनेर दंग। यी लोग्ने मान्छेका विचित्रका रुप न श्रीमतीले खुट्याउन सक्छन् न प्रेमिकाले।' लामै दर्शन छाँटी प्रिन्जुले।
गफकै बेला प्रिन्जुले चालक अनुमति पत्र ओल्टाइपल्टाइ हेरी। चालकको नाम धमिरा शर्मा, जन्म मिति, स्थायी ठेगाना अनि मोबाइल नम्बर। उसले नामलाई दोहोर्याएर हेरी र हाँस्दै भनी 'हरे! नाम पनि कस्तो धमिरा!' त्यहाँ भएको मोबाइल नम्बर थिचिहाली उसले। घण्टी गयो तर मोबाइल उठेन। साँझ पर्न लागेकाले खाना बनाउनलाई ऊ भान्सातिर पसी।
कोटेश्वर नरेफाँटको एउटा घरको पहिलो तलामा दुई वटा कोठा भाडामा लिएका छन् प्रिन्जु र पिंकीले। नाम फेरिरहन्छन् उनीहरु। काठमाडौँमा भेट भएपछि मिल्ने साथी बने र एउटै पेशा अपनाए।
प्रिन्जु भान्सातिरको कोठामा तरकारी केलाउँदै थिई। टेलिभिजन हेरिरहेकी पिंकीले फोन आयो भनेर बोलाई। उसले मोबाइल चार्जमा जोडेकी थिई। अपरिचित नम्बरबाट आएको रहेछ। उठाउने कि नउठाउने दुबिधा हुँदाहुँदै मोबाइलको हरियो बटम थिची।
केटा मान्छे बोल्यो। उही धमिरा शर्मा रहेछ। मिसकल देखेर कल गरेको बताएपछि प्रिन्जुले पर्स भेटेको सुनाई। धमिराले धन्यवाद भन्दै भोलिपल्ट पर्स खसेकै ठाउँमा भेट्ने प्रस्ताव गर्यो।
कोटेश्वरको भाटभटेनी सुपर मार्केट अगाडि उभिइरहेकी थिई प्रिन्जु। निर्धारित समयभन्दा २० मिनेट ढिलो आइपुग्यो धमिरा। दुवैजना केहीबेर सडकमै उभिएर कुरा गरे।
धमिराले नजिकै बसेर चिया खान अनुरोध गर्यो। प्रिन्जु त पर्स दिएर हिँडिहाल्न चाहन्थी। कर गरेपछि चिया खान तयार भई।
'तपाईंले मलाई ठूलो गुन लगाउनुभयो। लाइसेन्स त म बनाइहाल्थेँ। पैसा पनि धेरै थिएन तर मेरो जीवनकै सबैभन्दा महत्वपूर्ण कुरा थियो पर्समा। यो कलियुगमा तपाईंजस्ता मान्छे कहाँ पाइन्छन् र' फूलबुट्टा भरेर भन्यो 'धन्न तपाईंले नै भेट्नु भएछ र मैले पाएँ। नत्र जीवनभर पछुताउने थिएँ।'
उसको कुरा सुनेर प्रिन्जु छक्क परी। पर्समा त्यस्तो महत्वपूर्ण कुरा केही भए जस्तो लागेन। त्यही एउटा गजल अथवा कविता थियो। छुट्टिने बेलामा धमिराले भन्यो 'केही सहयोग चाहिएमा फोन गर्नुहोला। तपाईंका लागि काम लाग्न सक्छु कि। गुन तिर्ने मौका दिनुहोला है प्रिन्जुजी।'
धमिराका शब्दले पुलकित हुँदै प्रिन्जु आफ्नो कोठातिर फर्किई। निस्सासिने मान्छेका भीडमा सधैँ एक्लो महसुस गर्ने गर्थी।
उसलाई सम्मान गरेर बोलेको थियो कोही व्यक्ति पहिलोपटक।
दिन बिराउँदै धमिरा फोन गरिरहन्थ्यो। सामान्य सन्चो बिसन्चो बाहेक कामका बारेमा सोध्थ्यो। सहरमा काम खोजिरहेको बताउँथी प्रिन्जु। धमिराका लालित्यपूर्ण शब्द सुनिरहुँ जस्तो लाग्यो प्रिन्जुलाई। एकपटक एक सातासम्म धमिराले फोन गरेन।
प्रिन्जु आफैँले गरी। उसले सोचेकी थिई बिर्सियो होला। प्रिन्जुको बोलीले धमिराको खुशी थामिनसक्नु गरी पोखिएको थियो। लामो हाँसोसँगै भन्यो 'मैले मोबाइल कता खसाएँ पत्तै भएन। मोबाइलसँगै तपाईंको नम्बर पनि हरायो अनि तपाईंसँग कुरा गर्नै बन्देज नि।'
'जहिल्यै खसाउने मात्र गर्नुहुन्छ? कहिले पर्स कहिले मोबाइल' प्रिन्जुले खितखिताउँदै भनी।
'त्यस्तै भनौ न। अस्ति पर्स जस्तो मोबाइल थाप्न तपाईं आउनु भएन' अट्टहासमा भन्यो 'कुन दिन आफैँ कतै खस्छु होला त्यतिखेर खै कसले थाप्ने हो कुन्नि!'
