नीलो आकाशमुनि शान्त स्थिर थेम्स बगिरहेको छ। कृत्रिम थेम्स नदीमा कुनै कृत्रिमता देखिएको छैन। व्यस्त लण्डन शहरलाई घेराबन्दी गरेको थेम्स नूनिला आँसुका ढिक्काहरूको पर्खाल लगाइरहेको छ। तर,दुःखद विडम्बना आँखाका डिलहरू भन्दा पनि संवेदनशील छन् थेम्स नदीको पर्खालहरू।
हिउँले पखालिएका सेताम्य सडकहरू छन् जुन लुगा धुने फलेक जस्तै देखिन्छन्। बरफ ओढेर व्यस्त शहर क्रिसमसको ज्वरो मनाइरहेको छ। सडकहरूमा एउटा अनौठो नशा छ। झिलिमिली रौनकमा मानवपंक्तिहरू हुँइकिरहेका छन्। मानव जीवनका घटनावेलीहरू यसरी बेलिएका छन् रोटी बेलिएझैँ।
दिनभरिको धूपलाई छलेर एकैपटक झर्र पानी पर्यो अनि रोकियो। सडकहरू निमेषमैँ ओभाना भए। शहरको कोलाहल जीवन बहलाउनेहरूको फेरि चहलपहल शुरु भयो। यो शहरको चक्र नै यस्तै छ।
भिज्ने र सुक्नेको मलिनो कठघरामा यसले आफूलाई निरन्तर धानिरहेको छ। शहरको मध्य चौरबाट एउटा सडक हुँइकिएर पारिको चर्चसम्म ठोकिन्छ जुन कमैमात्र कोलाहलमुक्त रहन्छ। त्यो सडकमा कति जीवनहरू छचल्किएका हुन्छन्, उन्मक्त हुन्छन् र कति नामोनिशान मेटिने गरी पखालिएका हुन्छन्। खासमा कसैले भेउ पाउन सक्दैन।
समयको पराक्रम यही सकडमा थामिन्छ र पुनर्जन्म पाउँछ। चर्चका घन्टीहरूको तालमा यसले पनि लय हाल्छ र सुस्तरी मुस्कुराउँछ। खासमा सम्पूर्ण शहरको निराशा मेटाउन यो सडकले उत्तेजक भूमिका खेलेको हुन्छ।
उसले पहिलोपटक शहरलाई देख्दा र बीच भागमैं चिरिएर हुँइकिएको यो सडकमा टेक्दा यसरी रनभूल्ल परेको थियो– मानौं यो शहर उसकै प्रतीक्षामा थियो र अब यसले पूर्णता पाएको छ। यो यस्तै एक दशकअगाडिको कुरा होला।
काठमाडौंबाट दलाल समातेर लण्डनसम्म ओर्लिन उसलाई कस्तो सास्ती परेको थियो। दुई वर्ष काठमाडौंका लजहरूमा उधारो जिन्दगी बाँच्दाको निराशालाई पश्चिमी पहाडको घरबारी बेचिँदाको पीडाले जिन्दगीको दिनगन्ती शुरू भएझैँ लागेको थियो उसलाई। उर्वर उमेर जिन्दगीलाई उधारो चलाउने सामाजिक खलनायक भन्दा पनि हुन्छ उसलाई।
यो किन पनि भने उसको घरबारी बिकेको थियो, खरबारी पहिरोमा परेको थियो र उसँग केही थिएन, उधारो जिन्दगीबाहेक। हाम्रो समाजमा जब मान्छेहरूसँग केही हुँदैन तब सबै मेटिन्छ या सकिन्छ अनि ऊ सामाजिक खलनायकमा रूपान्तरित गराइन्छ। ऊ अर्थात् लुरे ‘लुरबहादुर फौंजा’। यसरी नै परिवर्तन गराइयो खलनायकमा।
तर अचानक यस्तो भयो ऊ चढेको जहाज लण्डनको हिथ्रोमा रोकियो। उसले आफ्नो पासपार्टको पानापाना च्यातेर टुक्राटुक्रा पार्यो, उसैलाई थाहा छैन। आफ्नो नेपाली नागरिकतालाई मकै चपाए झैं मसिनो पारेर घुटुक्क निल्यो। क्षणभरमैं ऊ कुनै पहिचानको बन्धनबाट मुक्त भयो अथवा उसले आफ्नो पहिचान आफ्नो अस्तित्व आफैं निल्यो।