धमिरासँग कुरा गर्न प्रिन्जुलाई आनन्द लाग्थ्यो। मोहनी लगाउने उसको बोली अनि सद्भावपूर्ण शब्दहरुले काउकुति लगाउँथ्यो। पिंकी जिस्क्याउँथी 'ल है केटी कल्पनाको डोरी बाट्दै सपनामा पिङ खेल्।'
केही महिनामै उनीहरुबीचको फोन संवाद घनिष्ट मित्रतामा परिणत भइसकेकेको थियो। एक दिन धमिराले फोन गरेर भन्यो 'भोलि एकपटक भेटौँ न। यो भेट तपाईंका लागि सरप्राइज हुनेछ।'
पहिले त आनकानी गरी। यत्तिका दिन फोनमा कुरा गर्दा भेटौँ भनेको थिएन। भेट गर्न त उसलाई पनि मन थियो तर सजिलै स्वीकृति दिने पक्षमा थिइन। अलिक बढी नै जोड गरेपछि भेट्न सहमति जनाई। भोलिपल्ट साँझ कोटेश्वरमै भेट गर्ने चाँजोपाँजो मिल्यो।
प्रिन्जु कोठामा पस्दा पिंकी अगाडि नै पुगेकी रहिछ। पिंकीले खुशी हुँदै भनी 'केटी भोलि नगरकोट जाने पार्टी भेटिएको छ। गाँठ राम्रै झर्छ।' पिंकीको कुरा सुनेर प्रिन्जु पनि खुशी भई तर एकैछिन अगाडि उसले धमिरालाई भोलिको समय दिएको सम्झी।
उसले भनी 'भोलिको साटो अर्को कुनै दिन जाने भन् है। भोलि मेरो मुड छैन।'
प्रिन्जुको कुराले पिंकी अवाक भई। पहिलोपटक प्रिन्जुले यस्तो कुरा गरेकी थिई। आश्चर्य हुँदै पिंकीले भनी 'हन के भन्दैछेस् तँ। त्यो ठूलो व्यापारी घरानाको मान्छे क्या त सेठ, हो त्यसैले भनेको। हामी दुईजनालाई नै बोलाएको छ। मैले बचन दिइसकेकी छु।'
'उनीहरुले भनेको बेला जानैपर्छ भन्ने के छ र? भोलिको साटो पर्सि मिलाउँदा भइहाल्छ नि। कत्ति न ठूलो काम जस्तो।' प्रिन्जुले भनी 'मैले पनि कसैलाई बचन दिएकी छु। तँ जा। अर्की पनि चाहिन्छ भने रेस्मालाई लगे भैहाल्यो नि।'
'त्यसो भनेर कहाँ हुन्छ?' पिंकीले रिसाउँदै भनी 'नयाँ मान्छेसँग सेठहरु हच्किन्छन्। कतै पोल खुल्ला कि भनेर डराउन्नन्?' प्रिन्जुको अनुहार नियाल्दै बोली 'जो पायो त्यही मान्छे सिफारिस गर्दा हाम्रो विश्वासनीयता पनि गुम्छ।'
दिक्क हुँदै प्रिन्जुले भनी 'जाँदै नजाने कहाँ भनेकी छु र भोलि नजाने पो भनेकी त। तँ भन्दिनस् भने म आफैँ फोन गर्छु त्यो सेठलाई।'
'भै हाल्यो म आफैँ भन्छु' पिंकीले भनी 'त्यस्ता मान्छेलाई भड्काउनु हुन्न क्या।'
प्रिन्जुले भनी 'आफू सुटुक्क जान्छन् र हामीलाई उतै आउनु है भन्छन्। न सँगै लान्छन् न सँगै फर्कन्छन्। अन्त कतै देख्यो भने मुन्टो बटारेर हिँड्छन्। हामीसँग बोल्दा मात्र उनीहरुको सर्वस्व गुम्छ जस्तो गर्छन्। त्यस्ता मान्छे भड्किनु र नभड्किनुमा के फरक?'
'ल भै हाल्यो म मिलाउँछु तर भन् त तेरो भोलि के काम छ?' रिसको पारोलाई केही ओरालेर पिंकीले सोधी 'कि अझै राम्रो मुर्गा भेटिस?'
'मैले तँलाई नभनिकन केही काम गरेकी छु र?' प्रिन्जुले भनी 'त्यही धमिरालाई भोलिको समय दिएकी छु।'
'ए फोनमा मात्र झुण्डिएकी भनेको त अब प्रत्यक्ष भेटेरै झुण्डिने कि झुण्डाउने उसलाई?' आँखा जुधाएर सोधी।
'खै अब झुण्डिन्छ कि झुण्डाउँछ त्यो त थाहा छैन तर भोलिको भेट सर्प्राइज भनेको छ।' प्रिन्जुले सहजै बताई।
'अनि तैँले त्यो धमिरालाई भेट्नका लागि यति ठूलो पार्टीलाई रद्द गरेकी?' जिब्रो निकालेर पिंकीले भनी 'तेरो चाला केही बुझिन केटी!'
'तँ जे सोच्दैछेस्, त्यो होइन। भेट गरेर आएपछि सबै कुरा तँलाई भन्छु।' प्रिन्जुले कुरालाई बिट मारी।
भोलिपल्ट पिंकी नगरकोट हिँडी। निर्धारित समयमा प्रिन्जु धमिरालाई भेट्न कोटेश्वरको चोकमा पुगी। धमिराले मोटर साइकलमा राखेर एउटा रेष्टुरेन्टमा लग्यो। साँझ पर्न लागेको थियो। उसले विभिन्न खानेकुरा अडर गर्यो। खान सुरु गर्नुभन्दा अगाडि भन्यो 'आज मेरो जन्म दिन। तपाईंसँगै खाना खाएर उत्सव मनाऔँ भनेर यो सर्प्राइज कार्यक्रम बनाएको।'
'पहिले नै भन्नुपर्थ्यो नि। म खाली हात आएँ…' प्रिन्जुलाई बीचमै रोकेर भन्यो 'तपाईंलाई पहिले भनेको भए कसरी सर्प्राइज हुन्थ्यो र? जन्म दिनको उपहार त तपाईंले अस्ति नै दिइसक्नु भयो मेरो अमूल्य सम्पत्ति।'
कुराकानीका क्रममा उसले आफ्नो नाम कसरी धमिरा हुन गयो भनेर स्पष्ट पार्यो। उसको वास्तविक नाम धर्मराज रहेछ तर एसएलसीको फारम भर्दा भुलबस धमिरा भएछ र त्यही नाममा नागरिकता पनि बनाएपछि उसको औपचारिक नाम धमिरा भएछ। प्रमाणपत्रहरुमा उसको नाम धमिरा भए पनि सबैले धर्मराज नै भन्दारहेछन्।
धमिरा एकोहोरो बोलिरहेको थियो। उसको मोबाइल बज्यो। स्क्रिनमा स्मारिका नाम देखियो। मोबाइललाई कानमा टाँस्दै भन्यो 'बेबी म साथीसँग रेष्टुरेन्टमा खाँदैछु। तिमी खाऊ है।' उताबाट बोलेको आवाज प्रिन्जुले सुनिन। धमिराले जवाफ दियो 'मलाई माफ गर बेबी। आज तिमी एक्लै खाऊ। म कान समाएर माफी माग्छु।'
श्रीमतीलाई फकाएको अनुमान गरी प्रिन्जुले। मनमनै भनी 'कत्ति नाटक गर्न सकेको? अझ साथीसँग छु रे!म जस्ता साथी कति होलान् उसका!'
फोन राखेर भन्न थाल्यो 'सानोतिनो व्यापार छ न्युरोडतिर। एक दुईजना पार्टनर छन् तर उनीहरु आफ्नै काममा व्यस्त। सबै सम्हाल्नुपर्छ मैले।'
प्रिन्जुले उसका कुरा सुनिरही। व्यापार, मेनपावर व्यवसाय, अफिस, कम्पनी, लगानी यस्ता कुरा गर्ने मान्छेको भित्री रुपलाई उसले चिन्दै आएकी छे। जान्दछे नेतादेखि समाजसेवीका नकचरा अनुहार अनि प्रहरी र सेना हुँ भनेर ऊसँग लहसिने मान्छेका शक्ति।
खाना खाइसकेपछि बिल तिर्नलाई उसले बैंकको कार्ड निकाल्यो। बैंकको कार्डबाट पैसा तिर्न नमिल्ने रहेछ त्यहाँ। उसको पर्समा तिर्न पुग्ने पैसा थिएन। प्रिन्जुले आफ्नो झोला हेरी। त्यो दिन झोलामा केही पैसा रहेछ जसले रेष्टुरेन्टको पैसा तिर्न पुग्थ्यो।
प्रिन्जुले पैसा तिर्दा धमिराले नाइनास्ति गर्यो तर विकल्प पनि थिएन। रेष्टुरेन्टबाट बाहिर निस्किएपछि भन्यो 'प्रिन्जुजी आज मलाई कस्तो गाल पर्यो। हेर्नुहोस् न अस्ति पर्स खसेपछि म खासै नगद बोक्दिनँ। यही रेष्टुरेन्टमा चाहिँ बैंकको कार्ड पनि नचल्ने रहेछ। भोलि तपाईंको पैसा फिर्ता दिन्छु है।'
'पर्दैन फिर्ता गर्नू। तपाईंको जन्मदिनमा मेरो उपहार ठान्नु भए हुन्छ' मुस्सुक्क मुस्काउँदै भनी 'केही संकोच मान्नु पर्दैन। तपाईंले मलाई साथी भन्नु भयो। साथी भनेकै यस्तै अप्ठ्यारो बेला काम लाग्ने मान्छे हैन?'
'त्यसो भनेर कहाँ हुन्छ?' हात जोड्दै भन्यो 'मैले तपाईंलाई निम्तो दिएको। तपाईं एउटी महिला त्यसमाथि बेरोजगार। तपाईंमाथि अन्याय गर्न कसरी सक्छु म?'
प्रिन्जुले नम्र हुँदै भनी 'हुन्छ भोलि मलाई पैसा फिर्ता दिनु होला। तर एउटा सर्तमा' उसको मुखमा हेरी।
निकै उत्सुक भएर सोध्यो 'के सर्त भन्नुहोस् न?'