हिथ्रोको प्रहरी केरकारमा उसले आफ्नो देश, भाषा, जन्मथलो, आमा, बाबा, आफन्त केही उल्लेख गरेन। अनि कानुनी रूपमैं ऊ अनागरिक भयो। देश हराउनेहरूको भिडमा सामेल भयो।
अहिले ऊ लण्डनको एउटा घरमा बस्छ। एकाबिहानै उसका चिम्सा आँखाहरूले शहरलाई नियाल्छ र कफीको बाससँगै अर्कै दुनियाँमा हराउँछ। चर्चको घण्टीसँग त्यो उत्तेजक सडकको भिडलाई बिस्तारै पन्छाउँदै जागिरमा हानिन्छ, दिनचर्या शुरू हुन्छ, अवेर राती सकिन्छ। यसरी नै उसका १० वर्ष बिते। पश्चिमी पहाडको त्यो गाउँ विस्मृत हुन सकेको छैन।
कहिलेकाहीँ उसलाई लाग्छ चपाएर निलेको नागरिकताका मसिना टुक्राहरू कतै नशातिर बगिरहेका छन् कि, लुरेले एकपटक कुरैकुरामा भन्यो, ‘एउटा भोको मान्छेले देश माग्छ वा भात माग्छ तर जब पेट भरिन्छ अनि देश खोज्छ तर मैले त देश गुमाइसकेको छु,’ उसले आफ्ना चिम्सा आँखाहरूलाई आकाशतिर बटार्दै भन्छ।
कहिलेकाहीँ उसलाई लाग्छ जे भयो राम्रै भयो। कमसेकम कहीँको नागरिक हुने बन्धनबाट त मुक्त छ तर अनागरिक हुनुको पीडा सेन्ट्रल पोल स्ट्रिटलाई छिचोलेर पारिको चर्चसम्म पुग्दा सयौंपटक महसुस गरिरहेको हुन्छ उसले तर जुन देश आफ्नो हो त्यहाँ आफ्नो भन्ने केही छैन। यता सबै कुरा छन्– ब्रिटिस श्रीमती, एउटा हुर्किंदै गरेको छोरो जुन काटीकुटी ऊजस्तै छ र उधारोमुक्त जीवन तर उसको सोचाइमा आफ्नो केही पनि होइन।
केही दिनअघि ऊ लण्डन प्लाजाको चौराहामा ठिङ्ग उभिएको थियो। ब्रिटिसहरूको क्रिसमस पर्व शुरू हुनुभन्दा एक साताअघि लण्डन प्लाजा भरिभराउ थियो र उसको सानो छोराले एउटा खेलौनाको लाग आग्रह गरिरहेको थियो। उसका चिम्सा आँखाहरू भिडतिर एकोहोरिंदा ढल्किँदै गरेको उमेरका कारण निधार अझै खुम्चिन्थ्यो।
‘लुरबहादुर दाइ! के हेरेको?’ मैले बोलाउँदा ऊ झसङ्ग भयो र अलिकति सतर्क पनि। ऊ केही बोलेन शायद उसले आफ्नै गाँउ र देशका पर्वहरू सम्झिरहेको थियो। उसलाई रमझमले अजीवसँग पिरोल्छ आजकल। प्लाजाको भिडभाडले अनौठो गरी भयभित बनाउँछ।
उसको देब्रे हातको कान्छी औंला समातेर उभिएको सानो फुच्चे अझै पनि खेलौना किनिदिन कर गरिरहेको थियो। लुरेले छोराको अनुहारमा पुर्लुक्क हेर्यो र भन्यो, ‘हेर्नु न भाइ, जिन्दगी पनि अनौठो छ हगि! म के सोचेर यता छिरेको थिएँ, के भयो?’
‘अब नेपाल नफर्किने होर लुरे दाई?’– सोधेँ मैले।
‘खै कसरी फर्किएला र ? जिन्दगी पूर्ण रूपमा फेरिइसक्यो तर एउटा कुरा भन,’ ऊ अलि खुल्यो।
‘भन्नुस्,’ मैले भनेँ।
‘समय, परिस्थिति जतिसुकै परिवर्तन भए पनि हाम्रो पहाड, हाम्रो गाउँ, त्यो देश बिर्सिनसक्नुछ हगि? जीवनको अन्त्यतिर त्यतै पुगेर मर्नुपर्ला।’
साँझ पर्न आँटिसकेको थियो। मान्छेहरूको भिड अझै बढिरहेको थियो। पारिको चर्चमा नरोकिइकन घन्टी बजिरह्यो। छोरालाई काखमा च्यापेर लुरे पनि सडकको भिडमा पस्यो। हेर्दाहेर्दै लुरे अलप भयो। भिडमा हरायो। त्यसपछि लुरे कतै देखा परेन!