'तपाईंले मलाई साथी भन्न पाउनुहुन्न। पैसा फिर्ता दिने भए त्यो रेष्टुरेन्टको साहु र ममा के फरक?' प्रिन्जु फरर्र बोली। आफैँले यस्तो जवाफ दिन्छु भनेर उसले तयारी गरेकी पनि थिइन।
'ओहो यस्तो सर्त।' केही भावुक हुँदै भन्यो 'हेर्नुहोस्, तपाईंले ममाथि ठूलो गुन लगाउनु भएको छ। तपाईं त साथी मात्र होइन त्योभन्दा पनि माथि। ठीकै छ म पैसा फिर्ता लिन्न तर मेरो मित्रताबाट भाग्ने प्रयत्न नगर्नू होला।'
साँझ छिप्पिएर रात परिसकेको थियो। सडक पेटीमै उभिएर कुरा गर्दा दुवैजनालाई चिसो लाग्न थालेपछि उनीहरु छुट्टिए। धमिरा मोटर साइकल चढेर बिदा भयो, प्रिन्जु हिँड्दै आफ्नो कोठातिर गई र ओछ्यानमा पल्टिई। पिंकी नगरकोट गएकाले ऊ एक्लै थिई त्यो रात।
भोलिपल्ट पिंकी आएपछि प्रिन्जुले सबै कुरा सुनाई। विशेष गरी रेष्टुरेन्टको बिल तिर्दाको कुरा सुनाउँदा पिंकीले हाँस्दै भनी 'पैसा कमाउन हिँड् भन्दा खुब बटारिएकी थिइस्। अलिकति भएको पैसा पनि कुन पाङ्दुरेलाई खुवाएर मरिछस्।'
'केटा मान्छेसँग गएर रेष्टुरेन्टमा पैसा तिरेको पहिलोपल्ट। झोलामा भएको सबै पैसा सकिँदा पनि मलाई कुनै चिन्ता लागेन। बडो आनन्द पो लाग्यो' प्रफुल्ल हुँदै प्रिन्जुले भनी।
'ग्राहकसँग मोलमोलाइ गरेर बढी पैसा लिँदाभन्दा बढी आनन्द भयो कि महारानी?' पिंकीले व्यङ्ग्य गरी।
'ती ग्राहक त मान्छे होइनन्। मान्छेका रुपमा रहेका पशु हुन् तिनीहरु। आडम्बरी, ढोँगी, व्यभिचारी, धोकेवाज। क्षणिक मनोरञ्जनका लागि अर्काको शरीर लुछ्ने उनीहरु नै मासुको मोलतोल गर्छन्। भावना नभएका पुत्लासँग जसो गरे पनि के फरक?' प्रिन्जु एकै सासमा बोली।
'हुन त हो हगि' चित्त बुझेरै पिंकीले भनी 'ओछ्यानमा लगेर शरीरभरि चाट्नेहरु सार्वजनिक ठाउँमा चाहिँ छोइएला कि जस्तो गरेर बार्ह हात परबाटै तर्किन्छन्। दैनिक युवती फेर्छन् अनि बाहिरी दुनियाँमा त्यो केटी त चरित्रहिन भन्दै डिङ हाँक्छन्।'
'हो त नि उनीहरु चाहिँ सधैँ चरित्रवान!' उत्तेजित भएर प्रिन्जुले भनी 'हामीलाई अँगाल्दा श्रीमतीको बद्ख्वाइँ गर्नेहरु श्रीमतीसँग फलानी यस्ती र उस्ती भन्दै कुरा काट्छन्।'
'के गर्छेस् केटी, यो समाज तिनै ठेकेदारहरुले चलाएका छन्। हाम्रो वाध्यता यहाँ कसले बुझ्ने?' झ्यालको पर्दा तान्दै भनी 'अर्की महिलालाई श्रीमती भित्र्याउने तेरो लोग्नेलाई समाजले कारवाही गरेको खोई? घरबाट निकालिँदा तेरो पक्षमा यो समाजले केही बोल्यो? उल्टो तेरै चरित्रमाथि औँला उठायो।'
'भो ती कुरा नसम्झा पिंकी' जगबाट पानी पिउँदै प्रिन्जुले भनी 'प्रहरी, प्रशासन, अगुवा सबै ढोँगी हुन् भन्ने कुरा मैले पहिलोपटक थाहा पाएको त्यही बेला हो।'
झोक्किँदै पिंकीले भनी 'प्रहरीको त के कुरा गर्छेस्? खुलेआम बलात्कार गरेर बालिका मारिँदा कारवाही गर्दैनन्। होटलको बन्द कोठामा दुईजना रहँदा छापा मारेर बहादुरी देखाउँछन्। त्यसमाथि पत्रकारहरु बोलाएर सर्वत्र बद्नाम गराउँछन्।'
पत्रकारको प्रसङ्ग आउनासाथ आगो हुँदै प्रिन्जुले भनी 'हामी नारीको फोटो र अनुहार पत्रिकामा छाप्दा र टेलिभिजनमा देखाउँदा खुब ठूलो युद्ध जिते जस्तो गर्छन् यिनीहरु। हामी यौन व्यवसायी महिला पक्राउ पर्दा विगत सबै खोतलखालत बनाएर समाचार बनाउँछन्। ग्राहकको रुपमा आउने ती पुरुषको चाहिँ त्यसरी नै खोतलखातल बनाएर किन समाचार बनाउँदैनन्?'
कुरा गर्दा गर्दै प्रिन्जुलाई धमिराले फोन गर्यो। प्रिन्जुले हेल्लो भन्नासाथ धमिराले भन्यो 'म भाटभटेनी बजार आएको थिएँ। तपाईं यतै भए भेटौँ भनेर फोन गरेको।'
'म अलिक व्यस्त छु अहिले' वाहना बनाउँदै भनी 'पछि कुनै बेला भेटौँला नि है।'
'ओहो आज तपाईंलाई एकजना मान्छेसँग परिचय गराऔँ भनेको थिएँ' थकथकाउँदै भन्यो 'तपाईं कहाँ हुनुहुन्छ बरु म त्यतै आउँछु नि एकैछिनलाई, हुन्न?'
नभेटी नछोड्ने कुरा गरेपछि प्रिन्जुले भनी 'हुन्छ म साथीसँग त्यतै आउँछु, पर्खदै गर्नु है।'
'को साथीसँग जाने तँ?' पिंकीले सोधी।
प्रिन्जुले मुख चुच्चो बनाएर देखाउँदै भनी 'अरु को हुन्छ तँ। हिँड् भेटौँ। उसले पनि एकजना साथीसँग भेट गराउने भन्दै थियो।'
पिंकीले अनिच्छा देखाई 'भो म जान्नँ। उसले साथी लिएर आएको भनेपछि मलाई त्यता भिडाउन लागिस् कि के हो?'
'तँ पनि हरेक मान्छेलाई यौन पिपासु नै सोच्छेस् है पिंकी' उसले स्पष्टीकरण दिई 'कमसेकम मैले भेटेका लोग्ने मान्छेभन्दा फरक छ धमिरा। उसलाई मैले त्यो नजरले हेरेकी छैन बुझिस्। तँ नजाने भए म एक्लै जान्छु।'
हतारिँदै प्रिन्जु कोठाबाट निस्किई। फोनमा नभेटौँ भने पनि उसको मन भने चाँडै भेट्न अतालिएको थियो। परैबाट देखी धमिरालाई। ऊ एक्लै थियो।
नमस्ते आदानप्रदान भएपछि प्रिन्जुले सोधी 'खोई को साथी भन्दै हुनुहुन्थ्यो नि?'
'म परिचय गराउँछु नि' धमिराले कसैलाई बोलायो 'बेबी यता आऊ त।'
आइसक्रिम खाँदै गरेकी ८/९ वर्षकी बालिका आएर भनी 'नमस्ते आन्टी।'
'मेरी छोरी स्मारिका' धमिराले भन्यो 'तपाईंसँग भेट गर्ने भनेर खुब हत्ते गरेर बसिखान दिइनन् यिनले।'
स्मारिकाले प्रिन्जुको हात समाएर भनी 'बाबाले तपाईंको खुब कुरा गर्नुहुन्छ। बाबाको जन्म दिनमा तपाईंसँग रेष्टुरेन्टमा जानु भएको रहेछ। पैसा तपाईंले तिर्नु भयो रे। तपाईं बाबाको बेस्ट फ्रेण्ड रे।' धमिराले मुस्कुराउँदै हेरिरह्यो। प्रिन्जुका आँखा भरिएर आए। च्याप्प अँगालेर भनी 'हो, छोरी तिम्रो बाबा र म बेस्ट फ्रेण्ड।'
'आउने शनिबार मेरो जन्म दिन। मेरो जन्म दिनमा तपाईं आउनुहुन्छ नि।' स्मारिकाले भनी 'घरमा तपाईंलाई कुरिरहन्छौँ।'
'अवस्य आउँछु छोरी। तर मलाई तिम्रो घर कहाँ हो थाहा छैन।' प्रिन्जुले स्मारिकाको चिउँडो उठाउँदै भनी।
'म बाबालाई लिन पठाउँछु' जिज्ञासु हुँदै भनी 'तपाईंको घर कहाँ हो आन्टी?'
'बाबालाई पठाउनु पर्दैन नानु। म आफैँ आउँछु बरु छोरीको घर कहाँ हो?' स्मारिकाको कपाल मिलाइदिँदै सोधी प्रिन्जुले।
'गौशाला पिङ्गलास्थान। पशुपति भिजनको अगाडि आएर फोन गर्नू म लिन आउँछु।' दङ्ग पर्दै स्मारिकाले भनी।
'हुन्छ यस्ती अप्सराको जन्म दिनमा म पक्कै आउँछु।' प्रिन्जुले गाला मुसार्दै भनी।
तीनै जनाले नजिकैको रेष्टुरेन्टमा गएर खाजा खाए र छुट्टिए।
फर्कदा प्रिन्जु पुतली जस्तै फुर्र फुर्र उड्दै थिई। उसको मन बेतोडसँग बेगिँदै थियो। स्मारिका उसकी छोरी रहिछे। छोरीलाई मेरो बारेमा सबै बताएछ। ऊ त विवाहित पो रहेछ। श्रीमतीलाई पनि भनेको होला मेरा बारेमा। छोरीलाई साथी भन्यो। श्रीमतीलाई पनि साथी नै भन्यो कि। कतै उसकी श्रीमतीले शंका पो गर्ने हो कि। कुरा खेलाउँदै कोठामा पुगी।
उसले सबै कुरा पिंकीलाई सुनाई। पिंकी पनि छक्क परी।
शनिबार आउन अझै पाँच दिन थियो। स्मारिकालाई राम्रो उपहारको व्यवस्था मिलाई। मन भुटभुटिएको थियो। सोच्थी जन्म दिनमा धेरै मान्छे आउलान्। कसरी बोल्ने होला। के भन्ने होला। के काम गर्छेस्? घर कहाँ हो? बिहे गरेको छ कि छैन? यस्ता कुरा सोधेमा के जवाफ दिने? मनमा दुविधाका बादलहरु मडारिरहेका थिए। फेरि चित्त बुझाउँथी आ जे पर्छ सोही टर्छ। आखिर बिहे गरेको मान्छे रहेछ। बालै फरर।
शनिबार मध्यान्ह १२ बजे ट्याक्सी चढी। सार्वजनिक बसमा चढ्दा पोशाक र शृङ्गार बिग्रने डरले ट्याक्सी लिएकी थिई। पशुपतिभिजन अगाडि पुगेर फोन गरी। केहीबेरमै एकजना अधबैंसे महिलासँग स्मारिका आई। ती महिला उसकी आमा भन्ने अनुमान गरी प्रिन्जुले।
छेउमा आएर स्मारिकाले भनी 'नमस्ते आन्टी, मेरी फुपू।'
त्यो महिलाले पनि नमस्ते गर्दै भनी 'दादाले तपाईंको खुब कुरा गर्नु भएको थियो। कुरा गरे अनुसारकै तारिफयोग्य हुनुहुँदोरहेछ।'
प्रिन्जुले दुवैलाई नमस्ते गरी र उनीहरुको पछि लागी।
सेतो रङको भव्य घर। ठूलो गेट खोलेर चिल्ला सिङ्गमरमरका खुड्किला चढ्दै दोस्रो तलामा पुगे। त्यहाँ अरु थुप्रै मान्छे थिए। प्रिन्जु पुग्नासाथ जन्मोत्सव सुरु भयो।
'खोइ त स्मारिकाकी आमा?' प्रिन्जुले सोधी।
'ऊ क्या त' स्मारिकाले केकको पछाडितिर राखेको ठूलो रङ्गिन फोटोतिर औँल्याउँदै भनी 'मामुको पनि जन्म दिन आजै।'
धमिराले भन्यो 'मैले भन्नै पाएको थिइँन। मेरी श्रीमती यो दुनियाँमा छैनन्। अस्ति तपाईंले भेट्नु भएको पर्समा पेनड्राइभ पनि थियो। त्यसमा मेरी श्रीमतीको सबै फोटो सेभ गरेको थिएँ। सबै फोटो पेनड्राइमा सारेर ल्यापटप फर्मेट गर्न दिएको थिएँ त्यही दिन। पर्स हराउँदा मैले सबै कुरा गुमाएको सोचेको थिएँ तर तपाईंले दिनुभयो।' केहीबेर अड्किएर भन्यो 'मेरी श्रीमतीको जन्म दिन पनि आजै हो। पहिले हामी उनको फोटोमा अबिर लगाउँछौँ र छोरीको जन्मदिन मनाउँछौँ।'
जन्मोत्सवमा एकजना मान्छेले प्रिन्जुलाई खुब घोरिएर हेरिरहेको थियो। उक्त मान्छेसँग धमिराले परिचय गराउँदै भन्यो 'मेरो साथी भद्र। उहाँ प्रहरी निरीक्षक हुनुहुन्छ।'
प्रिन्जुका हात खुट्टा गले। बोली लकपकियो। अनुहार रातो भयो। घाँटी खसखसायो। सम्हालिँदै नमस्ते गरी।
'मैले तपाईंलाई कहाँ देखेको जस्तो लाग्यो' भद्रले भन्यो 'कहाँ बस्नुहुन्छ?'
प्रिन्जु बोल्नै नपाई स्मारिकाले तानेर लगी र आमाको फोटोहरु देखाउन थाली। ती सबै फोटो त्यही पेनड्राइभमा रहेछन् र अघिल्लो दिन मात्र प्रिन्ट गरिएको रहेछ।
केक काटिसकेपछि अफिसमा काम छ भन्दै भद्र हिँड्यो अनि बल्ल खुलेर रमाउन पाई प्रिन्जु। भद्र त्यही मान्छे थियो जसले एकपटक होटलमा छापा मारेर प्रिन्जुलाई कोटेश्वरको प्रहरी चौकीमा एक रात थुनेको थियो।
कोठामा फर्किएर सबै वृत्तान्त पिंकीलाई सुनाई प्रिन्जुले। बेलुका सुत्ने बेलासम्म उनीहरुले त्यही जन्मोत्सवका बारेमा कुरा गरिरहे।
अकस्मात प्रिन्जुको मोबाइलमा धमिराको फोन आयो। फोन उठाएर हेल्लो भन्न नपाउँदै धमिराले भन्यो 'मेरो परिवारका सबैले तपाईंलाई एकदमै मन पराए। अन्यथा लिनुहुन्न भने तपाईंलाई एउटा कुरा भन्न चाहन्छु…'
अकमकिएको थाहा पाएर प्रिन्जुले भनी 'के कुरा हो भन्नुहोस् न।'
'मेरो त घनिष्ट साथी हो तपाईं। के छोरीको पनि घनिष्ट साथी बन्नुहुन्छ?' धमिराले कुरा घुमायो।
अलमलिएकी प्रिन्जुले भनी 'म स्मारिकाको त झन् घनिष्ट नि। यो पनि सोधिरहने कुरा हो र?'
'स्मारिकाकी घनिष्ट साथी उनकी आमा थिइन्, के तपाईं उनकी आमा बन्न सक्नुहुन्छ?' धमिराले मलिन स्वरमा भन्यो 'अहिले नै निर्णय गर्नु पर्दैन। केही दिनमा भन्नु भए हुन्छ।' त्यसपछि उसले फोन राखिदियो।
प्रिन्जुको मनमा ज्वारभाटा चल्न थाल्यो। सबै कुरा सुनिरहेकी थिई पिंकी।
पिंकीले प्रिन्जुलाई सम्झाउन थाली ‘हेर् केटी केटो भ्रममा परे जस्तो छ। तैँले सबै यथार्थ भन्नैपर्छ। जुन दिन तेरो यथार्थ थाहा पाउँछ नि त्यही दिन तँलाई थुकेर हिँड्छ बुझिस्।’
हिक्क हिक्क गर्दै प्रिन्जुले भनी ‘पिंकी यो पेशा अँगाल्नु मेरो विवशता र वाध्यता हो। पहिलेको लोग्नेले सडकमा पुर्यायो। माइतीमा पनि म बोझ बन्न थालेँ। आफन्तबाटै यौन हिंसामा परेँ। केही काम गरेर खानका लागि जब काठमाडौँ आएँ तब पाइलैपिच्छे हैरानी बेहोर्न वाध्य भएँ। काम दिन्छु भनेर एउटा कम्पनीको मालिकले बलात्कार गर्यो। दलालले कुबेतमा लगेर बेचिदियो। बिना पैसा दस महिना काम गर्न बाध्य भएँ। मालिकको छोराले खेताला लगाएर बलात्कार गरिरह्यो त्यहाँ पनि। बल्लतल्ल नेपाल फर्किएँ। आफ्नो देश भनेर के गर्नु मेरा लागि यहाँ न टेक्ने माटो थियो न समाउने हाँगो। तँसँग भेट भयो। बाध्यताले बिना पैसा बलात्कृत हुनुभन्दा राजीखुशीले अर्काको ओछ्यान बन्नु राम्रो भनेर तैँले नै भनिस्। सामाजिक रुपमा तिरस्कृत बने पनि बाँच्ने गुजारा चल्न थाल्यो। तर यो पेशा पनि जवानी छउन्जेल त हो नि। यदि उसले साँच्चै मलाई बिहे गर्छ भने म पेशा छोड्छु पिंकी। मलाई यो खाडलबाट निकाल्।’
उसको आँशु पुछ्दै पिंकी बोली ‘मलाई पनि यो पेशा कहाँ मन परेको छ र प्रिन्जु। तेरो जस्तै पीडा छ मसँग। म त आफ्नै दाइबाट बलात्कृत भएकी चेली। प्रेमीद्वारा मुम्बइमा बेचिएकी प्रेमिका।‘ केहीबेर रोकिएर भनी ‘जुन दिनसम्म सकिन्छ गर्ने हो नसकेका दिन मर्ने हो।’
‘सबै मान्छे नरभक्षी नहोलान् नि पिंकी?’ प्रिन्जुले पुलुक्क पिंकीको अनुहार हेर्दै भनी ‘मलाई त धमिरा अरू जस्तो स्वार्थी लाग्दैन।‘
पिंकीले भनी 'यो सहरका मान्छेका लागि पीपलको विरुवा जस्तै हौँ हामी। मन्दिरको छेउमा पलाए पूजा गर्छन्, घरको पर्खालमा पलाए तातो पानी हालेर सुकाउँछन्।’
उनीहरूबीचमा लामो रोनाधोना भयो। भेट भएको तीन वर्षपछि दिल खोलेर रोएका थिए दुवैजना। अरू बेला त पीडा सहेर, वेदना बोकेर, दुःख लुकाएर कृत्रिम मुस्कुराउँथे। आफू जलेर उज्यालो छर्ने मैनबत्ती जस्तै आर्तनाद सहेर अरुलाई मनोरञ्जन दिन्थे। भोलिपल्ट भेटेर धमिरालाई सबै कुरा भन्न पिंकीले सुझाव दिई।
***
धमिरालाई भेट्न जाँदा सार्है गह्रुङ्गो भएकी थिई प्रिन्जु। अरूबेला भेट्न जाँदा फूलको थुङ्गा जस्ती हुन्थी तर यसपटक स्याउलाको भारी जस्ती थिई। यसपटक भेट गर्ने स्थान पार्क रोजेका थिए। पार्कमा हँसिलो मुहारमा धमिरा पर्खिरहेको थियो।
औपचारिक कुरापछि प्रिन्जुले अकमकिँदै भनी ‘तपाईंलाई मेरो विगत र वर्तमान केही थाहा छैन। थाहा पाएपछि मलाई घृणा गर्नुहुन्छ।’
‘मलाई तपाईंको विगतसँग कुनै चासो छैन। तपाईंको व्यवहार स्वच्छ छ त्यही भएर रोजेको।‘ धमिराले खुलस्त भन्यो ‘मेरा परिवारका सबैले तपाईंलाई खुब मन पराउँछन्। उनीहरु तपाईंलाई भित्र्याउन तत्पर छन्।‘
‘म डिभोर्सी महिला हुँ’ भएभरको साहस बटुलेर भनी, उसको मुटु ढक्क फुलेको थियो।
‘के भयो त, म पनि विधुर हुँ।‘ धमिराले ओठे जवाफ फर्कायो।
‘त्यति मात्र होइन मलाई यो समाजले वेश्या भन्छ’ आफ्नै शब्द चट्याङ जस्तो लाग्यो प्रिन्जुलाई।
‘तपाईं त्यस्तो नसोच्नुहोस्। हिजो कसको कोसँग सम्बन्ध थियो भन्ने कुरामा मलाई मतलब छैन। तपाईंका बारेमा भद्रले सबै भनेको छ मलाई,’ सामान्य जसरी भन्यो धमिराले।
प्रिन्जुले धमिराको अनुहारमा हेरी। त्यहाँ महिलाप्रतिको अगाध सम्मान देखी। त्यस्तो समाज सुधारक आदर्श व्यक्ति, जसको उसले कल्पना पनि गरेकी थिइन। हेर्दा हेर्दै उसका आँखाबाट बरर आँशु झरे। अनायसै उसले धमिरालाई अँगाली। उसलाई त्यो अँगालो अनुपम लाग्यो।
बल्ल पो थाहा पाई उसले पुरुषअँगालोको न्यानोपन। उसलाई अँगाल्नेहरु त सबै सालिक पो रहेछन्। ती सालिकले उसलाई अँगाल्दा सुख्खा हुने प्रिन्जु धमिराको अँगालोमा रसाई। उसको मनसँगै तन पनि भिज्यो। पार्क यताउता छिटफुट मान्छे हिँडिरहेका थिए तर उसले धमिरा बाहेक कसैलाई पनि देखिन। ऊ धमिरा होइन धर्मराजलाई अँगालिरहेकी थिई जसले मान्छेलाई मान्छेको दृष्टिले हेर्न सक्थ्यो।
छुट्टिने बेलामा धमिराले भन्यो ‘प्रिन्जुजी समाजले के भन्छ मलाई मतलब छैन। जतिसुकै फोहोर बगाए पनि नदीको पानी सधैँ पवित्र हुन्छ। तपाईंको भावना चोखो छ र मन पवित्र छ। केही दिनमा हामी विवाह गर्नेछौँ तयार रहनुहोला।‘
प्रिन्जु कोठामा फर्कदा साँझ पर्न लागे पनि जिन्दगीमा घाम उदाउँदै गरेको महसुस गरी। पिंकी पनि आश्चर्यचकित भई धमिराको रुप थाहा पाएर। नयाँ जीवनका लागि बधाई दिई प्रिन्जुलाई। ठीक त्यही बेला प्रिन्जुको मोबाइलमा म्यासेज आयो। म्यासेज धमिराले लेखेको थियो।
‘प्रिन्जुजी मलाई माफ गर्नुहोस्। म फर्केर घर आउँदा यहाँ भाँडभैलो भइसकेको रहेछ। त्यो भद्रेले बहिनीलाई तपाईंको बारेमा सबै सुनाएछ। आमा र बहिनीले मलाई बसिसक्न दिएनन्। मेरो कम्पनीको पार्टनरलाई पनि भनेछ। पार्टनरले फोन गरेर मलाई धम्क्यायो। सबैतिरबाट मलाई ठूलो दबाब आयो। मैले यो दबाब झेल्न सकिँन। हामीबीचमा भएको सबै कुरालाई सपना ठानेर बिर्सिदिनुहोला। हामी सधैँ साथी त रहन सक्छौँ नि? उही तपाईंको धर्मराज।’
म्यासेज पढेपछि डङ्ग्रङ्ग ढली प्रिन्जु। धेरै बेर अलल्लिई। ऐठन परेजस्तो भयो। केहीबेरमा उठी र मोबाइल खेलाई अनि बाथरूम गएर मुख धोई।
‘अब के जवाफ दिन्छेस् उसलाई?’ पिंकीले सोधी।
‘मैले जवाफ लेखेर पठाइसकेँ’ कठोर भएर प्रिन्जुले भनी।
प्रिन्जुको मोबाइलमा धमिरालाई पठाएको म्यासेज हेरी पिंकीले। लेखिएको थियो 'तपाईं धर्मराज हुन प्रयास गर्नुभयो तर सक्नुभएन। एकै झर पानीले गल्ने भित्रभित्रै खोक्रिएको धमिराको वाल्मीकि न रहेछ यो समाज।'